दीननाथ बराल
पोखरा ६, पुष
पोखरामा हुने चौथो संस्करणको टाईगर कप भलिबल प्रतियोगिता २०८० मा यसपाली दुई वटा विदेशी पाहुना टोली सहभागि हुने भएका छन्। पोखरा रंगशालामा आउँदो माघ १ गतेदेखि ६ गतेसम्म लिगकम नकाउटका आधारमा हुने उक्त प्रतियोगितामा भारत र श्रीलंकाका दुई विदेशी पाहुना टोली सहभागि हुने भएको टाइगर ग्रुप अफ पोखरा नेपाल कास्कीका अध्यक्ष नारायण शर्माले बताउनु भयो ।
उहाँका अनुसार उक्त प्रतियोगिताको पुरुष तथा महिला ६÷६ टिमको सहभागि हुने भएका छन्। उक्त प्रतियोगितामा पुरुष तर्फ श्रीलंकाको आर्मी टिम र महिला तर्फ भने भारतको हरियाणा पुलिस क्लव सहभागि हुने भएको छ । त्यसै गरी महिला तथा पुरुष तर्फ गण्डकी प्रदेश र तीन बिभागिय टोली सहभागि हुने भएका हुन्। राष्ट्रिय तथा अन्तराष्ट्रिय आमन्त्रित क्लब स्तरीय महिला तथा पुरुष उक्त प्रतियोगितामा नेपालका तीन विभागिय टोली नेपाल पुलिस, नेपाली सेनाको त्रिभुवन आर्मी क्लव र शसस्त्र प्रहरी वलको एपिएफ क्लवले महिला तथा पुरुष तर्फ सहभागि हुने भएका छन्। पुरुष तर्फ हेल्प नेपाल स्पोट्र्स क्लव सहभागि हुने भएको छ भने महिला तर्फ न्यू डायमण्ड युथ स्पोट्र्स क्लव सहभागि हुने भएको अध्यक्ष शर्माले बताउनु भयो ।
उक्त खेलमा विजेता टिम(पुरुष तथा महिला) लाई जनही ५ लाख ५५ हजार ५ सय ५५ सहित ट्रफी मेडल साथमा प्रमाणपत्र प्रदान गरिने भएको छ । आयोजकले यस बर्ष पुरस्कार राषिमा केही बृद्धि गरेको हो । यस बर्ष प्रथम पुरस्कारमा ५० हजार बृद्धि गरेको हो । उपविजेता पुरुष तथा महिलाको टोलीले २ लाख ७७ हजार ७ सय ७७ र तेश्रो हुनेले १ लाख ४० हजार पुरस्कार प्राप्त गर्ने भएको छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी महिला तथा पुरुषलाई जनही नगद २५÷२५ हजार ५ सय ५५ अन्य विधागतमा उत्कृष्ट हुने खेलाडीलाई जनही १० हजार प्रदान गरिने भएको छ । नेपाल भलिवल संघको संयोजनमा पोखरा महानगरपालिका, राखेप, र प्रदेश खेलकुद परिषद गण्डकीको बिषेश सहयोगमा उक्त प्रतियोगिता हुन लागेको प्रतियोगिताका संयोजक दीपक कार्कीले बताउनु भयो । उक्त प्रतियोगिताको तयारी तिव्र पारिएको संयोजक कार्कीले एटुजेडलाई बताउनु भयो । यस बर्ष पनि अस्थायी प्यारापिट समेत बनाउने र आवश्यक शान्ति सुरक्षाको व्यबस्था गरीने भएको संयोजक कार्कीले जनाउनु भयो ।