गण्डकी प्रदेश शुटिङ्ग संघको अध्यक्षमा मोतिराम गुरुङ

-


     पोखरा क्लिक     
     जेठ १४ गते २०८१ मा प्रकाशित


गण्डकी प्रदेश शुटिङ्ग संघको अध्यक्षमा मोतिराम गुरुङ सर्वसम्मत निर्वाचित हुनु भएको छ । संघको आज (सोमबार) पोखरामा सम्पन्न प्रथम अधिवेशनले उहाँलार्ई आगामी चार वर्षका लागि अध्यक्षमा निर्वाचित गरेको संघले जनाएको छ । नव निर्वाचित अध्यक्ष गुरुङ शिक्षा क्षेत्रमा संलग्न हुनुहुन्छ ।

यसै गरी संघको उपाध्यक्षमा दलराज पुन र लिला शेरचन, महासचिवमा पुरन कुंवर, सचिवमा विजयन्त शेरचन, कोषाध्यक्षमा बुद्ध गुरुङ सर्वसम्मत निर्वाचित हुनु भयो । संघको कार्यसमिति सदस्यमा आशिषराज भण्डारी, खम्वा गुरुङ, कविन गुरुङ, चिन बहादुर थापा, विजय क्षेत्री, विवश क्षेत्री काजी, मायाँ क्षेत्री बस्नेत र सूर्य बहादुर थापा निर्वाचित हुनु भएको हो ।

यस अघि अधिवेशनको उद्घाटन गर्दै प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङले गण्ढकी प्रदेशमा शुटिङ्ग खेलको राम्रो सम्भवना भए पनि विविध चुनौतीको कारण अघि बढ्न नसकेको बताउनु भयो । उहाँले शुटिङ्ग खेल मार्फत पर्यटन प्रवर्द्धन गर्न समेत उत्तिकै प्रभावकारी हुने बताउँदै नयाँ कार्यसमितिले योजनावद्ध रुपमा अघि बढन आग्रह गर्नु भयो ।

संघकी केन्द्रिय उपाध्यक्ष एवं तदर्थ समितिकी अध्यक्ष ओलम्पियन भगवती केसी खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले शुटिङ्ग खेलको विकासका लागि आवश्यक खेल सामाग्रीको अभावमा सोचे अनुरुप गतिविधि अघि बढ्न नसकेको गुनासो गर्नु भयो । कार्यसमितिमा नव निर्वाचितहरुलाई संघकी केन्द्रिय उपाध्यक्ष केसी सहित प्रदेश खेलकुद परिषदका कार्यालय प्रमुख तोपलाल भुसाल, निर्वाचिन समितिका सदस्य घनश्याम पौडेलले प्रमाणपत्र वितरण गर्नु भएको थियो ।

यस खेलको विकास र विस्तारमा आफुहरु कटिवद्ध रहेको निर्वाचित अध्यक्ष गुरुङले बताउनु भयो ।



This will close in 20 seconds