
दीननाथ बराल,
पोखरा १२, वैशाख,
पोखरामा आउँदो शनिबार देखि एसिया ट्रायथलन कप हुने भएसंगै यहाँका पर्यटन व्यवसायीहरु निकै उत्साहित हुनु भएको छ । उक्त खेलले यस क्षेत्रको खेल पर्यटनको प्रबद्र्धनमा टेवा पुग्ने पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनु भयो । धेरै देशका खेलाडीको साथमा उनका आफन्तहरु पोखरा आउनुले पोखरामा खेल संगै पर्यटन प्रबद्र्धन गर्न महत्वपूर्ण भुमिमा रहेको बताउदै अध्यक्ष श्रेष्ठले उक्त प्रतियोगितालाई सम्पन्न गर्न परिषदले आवश्यक सहयोग गर्न तयार रहेको जनाउनु भयो ।
पोखरामा हुने सातौं एसिया ट्रायथलन कप प्रतियोगितामा नेपाल सहित १५ देशका ६४ जना खेलाडीहरु सहभागि हुनु हुने भएको छ । आइतबारसम्म दुई दिन पोखराको लेकसाइडमा आयोजना हुने उक्त प्रतियोगिताको अन्तिम तयारी तिव्र पारिएको नेपाल ट्रायथलन संघका उपाध्यक्ष सुमन देवकोटाले बताउनु भयो ।
उहाँका अनुसार प्रतियोगितामा महिला तर्फ २४ जना र पुरुष तर्फ भने ४० जना खेलाडीहरुले आफ्नो नाम दर्ता गराएका छन्। प्रतियोगितामा नेपालका भने ९ जना खेलाडीहरुले सहभागि हुने भएको उपाध्यक्ष देवकोटाले जनाउनु भयो । उक्त प्रतियोगितालाई सफल पार्न राखेप, गण्डकी प्रदेश सरकार, पोखरा महानगपालिका, पोखरा पर्यटन परिषद, होटल संघ पोखरा नेपाल लगायतको सहयोगमा हुन लागेको हो ।
प्रतियोगितामा सहभागि खेलाडीहरु पोखरामा आउने क्रम जारी रहेको नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले पोखराक्लिकलाई बताउनु भयो । उहाँका अनुसार केही खेलाडीहरुले केही दिन देखि पोखराको रुटमा अभ्यास खेल गर्दै हुनुहुन्छ ।
उक्त खेलले पोखराको खेल पर्यटनको प्रबद्र्धनमा टेवा पुग्ने संघ गण्डकी प्रदेशका अध्यक्ष एवं प्रतियोगिताका संयोजक डिल्लीराज सुवेदी (शिशिर) ले बताउनु भयो । उक्त प्रतियोगिता पोखरामा हुनुले यहाँका खेलकुदकर्मी सहित पर्यटन व्यवसायीहरु निकै उत्साहित भएको उहाँको भनाई थियो ।
प्रतियोगितामा नेपाल सहित प्लेस्टाइन, उरुग्ये, अस्ट्रेलिया, युनाइटेड अरब इमिरेट्स, अस्ट्रिया, अल्जेरिया, न्यूजिल्याण्ड, लक्जम्वर्ग, जापान, भारत, मरिसस, काजाकास्तान, वंगालादेश, उज्बेकिस्तान लगायतका देशका खेलाडीले सहभागिता जनाउने भएका छन् । गण्डकी प्रदेश ट्रायथलन संघ र कास्की जिल्ला ट्रायथलन संघको व्यवस्थापनमा आयोजना हुने लागेको हो । ७ सय ५० मिटर पौडी पोखराको फेवातालमा हुने भएको छ भने २० किलोमिटर साइकल दौड पोखराको अम्बोट देखि राष्ट्रबैंक चोक, ड्यामसाइड हुदै पार्दी विरौटा हुदै पुनः अम्बोट र ५ किलोमिटर दौड उक्त रुटमा हुने भएको छ । साइकल दौडमा भने उक्त रुटमा ४ पटक राउण्ड लगाउनु पर्ने छ ।



