दीननाथ बराल
पोखरा २७ असोज
हिमाल पारीको जिल्ला मुस्ताङबाट हालसम्म ५ हजार ७ सय वटा भेंडा च्यांग्रा निकासि भएका छन्। नेपालीहरुको महान पर्व वडा दशैंको अवसरमा बिक्रि गर्ने उद्धेश्यले मुस्ताङमा शनिबारसम्म ५ हजार ७ सय वटा भेंडा च्यांग्रा निकासि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र मुस्ताङका डा.लालमणि अर्यालले बताउनु भयो ।
केही दिन देखि सुरु भएको भेंडा च्यांग्राको स्वास्थ्य परिक्षण हालसम्म जारी रहेको उहाँले बताउनु भयो । प्रति भेंडा च्यांग्राको स्वास्थ्य परिक्षण गर्दा १५ रुपैया शुल्क लाग्ने गरेको छ ।उक्त भेंडा च्यांग्राको स्वास्थ्यको हालको अबस्था राम्रै भए पनि केही दिन पानी परेकोले लेकबाट बेसीमा झार्दै पोखरा लगायतका स्थानमा पुग्दा केही भेंडा च्यांग्राको नाकबाट सिंगान आउन सक्ने डा.अर्यालले एटुजेडलाई बताउनु भयो । उहाँका अनुसार पहिलो चरणमा गरिएको भेंडा च्यांग्रा निकै राम्रा पुष्टिका रहेका छन्।
मुस्ताङको जोमसोमबाट म्याग्दी हुदै पोखरा, काठमाण्डौं, चितवन लगायतका क्षेत्रमा दशैं पर्व लक्षित हुने गरी यस बर्ष करिब ७ हजार भेंडा च्यांग्रा बिक्रिको लागि मुस्ताङबाट बाहिरिने व्यवसायीहरु बताउदै आउनु भएको छ ।
यस बर्ष मुस्ताङबाट करिब ४ हजार र २ हजार जसो डोल्पा क्षेत्रमा उत्पादन भएका भेंडा च्यांग्रा मुस्ताङबाट वेनी हुदै पोखरा पुग्न थालेको भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र मुस्ताङका निमिक्त कार्यालय प्रमुख ऋषिराम पोखरेलले बताउनु भयो । यस बर्षको भेंडा च्यांग्राको मुल्यको बढ्नुमा मुस्ताङको कोरोना नाका दशैं अगाडै नै खेल्ने सम्भावना नभएर पनि मुल्य बृद्धि भएको बताइन्छ ।
यसैबिच, मुस्ताङमा हुर्काइएका भेंडा च्यांग्रा पोखरामा बिक्रि वितरण गर्न सुरु भएको छ । मुस्ताङ क्षेत्रमा उत्पादन भएका भेंडा च्यांग्रा सहित मुगु, डोल्पा, जुम्ला लगायतका क्षेत्रमा समेत उत्पादन भएका केही समुहमा पहिलो चरणमा पोखरामा बिक्रिको लागि आएका हुन्।
यस बर्षको लागि पोखरामा पहिलो चरणमा आफुहरुले माथिल्लो मुस्ताङ लोमान्थाङ क्षेत्रबाट ३ सय ६५ वटा भेंडा च्यांग्रा बिक्रिको लागि ल्याएको पोखरा बगर स्थित सम्झना फ्रेस हाउसका संचालक रमेश खड्काले बताउनु भयो । मुस्ताङबाट आफुहरुले भेंडा च्यांग्राको स्वास्थ्य परिक्षण गरी ८ दिनमा पोखरामा भेंडा च्यांग्रा ल्याएको उहाँले बताउनु भयो । प्रति भेंडा च्यांग्राको ५० हजारसम्म पर्ने बताउदै उहाँले प्रति केजी तयारी मासु खुद्राको रुपमा खरिद गर्दा २ हजार १ सयमा बिक्रि समेत गरेको जनाउनु भयो ।
पछिल्लो समयमा भेंडा च्यांग्राको मुस्ताङमै पनि राम्रो खपत हुन थालेकोले दशैं तिहारको अवसरमा पोखरा लगायतका क्षेत्रमा आफुहरुले पालन गरेका भेंडा च्यांग्रा केही कम पठाउन थालिएको उपल्लो मुस्ताङ (लोमाङथाङ) एक भेंडा च्यांग्रा व्यवसायी आङग्याल गुरुङले बताउनु भयो । चिन र नेपालको कोरोला नाका यस बर्ष दशैंको मुखमा नखोलेकोले भेंडा च्यांग्राको मुल्य गत बर्ष भन्दा केही महङगो भएको उहाँको भनाई छ ।