दशौँ राष्ट्रिय खेलकुदमा गण्डकीलाई शारीरिक सुगठनले चार स्वर्ण सहित ८ पदक दिलायो

-


     पोखरा क्लिक     
     मंसिर १३ गते २०८३ मा प्रकाशित


पोखरा,

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत रुकुमपश्चिमको चौरझारीमा हालै सम्पन्न शारीरिक सुगठन प्रतियोगितामा चार स्वर्ण पदक जित्दै गण्डकी प्रदेश च्याम्पियन बनेको छ। गण्डकीले चार स्वर्ण, एक रजत र तीन कास्य गरी कुल आठ पदक जित्दै प्रतियोगितामा पहिलो स्थान हासिल गरेको हो।

गण्डकीको सफलतामा चम बहादुर थापा, जिया गुरुङ, फर्सा राम घर्तिमगर र यमन्तराज गुरुङ तथा बिपना कुमालले जोडीले स्वर्ण पदक जित्दै महत्वपूर्ण योगदान दिएका छन्। गण्डकीका तर्फबाट बिपना कुमालले रजत पदक जितिन्। त्यस्तै यमन्तराज गुरुङ, आशा चौधरी,र योक्तराज दुरा ले कास्य पदक हासिल गरेको प्राप्त गरेको गण्डकी शारीरिक सुगठनका अध्यक्ष प्रकाश पौडेलले बताउनु भयो ।गण्डकी प्रदेशका प्रशिक्षक राजेन्द्ररत्न तुलाधरका अनुसार चार स्वर्णसहित आठ पदक जितेर गण्डकीले शारीरिक सुगठनमा उत्कृष्ट प्रदर्शन गरेको हो।

प्रतियोगितामा तीन स्वर्ण, दुई रजत र चार कास्य गरी नौ पदक जितेको नेपाली सेनाको त्रिभुवन आर्मी क्लब दोस्रो भएको छ। त्यसैगरी तीन स्वर्ण, पाँच रजत र दुई कास्य गरी १० पदक जितेको बागमती प्रदेश तेस्रो स्थानमा रह्यो। तीन स्वर्ण र एक रजतसहित चार पदक जितेको सशस्त्र प्रहरी बलको एपीएफ क्लब चौथो भएको छ। दुई स्वर्ण, छ रजत र तीन कास्य गरी ११ पदक जितेको लुम्बिनी प्रदेश पाँचौँ तथा दुई स्वर्ण, एक रजत र दुई कास्य जितेको नेपाल पुलिस क्लब छैटौँ स्थानमा रह्यो। एक स्वर्ण, एक रजत र एक कास्य जितेको कोशी प्रदेश सातौँ, एक रजत र एक कास्य जितेको सुदूरपश्चिम प्रदेश आठौँ तथा दुई कास्य पदक जितेको मधेश प्रदेश नवौँ स्थानमा रहे।

प्रतियोगिताको आयोजक क्षेत्र कर्णाली प्रदेश भने पदकविहीन बनेको छ। शारीरिक सुगठनमा गण्डकीले हासिल गरेको यस सफलताले प्रदेशको खेलकुद विकास र खेलाडीको मेहनतलाई पुनः उजागर गरेको छ। प्रशिक्षक, खेलाडी तथा खेलकुद क्षेत्रका सरोकारवालाले यस उपलब्धिलाई गण्डकी प्रदेशका लागि महत्वपूर्ण सफलताका रूपमा लिएका छन्।