लम्जुङ, गोर्खा र तनहुँका होटल व्यावसायिलाई दक्ष पार्न दमौलीमा तालिम

-


     पोखरा क्लिक     
     वैशाख २९ गते २०८१ मा प्रकाशित



दीननाथ बराल,
दमौली, २९, वैशााख

होटल व्यवसायी महासंघ गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको संयुक्त अयाोजनामा तनहुँमा आईतबार र सोमबार दुई दिने आवासीय तालिम हुने भएको छ । मर्यादी करिडोर अन्तर्गतका होटल व्यवसायीहरु तथा त्यसमा काम गर्ने कामदार “स्वच्छ र पर्यटकमैत्री सेवा प्रवाह सम्बन्धी“ दुई दिने तालिम तनहुँको दमौलीमा आयोजना हुने भएको शनिबार दमौलीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईएको हो ।

दमौलीको ह्वाईट हाउस होटलमा यहि वैशाख ३० र ३१ गते होटल व्यवसायी संघ तनहुँको सह–आयोजनामा मस्र्याङ्दी करिडोर अन्तर्गत लम्जुङ, गोर्खा र तनहुँ जिल्ला आसपासका होटल तथा पर्यटन व्यवसायीहरु र कामदारहरु समेत गरी ६० जनाको सहभागिता हुने भएको महासंघ गण्डकीका अध्यक्ष अर्जुन चोखालले बताउनु भयो । दक्ष जनशक्ति उत्पादन गर्ने उद्धेश्यले उक्त तालिम आयोजना गरिएको उहाँको भनाई छ ।

गण्डकी प्रदेशभरीका होटल रेष्टुरेन्ट तथा पर्यटन व्यवसायीहरुको छाता संगठनको रुपमा होटल व्यवसायी महासंघ गण्डकी प्रदेशको होटल तथा पर्यटन व्यवसायलाई मर्यादित बनाउने, व्यवसायको स्तरोन्नति गर्ने, विभिन्न तालिम तथा प्रशिक्षणहरु सञ्चालन गरि सेवा व्यवसायलाई गुणस्तरीय बनाउने, व्यवसायीहरुका समस्यामा सहयोग गर्ने, गण्डकी प्रदेशका सबै पर्यटकीय गन्तव्य र आसपासका व्यवसायीहरुको क्षमता अभिवृद्धि गरी गुणस्तरीय सेवा प्रवाह गर्न अभिप्रेरित गर्ने साथै नेपाल सरकार, गण्डकी प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड र स्थानीय तहहरुले अवलम्बन गरेका पर्यटनका कार्यक्रमहरुसँग साझेदारी गर्दै रचनात्मक भूमिका खेल्ने मुख्य उद्देश्य राखिएको उहाँले बताउनु भयो ।

उत्तरमा मनाङको तिलिचो तालदेखि दक्षिणमा गोर्खा, तनहुँ र चितवनको संगमस्थल मुग्लिनसम्म लम्बिएको मर्स्याङ्दी नदी आसपासमा करिब ८ हजार होटल तथा रेष्टुरेण्टहरु सञ्चालनमा रहेको अध्यक्ष चोखालले जनाउनु भयो।

यस क्षेत्रको गुणस्तरीय पर्यटन विकासबाट ठूलो मात्रामा रोजगारी सिर्जना हुने तथा देशको मजबूत अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने भएकाले होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुको क्षमता अभिवृद्धि, कर्मचारीको सीप र दक्षता अभिवृद्धिको आवश्यकतालाई मध्यनजर गरी यी कार्यक्रमको आयोजना गरिएको महासंघका महासचिव देवेन्द्र लम्सालले बताउनु भयो । सहभागीहरुलाई खाद्य स्वच्छता, सरसफाई र पोसाक, पर्यटकमैत्री व्यवहार तथा आचरण, व्यवसायमा प्रविधिको प्रयोग, व्यवसायी र कर्मचारीबिचको सम्बन्ध व्यवसायको प्रचारप्रसार र प्रवर्द्धन, स्थानीय उत्पादनको व्यावसायिकरण लगायतका विषयहरुमा तालिम प्रदान गरिने भएको हो ।

तालिमका प्रमुख प्रशिक्षकमा नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज पोखराका प्रिन्सिपल प्रकाश रेग्मी, प्रशिक्षकहरुमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यलयका अधिकृत ज्योति आचार्य, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका लेखा अधिकृत सागर श्रेष्ठ लगायतका रहनु भएको छ । उक्त तालिमको उद्घाटन आईतबार विहान ११ः०० बजे व्यास नगरपालिकाका नगर उप प्रमुख इन्दिरा दराई गर्नुहुने भएको छ । उक्त कार्यक्रमका प्रशिक्षक प्रकाश रेग्मीले हाल देशमा मात्र नभई विश्वका धेरै मुलुकमा दक्षजनशक्तिको अभाव भएको दाबी गर्नु भयो । होटल तथा पर्यटन व्यवसायीले पर्यटकहरुको स्वागत देखि खानपिन र आवासियको सेवा सुविधाको बारेमा बिषेश ख्याल गरी तालिम दिने भएको उहाँले जनाउनु भयो ।

यतिवेला होटल तथा रेष्टुरेण्ट व्यवसायीहरु घर भाडाको बिषयमा चरम समस्या रहेको उल्लेख गर्दै अध्यक्ष चोखालले घर भाडा एक प्रकारको व्यवसाय भएकोले घरभाडा कर घर धनिले नै तिर्नुपर्ने माग गर्नु भएको छ । चर्को घर भाडा शुल्क, घर भाडाको कर समेत व्यवसायलाई तिर्न लगाउदा व्यवसायहरु हाल ठुलो मारमा परेको उहाँले जनाउनु भयो ।

यस बिषयमा नियमन र अनुगमन आवश्यक भएको व्यवसायीहरुले पोखराक्लिक समक्ष जानकारी गराउनु भयो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका लेखा अधिकृत सागर श्रेष्ठले कति पय होटल क्षेत्रमा काम गर्ने कामदारले भ्याट विल समेत काट्न नजान्ने समस्या रहेको उल्लेख गर्नु भयो ।