
पोखरा,
सोमबार देखी पोखरामा सुरु हुने आइटीएफ विश्व टेनिस टुर जे३० पोखरा २०२६ मा २१ राष्ट्रको सहभागिता रहेको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा भोलि देखि २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कुल एक सय ५० खेलाडीको सहभागिता हुनेछ । प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा जानकारी दिदैँ प्रतियोगिता संयोजक नविन चालिसेले विश्व टेनिस महासंघ (आईटीएफ) को वरीयता तथा ग्रेडिङ प्रणालीअनुसार सञ्चालन हुने बताए ।
उनले प्रतियोगितामा १३ वर्षदेखि १८ वर्षसम्मका खेलाडीले सहभागिता जनाए । ‘विश्व वरीयता आधारमा सहभागिता जनाउनेछन् भने वरीयता प्राप्त खेलाडी तथा क्वालिफाइङ चरणबाट छनोट भएका खेलाडीले मुख्य प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्’ उनले भने । प्रतियोगिताको मेन ड्रतर्फको खेल ३२ जनाको हुनेछ । विजेताले ३० अंक, उपविजेताले १८ अंक, सेमिफाइनलमा पुग्नेले ९ अंक, क्वार्टरफाइनलमा पुग्नेले ५ अंक तथा राउन्ड १६ मा पुग्नेले १ अंक प्राप्त गर्ने आयोजकले जनाएको छ । मेन डबल्सतर्फ विजेताले २४ अंक, उपविजेताले १२ अंक, सेमिफाइनलमा पुग्नेले ६ अंक र क्वार्टरफाइनलमा पुग्नेले ३ अंक प्राप्त गर्नेछन् ।
प्रतियोगितामा नेपालसहित भारत, चीन, अमेरिका, जापान, न्यूजिल्यान्ड, ताइवान, अस्ट्रेलिया, कोरिया, युक्रेन, बेलारुस, क्यानडा, सिंगापुर, हङकङ, मलेसिया, श्रीलंका, इन्डोनेसिया, फिलिपिन्स, पाकिस्तान, रोमानिया र साउदी अरेबियाबाट सहभागि भएका छन् । प्रतियोगिताले पोखरालाई अन्तर्राष्ट्रिय खेल पर्यटनको गन्तव्यका रूपमा थप चिनाउन तथा स्थानीय खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरूसँग प्रतिस्पर्धा गरी आफ्नो खेल कौशल सुधार गर्ने अवसर प्रदान गर्ने आयोजकको विश्वास छ । प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । उद्घाटन समारोहमा नेपाल टेनिस एसोसिएसन, प्रदेश खेलकुद परिषद् गण्डकी, जिल्ला खेलकुद विकास समिति कास्की, पोखरा महानगरपालिका खेलकुद विकास समिति तथा गण्डकी प्रदेश टेनिस संघका प्रतिनिधिसहित खेल क्षेत्रका व्यक्तित्वलाई आमन्त्रण गरिएको छ ।
प्रतियोगिताको प्रवद्र्धनमा पोखरा महानगरपालिका तथा नेपाल पर्यटन बोर्डले सहयोग गरेको छ । प्रतियोगिता सञ्चालनका लागि अनुमानित ७८ लाख ७० हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगिता आईटीएफको नयाँ नियमअनुसार पूर्ण क्षमतामा सञ्चालन गर्न आवश्यक कोर्ट व्यवस्थापन तथा पूर्वाधार निर्माणसमेत गरिनेछ । नयाँ कोर्ट निर्माणका लागि १२ लाख रुपैयाँ खर्च भएको चालिसेले जानकारी दिए । प्रतियोगितामा पुरुष सिंगल्स तथा डबल्स र महिला सिंगल्स तथा डबल्स गरी चार इभेन्टमा प्रतिस्पर्धा हुनेछ ।





