दीननाथ बराल
पोखरा १९, मंसिर
नेकपा एमाले समृद्धिका लागि सङ्कल्प यात्राको अभियान अन्र्तगत मंसिर २१ पर्सि (बिहिबार) र शुक्रबार कास्कीमा हुने भएको छ । “बैतडी झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्पयात्रा”को एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरी सुरु भएको उक्त अभियान मंसिर २१ र २२ गते दुई दीन पोखरामा हुने तयारी गरिएको आज (मंगलबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
नेकपा एमाले कास्कीले पोखरा सहित कास्कीका विभिन्न ९ वटा स्थानमा अध्यक्ष ओली सहितको उक्त अभियानमा रहेका सदस्यहरुलाई स्वागत गरी तथा छलफल गर्ने भएको एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङले बताउनु भयो । उहाँका अनुसार पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री ओलीले पोखराका दुई स्थान पोखरा २५ हेमजा र पोखराको तालचोकमा संक्षिप्त सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । हेमजामा विहिबार दिउसो ४ः३० बजे र तालचोकमा शुक्रबार बिहान ९ः०० बजे अध्यक्ष ओलीले सम्बोधन गर्ने समय तालिका रहेको पार्टीले जनाएको छ ।
त्यसै गरी मध्यपहाडी (पुष्पलाल) लोकमार्ग अन्र्तगत पर्ने पोखरा १६ को बिबाद भएकोले त्यसको बिषयमा आफुहरुले छलफल गर्ने भएको अध्यक्ष गुरुङले बताउनु भयो । बिबादमा रहेको उक्त स्थानमा गठन भएको आन्दोलनरत समितिसंग समेत छलफल गरी बिबाद टुंगाउने गरी पहिला जुन रुपमा उक्त परियोजनाको खाका कोरिएको थियो सोही अनुरुप हुने अध्यक्ष गुरुङले दाबी गर्नु भयो । अध्यक्ष ओलीको नेतृत्वमा पदाधिकारी, केन्द्रीय निकायका अध्यक्ष÷प्रमुखहरू, भूगोल कार्यक्षेत्र नभएका स्थायी कमिटीका सदस्यहरू र तोकिएका व्यक्तिहरू संकल्प यात्राको केन्द्रीय टोलीमा सहभागी हुनु भएको छ । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं एमाले नेता खगराज अधिकारीले सामाजिक रुपमा अराजक तत्वहरु हावी हुँदा सरकारको सचेतना तथा प्रतिकार नगरेको आरोप लगाउनु भयो । संकल्प यात्राको कास्की जिल्ला अन्तर्गतको समय तालिका अनुसार मंसिर २१ गते दिउसो ३ः०० बजे पर्वतबाट आएको टोलीलाई कास्कीको नयाँपुलमा स्वागत गर्ने भएको छ ।
त्यसै गरी कास्कीको अन्नपूर्ण गाउँपालिका नागडाँडामा स्वागत, हेमजाको मिलनचोक, हेम्जामा स्वागत भेटघाट र खाना÷बास (पोखरा) आएर हुने भएको छ । त्यसै गरी जिरो किमी पोखराबाट बिहान ७ः३० बजे प्रस्थान गर्ने, अमरसिंहचोकमा स्वागत, तालचोकमा स्वागत, पिपलेबजार, रुपा गाउँपालिकामा कास्कीबाट बिदाइ हुने भएको एमाले कास्कीका सहसचिव दर्शन लामाले बताउनु भयो ।
नेपालको भौगोलिक संरचनामा पहाडको विशेष महत्व भएकोले पहाडको विकास बिना नेपालको विकास नहुने पार्टी कास्की इन्चार्ज थम माया थापाले बताउनु भयो । पहाड जैविक विविधताका दृष्टिले समृद्ध रहेको जलस्रोतको विकासको सर्वाधिक सम्भावना बोकेको उहाँको भनाई थियो । जटिल भौगोलिक संरचना, छरिएका बस्तीहरू, प्राकृतिक विपत्तिको उच्च जोखिम, बन्य जन्तुहरूका कारण कृषि उत्पादनमा ह्रास तथा जलवायु संकट पहाडको विकासका मुख्य चुनौती रहेको छ ।
यिनै चुनौती र सम्भावनाहरूलाई ध्यानमा राखेर एमालेले पहाडी क्षेत्रको विकासका लागि रणनीतिक महत्वका पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य र खानेपानी संरचना एवं विद्युतीकरण लगायत महत्वपूर्ण योजना अगाडि बढाउँदै आएको अध्यक्ष गुरुङले बताउनु भयो । पार्टी अध्यष सहितको टोलीलाई कास्कीमा भने भव्य स्वागत गर्ने तयारी उहाँले जनाउनु भयो । पार्टीले उक्त अभियानलाई मिसन २०८० सालको निर्वाचनसंग समेत जोडेको छ ।