
पोखरा,
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै सहभागी हुने खेलाडीलाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सफलताको शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले खेलाडीलाई दिलोज्यान दिएर प्रतिस्पर्धा गर्दै प्रदेशको शिर उँचो बनाउने गरी खेल प्रदर्शन गर्न आग्रह गर्नुभएको छ।

मुख्यमन्त्री पाण्डेसहितको टोलीले प्रतियोगितामा सहभागी हुन जाने गण्डकी प्रदेशका खेलाडी तथा अफिसियललाई सफलताको शुभकामनासहित बिदाइ गरेको हो। बिदाइ कार्यक्रममा मुख्यमन्त्री पाण्डेले खेलकुदमा पदक जित्नु महत्वपूर्ण उपलब्धि भए पनि खेलाडीले प्रदर्शन गर्ने अनुशासन, मर्यादा, आचरण र खेलभावना पनि उत्तिकै महत्वपूर्ण हुने बताउनुभयो। खेलाडीको व्यवहारले सिङ्गो प्रदेशको पहिचान र प्रतिष्ठाको प्रतिनिधित्व गर्ने उल्लेख गर्दै उहाँले खेलका नियम तथा आचारसंहिताको पूर्ण पालना गरी शालीन, अनुशासित र जिम्मेवार भएर प्रतिस्पर्धामा उत्रन आग्रह गर्नुभयो। ‘पदक जित्नु महत्वपूर्ण उपलब्धि हो। तर, खेलाडीले प्रदर्शन गर्ने अनुशासन, मर्यादा, आचरण र खेलभावना पनि उत्तिकै महत्वपूर्ण छन्,’ उहाँले भन्नुभयो, ‘खेलको नियम र आचारसंहिताको पूर्ण पालना गर्दै गण्डकी प्रदेशको गौरव उँचो बनाउने गरी प्रस्तुत हुनुहोस्।’ मुख्यमन्त्री पाण्डेले प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्ने खेलाडीलाई प्रदेश सरकारले सम्मान तथा पुरस्कृत गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। खेलाडीको मेहनत र प्रतिभाको सम्मान गर्दै पदक विजेता खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई सरकारले पुरस्कृत गर्ने उहाँले बताउनुभयो। प्रदेशका लागि राम्रो नतिजा ल्याउने खेलाडीलाई सरकारले सक्दो सहयोग गर्ने उल्लेख गर्दै उहाँले खेलाडीको मेहनत र समर्पणको उचित मूल्याङ्कन गरिने विश्वास दिलाउनुभयो। मुख्यमन्त्री पाण्डे, सामाजिक विकास युवा तथा खेलकुद मन्त्री रेखा गुरुङले नेपालको राष्ट्रिय झण्डा प्रदेश खेलकुद परिषदका सदस्य विनय थापा सहितको टोलीलाई हस्तान्तरण गर्नु भएको थियो ।

‘पदकसँगै अनुशासन, खेलभावना र प्रदेशको गौरव पनि हाम्रो उपलब्धि बनोस्,’ उहाँको भनाइ थियो। यसैबीच दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका केही खेल मंसिर ८ गतेदेखि नै सुरु भइसकेका छन्। प्रतियोगितामा गण्डकी प्रदेशबाट सहभागी हुने खेलाडी तथा अफिसियलहरू सम्बन्धित खेल विधाअनुसार प्रतियोगितास्थल जाने क्रम जारी रहेको जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङले जानकारी दिनुभयो। राष्ट्रिय खेलकुद प्रतियोगिता खेलाडीका लागि आफ्नो क्षमता प्रदर्शन गर्ने, राष्ट्रिय स्तरमा पहिचान बनाउने र प्रदेशको प्रतिनिधित्व गर्दै खेलकुद क्षेत्रमा योगदान पुर्याउने महत्वपूर्ण अवसर हो। गण्डकी प्रदेशले प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्ने लक्ष्यसहित खेलाडीलाई मैदानमा उतारेको छ। प्रदेश सरकारले व्यक्त गरेको सम्मान र सहयोगको प्रतिबद्धताले खेलाडीको मनोबल बढाउने तथा प्रतिस्पर्धामा थप उत्साहका साथ सहभागी हुन प्रेरणा मिल्ने अपेक्षा गरिएको छ। मुख्यमन्त्री पाण्डेले व्यक्तिगत स्पर्धातर्फ स्वर्ण पदक विजेतालाई जनही एक लाख रुपैयाँ, रजत पदक विजेतालाई ५० हजार रुपैयाँ र कांस्य पदक विजेतालाई २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने बताए । त्यसैगरी, टिम इभेन्टतर्फ स्वर्ण पदक विजेतालाई जनही ५० हजार रुपैयाँ, रजत पदक विजेतालाई २५ हजार रुपैयाँ र कांस्य पदक विजेतालाई १५ हजार रुपैयाँ प्रदान गरिने घोषणा गरे ।





