पौने ३ सयको निशुल्क मधुमेह र टिजी जाँच

-


     पोखरा क्लिक     
     जेठ १० गते २०८१ मा प्रकाशित


पोखरा, १० जेठ,

पावरहाउस बजार व्यवस्थापन समितिको आयोजनामा पोखरा २९ र ३० का बासिन्दाको मधुमेह तथा रगतमा हुने खराब बोसो (टिजी) सित्तैमा जाँच गरिएको छ । पोखरा ३० शिशुवामा रहेको युआरएल शिशुवा डायग्नोसिस प्रालिको प्राविधिक सहयोगमा बिहीबार भएको शिविरमा २ सय ७५ जनाको सित्तैमा जाँच गरिएको हो ।

पोखराको न्युरोडमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल) र यसका शाखाहरुले विभिन्न संघ, संस्थासँगको सहकार्यमा आयोजना गरेको यो १ सय ७२ औं शिविर हो । कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका वरिष्ठ फिजिसियन डा कृष्णराज अधिकारीले मधुमेह, टिजी जस्ता रोग नियन्त्रणमा राखे मानिस पूरै जीवन बाच्न सक्ने जनाउँदै हेलचेक्रयाइ गरे ज्यानै जान सक्ने औंल्याए ।

उनले भने, ‘विशेषज्ञको परामर्शमा औषधीउपचार र खानपानमा ध्यान दिए यी रोग लागे पनि पूरै जीवन बाच्न सकिन्छ, बेवास्ता गरे यी समस्याले ज्यानै लिन सक्छन् ।’ खानपान, जीवनशैली सुधार गर्दै बेला बेलामा चेकजाँच गरी स्वास्थ रहन उनले अनुरोध गरे । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख जनकबहादुर शाहीले हिडडुल गर्ने बानी हराएको र हेलचेक्राइँ गर्ने पौने ३ सयको निशुल्क मधुमेह र टिजी जाँचक्रम बढ्दा दुर्घटनासँगसँगै नसर्ने रोगहरुले पनि आक्रान्त पार्दै गएको जनाए ।

पोखरा ३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीले सरकारले गर्नुपर्ने खालको काम बजार समितिले गरेको भन्दै धन्यवाद दिए । यस खालका कार्यक्रम वडाले पनि भविष्यमा गर्ने उनले उल्लेख गरे । युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले अहिलेसम्म विभिन्न संघ, संस्थासँग सहकार्य गरी भएका १ सय ७२ शिविरबाट २ लाखभन्दा बढीले सित्तैमा सेवा पाएको जानकारी दिए । गण्डकी प्रदेशकै पहिलो रेफरेन्स र एकमात्र आइएसओ प्राप्त ल्याब भएकाले सामाजिक उत्तरदायित्व निर्वाहमा पनि युआरएल पहिलो नै बनिरहेको जनाए ।

संस्थाका अध्यक्ष सुरेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघकी महासचिव जानुकादेवी अधिकारी, समितिका वरिष्ठ सल्लाहकार शेरबहादुर गुरुङ,. उपाध्यक्ष राजेन्द्र पौडेल, सचिव विवेक बराल लगायतले बोलेका थिए ।



This will close in 20 seconds