पञ्चासेमा बालाचतुर्दशी मेला हुँदै, पुरुष भलिबल विजेतालाई एक लाख ११ हजार पुरस्कार

-


     पोखरा क्लिक     
     मंसिर १३ गते २०८३ मा प्रकाशित


मंसिर १३, पोखरा,

कास्कीको पर्यटकीय तथा धार्मिक गन्तव्य पञ्चासे क्षेत्रमा पर्यटन प्रवद्र्धन, खेलकुद विकास तथा धार्मिक–सांस्कृतिक संरक्षण गर्ने उद्देश्यले १५औँ सिधाने पञ्चासे बालाचतुर्दशी मेला–२०८३ आयोजना हुने भएको छ । पञ्चासे आदर्श क्लब पोखरा–२३ को आयोजनामा आगामी मंसिर १९ देखि २१ गतेसम्म तीन दिन मेला सञ्चालन हुन लागेको हो ।

पञ्चासे भञ्ज्याङस्थित हाई अल्टिच्युड खेलमैदानमा आयोजना हुने मेलाको मुख्य आकर्षण वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता र छेलो हान्ने प्रतियोगिता रहने पत्रकार सम्मेलनमार्फत क्लबका अध्यक्ष वेद प्रसाद गुरुङले जानकारी दिए । उनका अनुसार भलिबल प्रतियोगिताको विजेता टिमले एक लाख ११ हजार १११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ । त्यस्तै, उपविजेताले ६६ हजार ६६६ रुपैयाँ र सेमिफाइनलमा पुग्ने दुई टिमले जनही ११ हजार १११ रुपैयाँ पुरस्कार पाउनेछन् ।

त्यसैगरी, छेलो हान्ने प्रतियोगितामा प्रथम हुनेलाई पाँच हजार र द्वितीय हुनेलाई तीन हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । खेलकुदका अतिरिक्त मेलामा म्युजिकल चेयर, मकै गन्ने खेल तथा नृत्यलगायत मनोरञ्जनात्मक कार्यक्रमसमेत सञ्चालन गरिने आयोजकले जनाएको छ । पञ्चासे दर्शनका लागि आउने भक्तजन तथा पर्यटकलाई लक्षित गरी निःशुल्क खानेपानी र लट्ठी वितरणको व्यवस्था पनि गरिनेछ । मेलामा सहभागी हुनेहरूका लागि प्राथमिक उपचार, व्यवस्थित पार्किङ तथा सरसफाइको प्रबन्ध मिलाइने क्लबले जनाएको छ । मेलाको उद्देश्य पञ्चासे क्षेत्रको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्नुका साथै स्थानीय खेलाडीको पहिचान र प्रोत्साहन, खेलकुद पूर्वाधार विकास तथा वातावरण संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि गर्नु रहेको क्लबका निवर्तमान अध्यक्ष दिनेश गुरुङले बताए ।

वि.सं. २०६६ सालमा स्थापना भएको पञ्चासे आदर्श क्लबले स्थापनाकालदेखि नै विभिन्न सामाजिक तथा परोपकारी गतिविधि सञ्चालन गर्दै आएको छ । क्लबले पञ्चासे भञ्ज्याङमा पार्किङस्थल निर्माण, सरसफाइ अभियान, जटिल रोगका बिरामीलाई आर्थिक सहयोग तथा जेहेन्दार र न्यून आर्थिक अवस्था भएका विद्यार्थीलाई छात्रवृत्ति वितरणलगायतका काम गर्दै आएको छ । यस वर्षको मेलाका लागि करिब आठ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । मेलाबाट प्राप्त हुने मुनाफा क्लबको खेलकुद विकास तथा स्थानीयस्तरमा सञ्चालन गरिने सामाजिक सेवाका गतिविधिमा खर्च गरिने आयोजकले जनाएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा पञ्चासे हर्पन डाँडा युके समाजका अध्यक्ष देउकाजि गुरुङले शुभकामना मन्तव्य राखेका थिएभने स्वागत मन्तव्य क्लबका उपाध्यक्ष इश्वर घले र कार्यक्रम सञ्चालन हिमानसिङ गुरुङले गरेका थिए ।