दीननाथ बराल,
पोखरा ८, जेठ,
पोखराको पश्चिमाञ्चल माध्यमिक विद्यालयमा आगामी शैक्षिक सत्र देखि सौन्दर्य तथा केश कला विषयको पढाइ सुरु हुने भएको छ । पोखरामा सौन्दर्य तथा केश कलाको प्रवल सम्भावना भएकोले नेपाल सरकारकै पाठ्यक्रम अनुसारको व्यवहारिक शिक्षा दिने उद्धेश्यले आउँदो शैक्षिक सत्रको प्लस टुमा उक्त कोर्ष सुरु हुने भएको मंगलबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।
पोखरा ४, गैह्रापाटनस्थित पश्चिमाञ्चल मा.वि. ले आगामी शैक्षिक सत्रदेखि कक्षा ११ र १२ (प्लस टु) मा सौन्दर्य तथा केश कला विषयको पढाइ सुरु गर्ने तयारी गरेको बिद्यालयका अध्यक्ष प्रा.डा.रामनाथ ओझाले बताउनु भयो । यस विषयको पठनपाठन कक्षा ११ मा १०० पूर्णाङ्क र कक्षा १२ मा १०० पूर्णाङ्क गरी जम्मा २०० पूर्णाङ्कको हुने भएको उहाँले जनाउनु भयो । पाठ्यक्रम ५० पूर्णाङ्क प्रयोगात्मक र ५० पूर्णाङ्क सैद्धान्तिक प्रकृतिको भएकाले विद्यार्थीले प्रयाप्त मात्रामा सिप हासिल गर्न सक्ने निश्चित रहेको बिद्यालयका प्राचार्य सरोज कोइरालाले पोखराक्लिकलाई बताउनु भयो ।
व्यवस्थापन सङ्काय अन्तर्गत पठनपाठन हुने भएकाले यस सङ्कायमा लाग्ने शुल्कका अतिरिक्त यस विषयको अध्ययन गर्ने विद्यार्थीका लागि थप प्रयोगात्मक शुल्क २४ हजार शुल्क लाग्ने बिद्यालयले जनाएको छ । सौन्दर्य तथा केश कला विषय संस्थागत विद्यालयमा पोखरामा पहिलो पटक सञ्चालन हुन लागेको बिद्यालयले दाबी गरेको छ ।
विद्यालयले आइरिस हेयर एण्ड ब्युटी केयर प्रा. लि. सँगको सहकार्यमा यही जेठ १५ गतेदेखि ५० जनालाई एक हप्ते सेल्फ मेकअप (स्किन केयर) सम्बन्धी निःशुल्क तालिम सञ्चालन गर्न भएको छ । उक्त तालिममा पहिला आउनेलाई प्राथमिकता दिई जम्मा ५० जनालाई मात्र सहभागी गराइने भएको छ । वि.स. २०४९ मा स्थापना भएको पश्चिमाञ्चल माध्यमिक विद्यालयमा हाल नर्सरीदेखि १२ कक्षासम्मका कक्षाहरू सञ्चालन भई रहको सहायक प्राचार्य मिनु श्रेष्ठले बताउनु भयो । हालसम्म कक्षा ११ र १२ मा व्यवस्थापन, होटल व्यवस्थापन, विज्ञान, मानविकी र कानुन विषयको अध्ययन अध्यापन हुँदै आइरहेको छ । व्यावसायिक र सिपमूलक शिक्षा आजको आवश्यकता भएको महशुस गरी उक्त कोर्ष बिद्यालयले सुरु गर्न लागेको श्रेष्ठले जनाउनु भयो ।
यो पुरुष तथा महिला दुवैले अँगाल्न सक्ने पेसा भएको बिद्यालयका प्लस टु संयोजक देव बहादुर क्षेत्रीले बताउनु भयो । पोखरामा होटल म्यानेजमेन्ट र सौन्दर्य तथा केश कलाको धेरै सम्भावना रहेको बताउनु भयो । पछिल्लो समयमा महिलाहरु गरगहना भन्दा पनि बढी मेकअप गर्ने प्रचलन अत्याधिक भएको उहाँको दाबी छ । प्रायः गरी भारतीय मुलका व्यक्तिहरुले अपनाउदै आएको केश कला आफ्नो क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न सके केही युवाहरुलाई स्वदेशमै स्वरोजगार सृजना गर्न सकिने बिद्यालयले जनाएको छ ।