कास्कीको रुपा गाउँपालिकामा खुल्ला वडा स्तरीय पुरूष भलिवल प्रतियोगिता फागुन तेश्रो साता हुने

-


     पोखरा क्लिक     
     फागुन १ गते २०८० मा प्रकाशित


दीननाथ बराल,

कास्कीको रूपा गाउँपालिकाले आफ्नो स्थापना दिवसको अवसरमा यही फागुन तेश्रो साता खुल्ला वडा स्तरीय पुरूष भलिवल प्रतियोगिता एवं बिभिन्न साँस्कृति कार्यक्रम गर्ने भएको छ । राष्ट्रिय खेल भलिवलको विकास गर्ने उद्धेश्यले यसपाली वडा स्तरिय उक्त प्रतियोगिता फागुन २४ देखि २७ गतेसम्म रुपा गाउँपालिकामा आयोजनाको तयारी गरिएकोे मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

प्रतियोगितामा प्रथम हुने टोलीलाई १ लाख ५० हजार, दोश्रो हुनेलाई ८० हजार, तेश्रो हुनेलाई ४० हजार साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ५ हजार, अन्य विधामा वेस्ट सर्भर, बेस्ट ब्लकर, बेष्ट सेटर, बेस्ट लिब्रोः, बेस्ट स्पाइकर, उत्कृष्ट प्रशिक्षकलाई जनही २ हजारको साथमा ट्रफि र प्रमाणपत्र प्रदान गरिने भएको छ ।प्रदेशका स्थानिय तहका वडाबाट टिम सहभागिताको लागि पत्रचार समेत गरिएको रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी गराउनु भयो । उक्त अवसरमा झाँकी प्रदर्शन सहित प्रतियोगिता, माला बनाउने प्रतियोगिता आयोजना गर्ने भएको उहाँले जनाउनु भयो ।

“रूपाको पहिचानः सबै क्षेत्रमा समृद्धिको अभियान“ भन्ने नाराका साथ पर्यटन विकास, खानेपानी, शिक्षा, भौतिक पूर्वाधार, सडक, सिंचाई, कृषि, पशुपालन र रोजगारी लगायतका क्षेत्रहरूमा उल्लेख्य कार्यहरू भएको अध्यक्ष ओझाले दाबी गर्नु भयो । युवा तथा खेलकुदको विकासको लागि पनि एक बडा एक खेल मैदान निर्माण कार्य सञ्चालनमा रहेको उल्लेख गर्दै उहाँले “स्वास्थका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद“ भन्ने मूल उदघोषका साथ रूपा गाउँपालिका स्थापना दिवसको अवसरमा २०७५ सालदेखी निरन्तर रूपमा अध्यक्ष कप खुल्ला पुरूष भलिवल प्रतियोगिता गर्दै आएको पालिकाले जनाएको छ ।

यस वर्ष रूपा रत्न सम्मान २०८० द्वारा रुपा गाउँपालिका भित्र कृषकहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले कृषि पेशामा उत्कृष्ट रहेका कृषकहरुलाई नगद पुरस्कार रकम.५ हजार सहित ताम्रपत्रले सम्मान गरिने भएको छ । कार्यक्रममा स्थानिय तथा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरूको सांस्कृतिक प्रस्तुति समेत रहने भएको छ । कार्यक्रममा उपाध्यक्ष लालसुव्वा गुरूङ, जनप्रतिनिधि, सहित प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बराल लगायतको सहभागिता रहेको थियो ।

झाँकी प्रर्दशनी प्रतियोगिताका बिजेतालाई ३० हजार, उपविजेतालाई २० हजार, तेश्रो हुनेलाई १० हजार र शान्त्वना हुनेलाई ५ हजार साथमा प्रमाण पत्र उपलब्ध गराइने भएको सूचना अधिकारी लोकनाथ पौडेलले पोखराक्लिकलाई बताउनु भयो । त्यसै गरी माला प्रतियोगितामा प्रथम हुनेलाई ६ हजार, दोश्रो हुनेलाई ४ हजार र तेश्रो हुनेलाई भने २ हजार साथमा प्रमाण पत्र वितरण गरिने भएको छ । उपाध्यक्ष लालसुव्वा गुरूङको संयोजकत्वमा मुल समिति गठन भएको छ भने विभिन्न उपसमितिहरु गठन भएको छ ।