
दीननाथ बराल,
पोखरा २०, जेठ,
अन्नपूर्ण पदमार्गमा भोलि (सोमबार) आयोजना हुने चौथो संस्करणको अन्नपूर्ण म्याराथन–२०८१ मा ४ विदेशी सहित ६० जना धावकहरु सहभागि हुने भएका छन्। अन्नपूर्ण सेन्चूरी पर्यटन समितिको आयोजना तथा अन्नपूर्ण गाउँपालिका कास्कीको व्यवस्थापनमा अन्नपूर्ण आधार शिविरबाट सोमबार विहान सुरु हुने उक्त प्रतियोगितामा ४ वेलायतका धावक सहित ६० जना धावक सहभागि हुने भएको समितिका अध्यक्ष एवं अन्नपूर्ण म्याराथन मुल आयोजक समितिका संयोजक ललित गुरूङले बताउनु भयो ।
प्रतियोगितामा १ विदेशी सहित ११ जना महिला र ४९ जना पुरुष धावकहरु सहभागि हुने भएको उहाँले जनाउनु भयो । महिला तथा पुरुष दुबै तर्फका लागि हुने म्याराथनमा विजेता खेलाडीले नगद १ लाख ५० हजार प्राप्त गर्ने भएका छन् । त्यसै गरी दोश्रो हुनेले १ लाख र तेश्रो हुनेले ७५ हजार साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । विदेशीका लागि प्रोत्साहन पुरस्कार स्वरुप विशेष पुरस्काको ब्यवस्था गरिएको छ । पुरुषतर्फ दर्ता शुल्क ७ हजार र महिलातर्फ ५ हजार आयोजकले निर्धारण गरेको थियो ।
पर्यटनका लागि सबै मौसम भन्ने मूल नाराका साथ वि.सं. २०७५ सालदेखि सुरू गरिएको चौथो संस्करणको अन्नपूर्ण म्याराथन–२०८१ अन्नपूर्ण आधार शिविरको पूर्वाधार विकाससँगै पर्यटन प्रबर्द्धनका लागि सुरू गरिएको म्याराथनलाई यस बर्ष पनि निरन्तरता दिईएको संयोजक गुरुङले बताउनु भयो । समितिले अन्नपूर्ण प्रथम हिमाल आरोहण दिवसका दिनको अवसर पारेर प्रत्येक बर्ष अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्म (१४२.१९५ किमी)को अन्नपूर्ण म्याराथन गर्दै आईरहेको छ । २०७५ सालदेखि आरम्भ गरिएको म्याराथन बीचका दुई संस्करण कोभिड–१९ का कारण हुन नसकेको थिएन, गत बर्षदेखि यसलाई निरन्तरता दिईएको अध्यक्ष गुरूङले बताउनु भयो ।
विशेषतः सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी ८ हजार मिटर भन्दा अग्ला हिमाल आरोहणको इतिहासमा विश्व कीर्तिमानी राखेको सन्दर्भमा उक्त दिनलाई “अन्नपूर्ण आरोहण दिवस” का रूपमा मनाउने गरिन्छ । सोही दिनको सम्झनामा अन्नपूर्ण म्याराथन हुने भएकाले यसको छुट्टै ऐतिहासिक गरिमा रहेको संयोजक गुरुङको भनाई छ ।
अन्नपूर्ण आधारशिविरबाट आरम्भ हुने म्याराथन माछापुच्छ्रे आधारशिविर, वगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइँले, कोम्रोङडाँडा, किम्रोङखोला, उरी हुँदै घान्द्रुक आई समापन हुने गरी म्याराथन रुट कायम गरिएको समितिका महासचिव दिलीप गुरूङले जनाउनु भयो । अन्नपूर्ण म्याराथन–२०८१ सम्पन्न गर्नका लागि करिब ३० लाख रुपियाँ लाग्ने अनुमान गरिएको महासचिव गुरुङले बताउनु भयो । अन्नपूर्ण म्याराथनमा पहिलो संस्करणको उपाधि त्रिभुवन आर्मीका हरिकुमार रिमालले जित्दा दोस्रोमा डोटीका खगेन्द्रबहादुर भाटले, तेस्रो संस्करणको उपाधि जुम्लाका धीरबहादुर बुढा र महिला तर्फ गणना भण्डारीले जित्नु भएको थियो ।
म्याराथनलाई अन्तर्राष्ट्रिय इभेन्टका रुपमा विकास गर्न गतवर्षदेखि अल्टिमेट एडभन्चर नेपालले प्राविधिक सहयोग गरेको छ । प्रतियोगितालाई सफल पार्न अन्नपूर्ण गाउँपालिका, नेपाल पर्यटन बोर्ड, छोम्रोङ पर्यटन व्यवस्थापन समिति, अन्नपूर्ण संरक्षण क्षेत्र बीजन (एक्याप) राष्ट्रिय प्रकृति संरक्षण कोष, पोखरा महानगरपालिका, धान्दुक पर्यटन व्यवस्थापन समिति, टांडापानी पर्यटन व्यवस्थापन समिति, खेलकुद मन्त्रालय, गण्डकी प्रदेश, राष्ट्रिय खेलकुद परिषद, गण्डकी प्रदेश क्षेत्रकृय परिषद्, अन्नपूर्ण काठमाडी समाज नेपाल, गुरु आनन्द फाउन्डेशन, अनांवियर खुकुरी रम, पोखरा फाइनान् लिमिटेड, ज्योति विकास बैंक लि., होटल रक एण्ड मुह, कस्बर रिसोर्ट, धान्दुक सी.वाई.सी. क्लिनिक सहितका अन्य पर्यटनसँग सम्बन्धित संघसंस्थासंगबाट सहयोग प्राप्त हुने अपेक्षा गरिएको छ ।