पोखरा ३, कार्तिक
एटुजेड पत्रिका डटकमका बरिष्ठ संवाददाता असफल गौतमले एक लाख नगद सहितको राष्ट्रिय पुरस्कार जितेका छन्। सिबिफिनको राष्ट्रिय लेख प्रतियोगितामा पत्रकार असफल गौतम प्रथम भएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ सिबिफिन नेपालले आयोजना गरेको देशभरका पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइन सञ्चारमाध्यममा कार्यरत सयौं पत्रकार सहभागी राष्ट्रिय प्रतियोगितामा पोखराको पत्रकारितामा क्रियाशील असफल गौतम प्रथम भएका हुन् ।
उनी प्रथम स्थान प्राप्त गर्दै नगद एक लाख राशिसहित पुरस्कृत भए । स्वतन्त्र पत्रकार संघ कास्की तथा मानवअधिकार पत्रकार संघ हुर्जाका अध्यक्ष असफल एटुजेड पत्रिका डटकमका संवाददाता हुन् । असफल यस अघि नेपाली सेनाले आयोजना गरेको राष्ट्रिय सुरक्षा विषयक राष्ट्रिय प्रतियोगितामासमेत सान्त्वना स्थानसहित आकर्षक नगद पुरस्कारबाट पुरस्कृत भइसकेका छन् । विजेतालाई सिबिफिन र नेपाल बिजनेश इन्ष्टिच्यूटले संयुक्तरूपमा आयोजना गरेको नेपाल बिजनेस समिट २०२३ को प्रतिवेदन र प्रतियोगिताको नतिजा सार्वजनिक समारोह बीच पुरस्कृत गरेको हो ।
समिटको पूर्वसन्ध्यामा सिबिफिनको आयोजना, नेपाल पत्रकार महासंघ एवं नेपाल बिजनेश इन्स्टिच्युटको सहकार्यमा ‘वर्तमान आर्थिक परिदृश्य र समृद्धिको मार्गचित्र’ विषयमा आयोजित लेख प्रतियोगितामा देशभरबाट उत्कृष्ट १५ औँ स्थानभित्र पर्न सफल पत्रकारलाई नगदसहित पुरस्कृत गरिएको हो । प्रतियोगीमा काठमाडौ प्रेस काठमाडौंका यम विरहीले द्वितीय स्थान हासिल गर्दै ७५ हजार, श्रीनगर मिडिया नेटवर्क पाल्पाका दुर्गाप्रसाद अर्यालले तृतीय स्थान हासिल गर्दै ५० हजार, कर्पोरेट नेपाल डटकम रौतहटका खेम बोलाखेले चौथो स्थानसहित २५ हजार र आर्थिक अभियान दैनिकका नवराज अधिकारी पाँचौ स्थान प्राप्त गर्दै १५ हजार नगद राशिसहित पुरस्कृत भए ।
प्रतियोगिताका उत्कृष्ट १० लेखतर्फ इन्फो खबर मिडिया काठमाडौंका कमलबहादुर कठायत, युनिभर्सल टेलिभिजन काठमाडौंका अमृता बजगाई, ह्याप्पी पोखरा डट कम कास्कीका रूपनारायण ढकाल, अन्नपूर्ण पोष्ट मकवानपुरकी ममता थापा, न्यूज एजेन्सी नेपाल काठमाडौंका अनिष मिजार, समाज खबर साप्ताहिक ओखलढुंगाका दधिराम खतिवडा, क्यापिटल म्यागजिन काठमाडौंका लोकबहादुर चापागाई, रातोपाटी न्यूजका एलन अधिकारी, अन्नपूर्ण पोष्ट दैलेखका हिक्मतबहादुर नेपाली र केशर साप्ताहिक झापाका वेणुप्रसाद अधिकारी नगद १० हजार राशिसहित पुरस्कृत भए ।
पुरस्कृत पत्रकारलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. रमेशचन्द्र पौडेल, सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यान, त्रिभुवन विश्वविद्यालय मानविकी संकायकी डिन प्रा.डा. कुशुम शाक्य र नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले संयुक्तरूपमा पुरस्कृत गरे । प्रमुख अतिथि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकारले पूर्वाधार, पर्यटन र निर्माणका क्षेत्रमा उल्लेख्य लगानी बढाउँदै लगेकाले त्यसको सबलीकरणमा सञ्चारको अतुलनीय योगदान रहने बताए ।
राष्ट्रिय योजना आयोगका सदस्य डा. रमेशचन्द्र पौडेलले औपचारिक–अनौपचारिक अर्थतन्त्रका विषयमा प्रकाश पार्दै वर्तमान अवस्थालाई ख्याल गरेर कलम चलाउन पत्रकारलाई सुझाए । त्रिभुवन विश्वविद्यालय मानविकी संकायकी डिन प्रा.डा. कुशुम शाक्यले अर्थतन्त्रलाई सबल बनाउन हरेक क्षेत्रको सहकार्य र सहयोग अनिवार्य रहेको धारणा राखिन् । सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानले आर्थिक एवं औद्योगिक क्रान्तिका लागि सबै एक जुट भएर बढ्नुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले पत्रकारलाई हौसला र प्रोत्साहन गर्ने गरी प्रतियोगिता सञ्चालन र पुरस्कृत गरेकोमा धन्यवाद व्यक्त गर्दै पत्रकारिता क्षेत्रलाई यसैगरी उत्प्रेरित गरिनुपर्ने बताए ।
सिबिफिनका उपाध्यक्ष राजेश उपाध्यायले कठिन अवस्थाबाट गुज्रिरहेको अर्थतन्त्रलाई माथि उकास्न नेपाल सरकारले निजी क्षेत्रलाई प्रोत्साहनसहित थप जिम्मेवारी र भूमिका दिनुपर्ने धारणा राखे । नेपाल बिजनेस इनिश्टिच्यूटका अध्यक्ष विशाल गैह्रेले उत्पादनमूलक, निर्यातमूलक, रोजगारमूलक क्षेत्रलाई विशेष प्राथमिकता र प्रोत्साहनसहित लगानी विस्तार नगरी देश विकासमा लाग्न सरकारलाई सुझाव दिए । प्रथम पुरस्कार विजेता असफल गौतमले कोशी प्रदेशको दृष्टान्त दिँदै वर्तमानको राज्य व्यवस्था नै सिकारी प्रवृत्तिमा लिप्त रहेकाले त्यो प्रवृत्ति त्यागेर आर्थिक समृद्धिमूलक काममा लाग्नुपर्ने धारणा राखे ।
राज्यका कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका, सरकारी एवम् गैरसरकारी संघसंस्थाका उच्चपदस्थ व्यक्तित्व, सञ्चार तथा वित्तिय संस्थाका विशिष्ट प्रतिनिधिको उपस्थितिमा हायात प्यालेसमा सम्पन्न कार्यक्रमको सञ्चालन सिबिफिनका सचिव कुशप्रसाद मल्लीले गरेका थिए ।