दशौँ राष्ट्रिय खेलकुदमा गण्डकीलाई टेनिसमा स्वर्ण, प्रदीप खड्का र करणबहादुर थापाको जोडी च्याम्पियन

-


     पोखरा क्लिक     
     मंसिर १३ गते २०८३ मा प्रकाशित


पोखरा,

कर्णाली प्रदेशको सुर्खेतमा जारी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत लन टेनिसको पुरुष डबल्समा स्वर्ण पदक जित्दै गण्डकी प्रदेशले पदक सङ्ख्या थप गरेको छ। गण्डकीका प्रदीप खड्का र करणबहादुर थापाको जोडीले रोमाञ्चक फाइनलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका खेलाडीलाई पराजित गर्दै स्वर्ण जितेका हुन्।

नेपालका नम्बर एक खेलाडी प्रदीप र करणको जोडीले फाइनलमा आर्मीका राजवीर प्रधान र प्रणव खनालको जोडीलाई पराजित गरेको हो। निकै प्रतिस्पर्धात्मक बनेको खेलमा गण्डकीले पहिलो सेट ६–७ ले गुमाएको थियो। तर दोस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै ६–४ ले जित निकाल्यो। त्यसपछि निर्णायक सेटमा दुवै टोलीबीच कडा प्रतिस्पर्धा भयो। ६–६ को बराबरीपछि खेल म्याच टाइब्रेकरमा पुगेको थियो। टाइब्रेकरमा १२–१० को जित निकाल्दै प्रदीप र करणको जोडीले गण्डकीका लागि स्वर्ण पदक पक्का गर्‍यो। गण्डकीका सिनियर टेनिस प्रशिक्षक कुमार अधिकारीले खेलाडीको उत्कृष्ट प्रदर्शन र धैर्यताका कारण कठिन खेलमा सफलता हात परेको बताउनुभयो।

यसअघि टेनिसतर्फ गण्डकीले महिला डबल्स र मिक्स डबल्समा दुई कांस्य पदक जितिसकेको छ। पुरुष डबल्सको स्वर्णसँगै गण्डकीको टेनिस टोलीले प्रतियोगितामा थप सफलता हासिल गरेको छ। यसैबीच, पुरुष एकलतर्फ पनि गण्डकीले स्वर्ण र रजत दुवै पदक जित्ने निश्चित भएको छ। सोमबार हुने फाइनलमा गण्डकीकै प्रदीप खड्का र करणबहादुर थापा आमनेसामने हुनेछन्।

सेमिफाइनलमा प्रदीपले नेपाली सेनाका प्रणव खनाललाई पराजित गर्दै फाइनल यात्रा तय गरेका थिए। त्यस्तै करणले बागमती प्रदेशका निशान श्रेष्ठलाई हराउँदै उपाधि भिडन्तमा स्थान बनाएका हुन्। यससँगै पुरुष एकलको उपाधि गण्डकीकै खेलाडीले जित्ने पक्का भएको छ।

गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष विनोद कायस्थले स्वर्ण पदक जित्ने खेलाडीलाई बधाई दिँदै टोलीको प्रदर्शनले गण्डकीमा टेनिस खेलको विकास र विस्तारका लागि थप ऊर्जा मिलेको बताउनुभयो। पुरुष डबल्सको स्वर्णसँगै गण्डकी प्रदेशले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा हालसम्म पाँच स्वर्ण, एक रजत र चार कांस्य गरी कुल १० पदक जितेको छ। टेनिसमा खेलाडीले देखाएको उत्कृष्ट प्रदर्शनले गण्डकी प्रदेशको पदक यात्रालाई थप उत्साहजनक बनाएको छ। पुरुष एकलको फाइनलमा पनि गण्डकीकै दुई खेलाडी भिड्ने भएपछि प्रदेशले थप स्वर्ण र रजत पदक सुनिश्चित गरेको छ।