विहिबार देखि पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु हुने, तालिम लिन चाहने महिलालाई सुवर्ण अवसर

-


     पोखरा क्लिक     
     मंसिर १९ गते २०८० मा प्रकाशित


दीननाथ बराल
पोखरा, १९ मंसिर

पोखरा उद्योग वाणिज्य संघको आयोजनामा यही मंसिर २१ गते (विहिबार) देखि संचालन हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी पूरा भएको छ । पोखराको प्रर्दशनी केन्द्रमा आउदो पुस १ गतेसम्म संचालन हुने उक्त मेलाको तयारी पूरा भएको मंगलबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।

यस बर्षको मेलामा विदेशी दुई देशका व्यवसायीक स्टलहरु सहित २ सय ५० स्टलहरु रहने भएको संघका अध्यक्ष पवनकुमार प्रजापतीले बताउनु भयो । उहाँका अनुसार डोम भित्र ५४, अटो तर्फ ५०, अन्य १ सय ४६ वटा स्टलहरु रहने भएका छन्। मेलामा बंगलादेश र पाकिस्तानबाट कटनका कपडा देखि इलेक्ट्रिक लगायतका सामानहरुको प्रर्दशनी तथा बिक्रिको लागि उक्त मेलामा स्टलहरु रहने भएको अध्यक्ष प्रजापतीले जनाउनु भयो । नेपाल उद्योग बाणिज्य संघको समन्वयमा पहिलो पटक विदेशबाट केही व्यवसायीक स्टलहरु पोखरामा आउने भएको उहाँले जनाउनु भयो।

उक्त मेलाको हालसम्म ९३ प्रतिशत मात्र अग्रिम स्टल बुकिङ भएको मेलाका स्टल बुकिङ संयोजक टिकाराम सुवेदीले एटुजेडलाई बताउनु भयो । मेलामा औधोगिक, कृषि, हस्तकला, रेष्टुरेण्ट, सेवा मुलक, उद्यमशिल लगायतका स्टल बुकिङ भएको उहाँले जनाउनु भयो । गण्डकी प्रदेश बाहिरका करिब १५ प्रतिशत जसो विभिन्न व्यवसायीहरु आफ्नो व्यवसाय प्रबद्र्धन गर्न मेलामा सहभागि हुन लागेको उहाँले बताउनु भयो ।

संघका वाणिज्य उपाध्यक्ष एवं मेलाका स्टल व्यबस्थापन समितिका संयोजक समेत रहनु भएका उत्तममान बुद्धाचार्यले मेलाको स्टल निर्माण गर्न कार्य पूरा भएको बताउनु भयो । यसपाली उक्त मेलामा प्रबेश शुल्कको १० रुपैया भूकम्प प्रभावितहरुको लागि प्रदान गरिने भएको छ भने बिद्यार्थीबाट उठेको रकम मध्य ५ रुपैया जाजरकोट भूकम्प प्रावितहरुको लागि सहयोग गरिने भएको संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले बताउनु भयो ।

‘लगानीको सम्वद्र्धन ः उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने नाराका साथ आयोजना हुने मेला उद्यमशीलता विकासमा समर्पित भएको संघले जनाएको छ । मेलामा गण्डकी प्रदेशका विभिन्न जिल्लामा उत्पादित हस्तकला, बास्तुकला, कृषिजन्य उत्पादनको बिक्री र प्रदर्शनका अलावा, नयाँ औद्योगिक उत्पादनहरु, अटो प्रदर्शनी र मनोरञ्जनात्मक कार्यक्रम पनि समावेश गरिने भएको छ । उत्पादक र उपभोक्तालाई एउटै मञ्चमा ल्याउनु तथा सुस्ताएको बजार चलायमान बनाउनु मेलाको अर्को उद्धेश्य भएको अध्यक्ष प्रजापतीले बताउनु भयो ।

संघका महासचिव बलराम आचार्यले मेला सम्पन्न गर्न गर्न करिब ८० लाख खर्च हुने बताउनु भयो । उक्त मेलाबाट ९० लाख आम्दानी गरी १० लाख बचत गर्ने लक्ष्य राखिएको उहाँले जनाउनु भयो। मेलामा महिलाहरुलाई इच्छा अनुसारको तालिम उपलब्ध गराइने भएको संघले जनाएको छ । मेलाको अवसरमा केही हस्तकलाका सिलाई वुनाई, गुडिया वनाउने लगायतका तालिम उपलब्ध गराइने भएको छ भने अन्य तालिम आवश्यक भएकाहरुको फारम संकलन गरी बर्ष भरीमा कार्यक्रम मिलायर तालिम उपलब्ध गराइने भएको अध्यक्ष प्रजापतीले जनाउनु भयो। यस मेलामा महिलाहरुको लागि तालिम प्राप्त गर्न सुवर्ण अवसर नै भएको संघले जनाएको छ । संघले गतबर्ष करिब २० जनालाई तालिम दिए पनि ४ जना मात्र स्वरोजगार उद्यमशिल बन्न सफल भएको अध्यक्ष प्रजापतीले दाबी गर्नु भयो ।

विहिबार उक्त मेलाको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने आयोजकले जनाएको छ भने मेला उद्घाटन हुनु पूर्व सन्ध्यामा संघको परिसरबाट पोखरामा प्रभातफेरी आयोजना गरिने भएको हो । उक्त प्रभातफेरीमा सहभागी टिमहरुलाई उत्कृष्टताका आधारमा पुरस्कारको समेत व्यबस्था गरिएको छ । पोखराको प्रतिष्ठित व्यावसायिक घराना लक्ष्मी हाउस अन्तर्गतका लक्ष्मी हुण्डाइ, समृद्धि स्टिल्स र सुजल फुड्सको मुख्य प्रायोजनमा तथा पोखरा महानगपालिका र नेपाल पर्यटन बोर्डले मेलाको प्रवद्र्धन गरेका छन्। यसैगरी मुख्य सहप्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक, याक ब्रेविड प्रालि, यती डिष्टिलरी प्रालि रहेको संघले जनाएको छ । संघले पोखरा महोत्सव २०५२, औधोगीक मेला २०४२ सालबाट नेपालमै पहिलो पटक मेला महोत्सवको सुरुवात गरेको संघले दाबी गरेको छ ।