पोखरामा सोमबारदेखि पहिलो नेपाल एक्सेसिबिलिटी समिट, १० देशका ४ सयभन्दा बढी सहभागी हुँदै

-


     पोखरा क्लिक     
     मंसिर १३ गते २०८३ मा प्रकाशित


पोखरा,

अपाङ्गता भएका व्यक्तिहरूको पहुँचयुक्तता, समावेशीकरण र समान अवसर सुनिश्चित गर्ने विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा साझा बहस र प्रतिबद्धता निर्माण गर्ने उद्देश्यले पोखरामा सोमबारदेखि पहिलो नेपाल एक्सेसिबिलिटी समिट–२०२६ आयोजना हुने भएको छ। ‘अपाङ्गता समावेशी, पहुँचयुक्त र समतामूलक नेपाल निर्माणको आधार स् महासन्धि कार्यान्वयनमा सामूहिक प्रयास यसको पूर्वाधार’ भन्ने मूल नारासहित मंसिर १४ र १५ गते दुई दिनसम्म समिट सञ्चालन हुनेछ।

दिशा फाउन्डेसनको आयोजना तथा काठमाडौं विश्वविद्यालय र अपाङ्गताको क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाको सहकार्यमा हुन लागेको समिटमा १० देशका ४ सयभन्दा बढी सरोकारवालाको सहभागिता रहने आयोजकले जनाएको छ। नेपालका ६० भन्दा बढी जिल्लाबाट प्रतिनिधित्व हुने अपेक्षा गरिएको छ। समिटबारे आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक रमेश बरालले जानकारी दिँदै अपाङ्गता भएका व्यक्तिहरूले शिक्षा, स्वास्थ्य, रोजगारी, सार्वजनिक सेवा तथा दैनिक जीवनका विभिन्न क्षेत्रमा भोग्दै आएका पहुँचसम्बन्धी अवरोध हटाउन साझा धारणा र कार्ययोजना निर्माण गर्नु समिटको मुख्य उद्देश्य रहेको बताउनुभयो।

समिटको औपचारिक उद्घाटन नेपाल सरकारका महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ। समिटमा सरकारी निकाय, अपाङ्गता भएका व्यक्तिका संस्था, नागरिक समाज, विकास साझेदार, शिक्षाविद्, अनुसन्धानकर्ता, निजी क्षेत्र, प्राविधिक तथा डिजाइन विज्ञ, युवा र बालबालिकाको सहभागिता रहनेछ। राष्ट्रिय अपाङ्ग महासंघ नेपालसहित अपाङ्गताको क्षेत्रमा क्रियाशील ५० भन्दा बढी संघसंस्था तथा सरोकारवाला सञ्जाल सहआयोजकका रूपमा सहभागी हुनेछन्।समिटमा शिक्षा, स्वास्थ्य, रोजगारी, उद्यमशीलता, पर्यटन, मानसिक स्वास्थ्य, पहुँचयुक्त निर्माण तथा डिजाइन, पुनःस्थापना सेवा, सूचना प्रविधि तथा सञ्चार, सामाजिक सुरक्षा र बाल सहभागितालगायत विषयमा गहन छलफल गरिनेछ। समिटको महत्वपूर्ण उपलब्धिका रूपमा पोखरा घोषणापत्र जारी गरिने आयोजकले जनाएको छ। घोषणापत्रमा अपाङ्गता भएका व्यक्तिहरूले पहुँचयुक्तता, समावेशीकरण र समान अवसरका क्षेत्रमा भोगिरहेका समस्या पहिचान गर्दै तिनको दीर्घकालीन समाधानका लागि आवश्यक नीतिगत तथा व्यावहारिक कदमहरू समेटिनेछन्।

विगतमा विभिन्न सम्मेलन तथा गोष्ठीबाट जारी भएका घोषणापत्र कार्यान्वयनमा प्रभावकारी पहल हुन नसकेको अवस्थालाई मध्यनजर गर्दै यसपटक दुई वर्षे कार्यान्वयन योजनासहित घोषणापत्र जारी गर्न लागिएको संयोजक बरालले बताउनुभयो। ‘यो विगतको जस्तो कागजको खोस्टामा परिणत हुँदैन, बरु दुई वर्षे कार्यान्वयन योजनासहितको घोषणापत्र आउनेछ,’ उहाँले भन्नुभयो। समिटका सहसंयोजक रमेश पोखरेलले घोषणापत्रमा उल्लेख गरिएका प्रतिबद्धता र कार्ययोजना कार्यान्वयन गराउन छुट्टै कार्यदल (टास्क ग्रुप) गठन गरिने जानकारी दिनुभयो। उक्त कार्यदलले सम्बन्धित निकायसँग समन्वय गर्ने, कार्यान्वयनका लागि पहल गर्ने, देखिएका समस्या उजागर गर्ने तथा आवश्यक खबरदारी गर्ने उहाँले बताउनुभयो। समिटका सहसंयोजक तथा अधिकारकर्मी अञ्जना केसीले समिटले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्ने अभियानमा महत्वपूर्ण परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो। विगतका घोषणापत्र कार्यान्वयन नहुँदा अपेक्षित उपलब्धि हासिल हुन नसकेको उल्लेख गर्दै उहाँले यसपटकको घोषणापत्र व्यवहारमै कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो। ‘यसअघिका घोषणापत्र दराजमा थन्किएका होलान्, तर आशा छ, यो घोषणापत्र अपाङ्गता भएका व्यक्तिहरूका लागि पहुँचयुक्तता, समावेशीकरण र समान अवसरका क्षेत्रमा कोशेढुंगा साबित हुनेछ,’ उहाँले भन्नुभयो।

त्यस्तै, समिटका सहसंयोजक तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेशका अध्यक्ष हेमबहादुर गुरुङले नेपालले अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि (यूएनसीआरपीडी) अनुमोदन गरेको १५ वर्ष बितिसक्दा पनि अपाङ्गता भएका व्यक्तिहरूले विभिन्न क्षेत्रमा पहुँचसम्बन्धी अवरोध भोग्नुपरिरहेको बताउनुभयो। महासन्धि अनुमोदन गरेपछि पनि त्यसको मर्मअनुसार अधिकार कार्यान्वयन हुन नसक्नु चुनौतीका रूपमा रहेको उल्लेख गर्दै उहाँले अपाङ्गता भएका व्यक्तिहरूको समान सहभागिता र अधिकार सुनिश्चित गर्न सरकार, निजी क्षेत्र तथा नागरिक समाजबीच सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो। आयोजकका अनुसार समिट केवल छलफल र प्रतिबद्धतामा सीमित नभई घोषणापत्रमार्फत तय गरिएका कार्ययोजना कार्यान्वयन गर्ने साझा अभियानका रूपमा अघि बढाइनेछ। पोखरामा आयोजना हुन लागेको पहिलो नेपाल एक्सेसिबिलिटी समिटले अपाङ्गतामैत्री पूर्वाधार, सेवा तथा अवसर निर्माणका लागि राष्ट्रिय बहसलाई थप गति दिनुका साथै समावेशी र पहुँचयुक्त नेपाल निर्माणको अभियानमा नयाँ आधार तयार गर्ने अपेक्षा गरिएको छ।