
पोखरा १८, पुष
पोखराको सूर्य दर्शन सहकारी ठगी प्रकरणमा पूर्व सञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे) र भविश्वर अर्याल पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
गत भदौ २४ गते पक्राउ पुर्जी जारी भएपछि फरार भएका उनीहरु मङ्गलवार अदालतमा उपस्थित भएका थिए । कास्की जिल्ला अदालतले महेन्द्र र भविश्वरलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । मङ्गलवार बयान गराएर बुधबार भएको थुनछेक बहसपछि न्यायाधीश वसन्तजंग थापाको इजलासले महेन्द्र र भविश्वरलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
पोखरामा गितेन्द्र (जीवी) राइको समूहले खोलेको सूर्य दर्शन सहकारी मार्फत बचतकर्ताको झण्डै डेढ अर्ब रकम अपचलन गरेको उजुरीका आधारमा जीवी, महेन्द्र भोटेसहित १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
प्रहरीले पक्राउ पुर्जी जारी गरेको भोलिपल्टै भदौ २५ गते पक्राउ परेका सूर्य दर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल पुर्पक्षका लागि थुनामै छन् । गत शुक्रबार काठमाडौँबाट पक्राउ परेका सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामीलाई पनि सोमबार अदालतले पुर्पक्षका लागि थुनामा राख्ने फैसला गरेको हो । सूर्य दर्शन सहकारी ठगी प्रकरणमा जीवी सहित १५ जना अझै फरार छन् ।