पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा शनिवारदेखि पोखरा महानगरपालिका मार्सल आर्ट फेस्टिभल प्रतियोगिता सुरु भएको छ । पोखरा महानगरपालिका विविध खेलकुद महोत्सव तथा मार्सल आर्ट फेस्टिभल जेठ १५ गतेसम्म जारी रहने छ ।
मार्सल आर्ट फेस्टिभलको उद्घाटन गर्दै नगर प्रमुख धनराज आचार्यले व्यक्तिगत स्वास्थ्य तथा सामाजिक एकता कायम गर्न खेलकुदको भूमिका महत्त्वपूर्ण साबित हुँदै आएको बताउनुभयो । विश्वलाई नेपाल चिनाउन र सामाजिक विकास गर्न खेलकुद अपरिहार्य रहेको उहाँले बताउनुभयो । पोखरालाई खेलकुदको हबका रूपमा विकास गर्न महानगरपालिका प्रतिबद्ध रहेको प्रमुख आचार्यले बताउनुभयो ।
विभिन्न खेल सङ्घहरूको सहकार्यमा आयोजना गरिएको उक्त फेस्टिभलमा ८ विद्याका खेल प्रतियोगिता सहित तालिमहरू समेत सञ्चालन गरिनेछन् । फेस्टिभलमा कराँते, तेक्वान्डो, उसु, फुल कराँते, तेक्वान्डो आइटिएफ, जुडो, फेन्सिङ, हप्किडोमा विभिन्न तौल समूहमा प्रतिस्पर्धा हुनेछ । सो क्रममा खेलकुदको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको छ ।
यसैबिच, ‘खेलकुद महोत्सव’ अन्तर्गत यू–२३ अन्तर्गत ६० केजी तौलमा काभ्रे मुआथाईका लक्ष्मण श्रेष्ठ विजयी भएका छन् । पोखरा स्ट्रोङ्गेस्ट मुआथाइका जस बहादुर गुरुङलाई पराजित गरी उनी बिजेता बनेका हुन् । सोही स्पर्धामा पोखरा स्ट्रोङ्गेस्ट मुआथाइका विवेक घिसिङ तेस्रो हुँदा माउन्टेन मुआथाईका सञ्जय राईले सान्त्वना स्थान प्राप्त गरे ।त्यस्तै १२–१३ वर्ष मुनीको ४० केजी तौलको प्रतिस्पर्धामा ठेचो मुआथाईका रमित महर्जन पहिलो, पोखरा स्ट्रोङ्गेस्ट मुआथाइका सुरेश नेपाली दोस्रो र रकस्टार मुआथाईका सुगम थोकर तेस्रो भए । १५ वर्ष मुनीको ५० केजी तौलमा मेटल मुआथाईका करण रसाइली पहिलो, ठेचो मुआथाईका प्रशन्न राई दोस्रो हुँदा काभ्रे मुआथाइका सुजन परियार तेस्रो भएका छन् ।
त्यसै गरी भर्सेज फाइट ५५ केजी महिलातर्फ पोखरा स्ट्रोङ्गेस्ट मुआथाइकी कविता नेपाली पहिलो र काभ्रेकी चन्दा भुजेल दोस्रो हुँदा पुरुषतर्फ आशिष गुरुङ र पवन गिरी पहिलो र दोस्रो भए । त्यसै गरी ६५ केजी तौल भर्सेसतर्फ लेखनाथ डोजो मुआथाइका मोसेस कुमाल पहिलो, स्ट्रोङ्गेस्ट मुआथाइका विवेक कुंवर दोस्रो, ५५ केजीतर्फ स्ट्रोङ्गेस्ट मुआथाइका दिपेश ठाकुर पहिलो र नेपाल मुआथाइका क्रिश कुंवर दोस्रो, ३० केजी तौलमा काभ्रेका साजन तामाङ पहिलो, मेटल मुआथाईका अन्धोज दुरा दोस्रो भएका छन् भने ठेचो मुआथाईका आयूष मुआथाइका आयूष माझी पहिलो र लोम्साङ मुआथाईका आयुष तामाङ दोस्रो, ६५ केजी तौलमा लोप्साङकै जितेन्द्र राई पहिलो र राइनो मुआथाईका सोपाल गुप्ता दोस्रो भएका छन् ।
खेदकुद महोत्सव अन्तर्गत सुरु भएको प्रतियोगितामा ६ वटा राष्ट्रिय र १० वटा महानगरस्तरीय गरी विभिन्न १६ वटा प्रतियोगिताहरु समावेश गरिएको पोखरा महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिएका छन् ।
यसैबिच शनिबार पाखरा रंगशालामा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी देखि कास्कीका पालिका प्रमुख फरक फरक तीन वटा कार्यक्रममा सहभागि हुनु भएको थियो । सिडिओ कप व्याडमिन्टनमा मुख्यमन्त्री, अन्तर जिल्ला पालिका भलिवल प्रतियोगितामा अन्नपूर्ण, माछापुच्छ«े गाउँपालिका र रुपा गाउँपालिकाका प्रमुख र मार्सलआर्ट फेष्टिवलमा पोखराका मेयरको सहभागिता रहेको थियो ।