सुटिङ संघ गण्डकीको पदस्थापना, पोखरामा सुटिङ ट्रेनिङ सेन्टर स्थापना गर्न जोड

-


     पोखरा क्लिक     
     जेठ २० गते २०८१ मा प्रकाशित



दीननाथ बराल,
पोखरा २०, जेठ,

नेपालले पदकको आशा गरेको सुटिङ खेलको प्रबद्र्धन गर्न गण्डकी प्रदेशको राजधानि पोखरामा सुटिङ ट्रेनिङ सेन्टर स्थापना गर्न जोडदार माग गरिएको छ । सुटिङ संघ गण्डकीको शनिबार साँझ पदस्थापना तथा शुभकामना आदान प्रदान गरेको कार्यक्रममा सहभागिहरुले उक्त कुरा बताउनु भएको हो ।

उक्त कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले पोखरामा सुटिङ ट्रेनिङ सेन्टर स्थापना गर्न सहयोग गर्ने बताउनु भयो । खेलाडी उत्पादनमा जोड दिदैँ उहाँले अर्जुन दृष्टिका साथ सुटिङ खेलको विकास गर्न आग्रह गर्नु भयो । फरक प्रशंगमा उहाँले अब केही समय पछि आफु मुख्यमन्त्री हुने आशय व्यक्त गर्दै हाल केही दिन विदामा रहेको जनाउनु भयो ।

सुटिङ संघका केन्द्रिय अध्यक्ष पुष्पदास श्रेष्ठले २४ बर्ष अघि ओलम्पिकमा सहभागि यस क्षेत्रका खेलाडीहरुको प्रर्दशन पछिल्लो क्रममा गुमनाम जस्तै भएकोले अब पदक ल्याउने गरी जिम्मेवार भयर काम गर्नुपर्ने बताउनु भयो । उक्त खेलबाट नेपाललाई पदकको आशा गरिएकोले आवश्यक पर्ने प्राविधिक सहयोग संघले उपलब्ध गराउने वचन दिनु भयो । सुटिङ संघका सल्लाहकार राजेशकुमार गुरूङले रंगशालामा भौतिक संरचनामा बिषेश ध्यान दिन आग्रह गर्दै शुटिङ ट्रेनिङ सेन्टर स्थापना गर्न माग गर्नु भयो । सुटिङ खेल नेपालको ओलम्पिकमा सम्भावना भएको खेल भएकाले यो खेलको विकासका लागि सबैले हातेमालो गर्नुपर्ने उहाँको भनाई थियो ।

ओेलम्पियन तथा सुटिङ संघकी केन्द्रिय उपाध्यक्ष भगवती केसी खत्रीले शुटिङ खेलको प्रबर्द्धन गर्न आवश्यक भएको बताउनु भयो । २४ वर्षअघि आफु ओलम्पिक खेलेको स्मरण गर्दै उहाँले अहिले गण्डकी प्रदेश र बागलुङ जिल्लाले सम्मान गर्दै ओलम्पिक खेलाडीका लागि मासिक पाँच÷पाँच हजार रुपैयाँ भत्ता प्रदान गरेको सुनाउनु भयो ।

आठौं पोखरा स्पोट्र्स अवार्डका क्रिकेटका उदीयमान खेलाडी अर्जुन कुमालले आफ्नो खेल यात्रा सुनाउँदै १३ बर्षको उमेरदेखी क्रिकेट सुरु गरेको बताउनु भयो । नेपाल प्रहरीका डिआईजी दुर्गा सिंहले अनुशासन र कर्मनिष्ट भई खेल्न आग्रह गर्नु भयो । मानिसहरु अधिकार खोज्ने तर कर्तव्य पलना नगर्दा खेलाडी उत्पादन र रिजल्ट आउन नसक्ने बताउँदै खेलकुदको माध्यमबाट देशलाई योगदान दिन उहाँले सुझाव दिनु भयो । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगा बहदुर क्षेत्रीले ओलम्पिकमा पुग्नु खेलाडीका लागि ठूलो सपना रहेको बताउनु भयो ।

गण्डकी प्रदेश सुटिङ संघको गठनसंगै कार्यसमितिमा निर्वाचित भएकाहरुको आइतबार पदस्थापना गराएको छ । मोतीराम गुरुङको अध्यक्षतामा संघको निर्वाचन १४ जेठमा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित हुनु भएको थियो । संघको उपाध्यक्षमा दलराज पुन र लोक श्रेष्ठ, महासचिवमा पुरन कुँवर, सचिवमा विज्ञान्त श्रेष्ठ, कोषाध्यक्षमा बुद्ध गुरुङ सर्वसम्मत निर्वाचित भएका हुनु भयो भने यस्तै संघको सदस्यहरुमा विजय कार्की, ऋषिकेश शर्मा पौडेल, खम्बा गुरुङ, प्रश्नसिंह ठकुरी, डविन गुरुङ, माया बस्नेत, आरसि राज भण्डारी, चीनबहादुर थापा, सुर्यबहादुर थापा र विवश क्षेत्री (काजी) रहनु भएको छ ।

संघका नवनिर्वाचित अध्यक्ष मोतीराम गुरूङले पोखरा रंगशालामा सुटिङका लागि जग्गा रहेको र त्यसको संरक्षण पहिलो काम रहेको बताउनु भयो । उनले अब गण्डकीमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको सुटिङ रेन्ज निर्माणका लागि आफुहरु लाग्ने र खेलको विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । नवौं राष्ट्रिय खेलकुद पोखरामा हुँदा समेत सुटिङ रेन्च बन्न नसक्नु पोखरेली र नेपालकै लागि दुर्भाग्य भएको खेलकुदकर्मीले बताउनु भयो ।