राष्ट्रियसभा निर्वाचन गण्डकीम १५ प्रतिशत मत खस्न बाँकी, उपप्रधान तथा गृह मन्त्री श्रेष्ठद्धारा निर्वाचनको अवलोकन

-


     पोखरा क्लिक     
     माघ ११ गते २०८० मा प्रकाशित



दीननाथ बराल
पोखरा, ११ माघ

राष्ट्रियसभा सदस्य निर्वाचन—२०८० अन्तर्गत गण्डकी प्रदेशमा अब करिब १५ प्रतिशत मात्र मत खस्न बाँकी रहेको छ । आज विहान ९ः बजे देखि सुरु भएको मतदान कार्यक्रममा यो समाचार तयार पर्दासम्म (विहान ११ः३५ बजे) हालसम्म करिब ८५ प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्रप्रसाद न्यौपानले पोखराक्लिकलाई बताउनुभयो । अब करिब १५ प्रतिशत मात्र मत खस्न बाँकी रहेको उहाँले जनाउनु भयो ।

उहाँका अनुसार हालसम्म प्रदेशसभा सदस्यको ५१ मत र स्थानीय तहबाट १ सय ५३ मत खसेको छ । प्रदेश सभातर्फ ६० मतदाता मध्य अब ९ जनाले मतदान गर्न बाँकी रहेको छ भने स्थानिय तर्फ तर्फ १ सय ७० मतदाता मध्य अब १७ जना मतदान गर्न बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

यसैबिच नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले निर्वाचनको अवलोकन गर्नु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, प्रदेशका मन्त्री, सांसद तथा विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुख एवं नेताहरुसंग भेटघाट समेत गर्नु भएको थियो । गण्डकीमा तीन सिटमा चुनाव हुँदैछ । अन्य, महिला र अपाङ्गता÷अल्पसंख्यक समूहबाट एक÷एक जना निर्वाचित हुनुहुने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

पोखरा–७ रत्नचोकस्थित प्रदेश निर्वाचन कार्यालयको परिसरमा विहान ९ बजेदेखी अपराह्न ३ बजेसम्म मतदानको समयतालिका रहेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी न्यौपानले बताउनुभयो । उहाँका अनुसार प्रदेशसभा सदस्य र स्थानीय तहका लागि दुई छुट्टाछुट्टै मतदान केन्द्र रहेका छन् । प्रदेशसभा सदस्यका लागि हरियो र स्थानीय तहको सदस्यका लागि हलुका रातो रङ्गको मतपत्र रहने न्यौपानेले पोखराक्लिकलाई बताउनुभयो ।

गण्डकीमा तीन सिटका लागि हुने चुनावका लागि आठ जना उम्मेदवार हुनुहुन्छ । सत्तागठबन्धनबाट अन्य समूहमा नेपाली काँग्रेसका किरणबाबु श्रेष्ठ(गोरखा) महिलातर्फ नेकपा(माओवादी केन्द्र)का मनरुपा शर्मा(पर्वत) र अपांगता÷अल्पसंख्यकमा नेपाली काँग्रेसका पदमबहादुर परियार(तनहुँ) उम्मेदवार हुनुहुन्छ । नेकपा(एमाले)का तर्फबाट अन्य समूहमा चक्रबहादुर पराजुली(स्याङ्जा), अपांगता÷अल्पसंख्यकमा हेमन्त शेरचन(मुस्ताङ) र महिलामा सम्झना देवकोटा(गोरखा)ले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दुई पदमा अन्य समूहमा कास्कीका रोमबहादुर भण्डारी र महिलामा तनहुँकी गौमाया श्रेष्ठ उम्मेदवार हुनुहुन्छ । राष्ट्रिय सभाका अध्यक्ष समेत रहनुभएका गणेशप्रसाद तिमिल्सिना, राष्ट्रियसभा सदस्यद्धय दीपा गुरुङ र प्रकाश पन्थको कार्यकाल सकिन लागेकाले चुनाव हुन लागेको छ । तिमिल्सिना अन्य, गुरुङ महिला र पन्थ अपाङ्गता÷अल्पसंख्यक समूहबाट निर्वाचित हुनुभएको थियो । अध्यक्ष तिमिल्सिना र गुरुङ नेकपा(एमाले) र पन्थ कांग्रेसबाट राष्ट्रियसभामा निर्वाचित हुनुभएको थियो ।

गण्डकी प्रदेशमा प्रदेशसभाका ६० र स्थानीयतहका प्रमुख÷उपप्रमुख एक सय ७० गरी दुई सय ३० जना मतदाता छन् । निर्वाचनमा प्रदेश सभा सदस्यको ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको १९ मतभार तोकिएको छ । प्रदेश सभातर्फ तीन हजार एक सय ८० र स्थानीय तहतर्फ तीन हजार दुई सय ३० गरी कूल छ हजार चार सय १० मतभार छ ।


प्रदेश सभाको सवैभन्दा ठूलो दल नेपाली काँग्रेसका प्रदेशसभाका २७ र स्थानीय तहतर्फ प्रमुख र उपप्रमुख गरी ६७ जना मतदाता रहनु भएको छ । कांग्रेसको कूल मतभार दुई हजार सात सय चार रहेको छ ।
नेकपा एमालेका २२ प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ६८ जना रहनु भएको छ । एमालेको जम्मा मत भार दुई हजार चार सय ५८ हुन आउँछ । यसैगरी माओवादी केन्द्रका प्रदेशसभा सदस्य आठ र स्थानीय तहका प्रमुख÷उपप्रमुख ३० गरी कूल नौ सय ९४ मतभार छ ।

प्रदेशमा एकीकृत समाजवादीका एक प्रदेश सभा सदस्य र एक नगर प्रमुख गरी समाजवादीसँग ७२ मत भार छ ।
गण्डकी प्रदेशसभामा दुई सदस्य रहेको राप्रपाको एक सय छ मत भार छ । राष्ट्रिय जनमोर्चाको स्थानीय तहका प्रमुख÷उपप्रमुख गरी तीन जना रहेकाले ५७ मतभार छ । मनाङको निस्याङ गाउँपालिका उपाध्यक्ष छिरिङ गुरुङले स्वतन्त्रबाट जित्नुभएको हो । उहाँको मतभार १९ छ ।



This will close in 20 seconds