
पोखरा,
सहारा क्लब पोखराले पोखरा महानगरपालिका–१७ दोभिल्लामा सञ्चालन गर्दै आएको सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमीलाई सहयोग आउने क्रम जारी रहेको छ। पछिल्लो पटक सहारा क्लब हङकङका संस्थापक अध्यक्ष दीपक गुरुङको परिवारले एकेडेमीमा आश्रित बालकहरूको पालनपोषण, शिक्षा तथा फुटबल प्रशिक्षणका लागि आर्थिक सहयोग गर्नु भएको छ । दीपक गुरुङ, उहाँकी श्रीमती भद्रकुमारी गुरुङ, छोरा दिपु गुरुङ, छोरी पुजा गुरुङ र नाति निभान गुरुङसहितको परिवारले एकेडेमीको अवलोकन भ्रमण गर्दै सहयोग हस्तान्तरण गर्नु भएको हो ।

सो अवसरमा पोखरा–१५ नयाँगाउँ निवासी तथा हाल हङकङमा रहनुभएका दिपु गुरुङले २६ हजार रुपैयाँ सहयोग गर्नुभएको थियो। त्यसैगरी पोखरा महानगरपालिका–घाचोक निवासी तथा हाल हङकङमा रहनुभएकी छोरी र ज्वाइँ दिपु गुरुङ र नरेश गुरुङका तर्फबाट २५ हजार रुपैयाँ सहयोग प्रदान गर्नु भएको थियो। गुरुङ परिवारले एकेडेमीका बालकहरूलाई फलफूलसमेत वितरण गरेको थियो। यसरी परिवारबाट एकमुष्ट ५१ हजार रुपैयाँ सहयोग प्राप्त भएको क्लबले जनाएको छ। एकेडेमीका बालकहरूसँगको भेटघाटका क्रममा गुरुङ परिवारले उहाँहरूलाई अनुशासित भएर पढ्न, आफ्नो समस्या खुलेर बताउन र आवश्यक सामग्री माग गर्न नहिच्किचाउन आग्रह गर्नुभयो। बालबालिकालाई शिक्षा र खेलकुदमा लगनशील हुँदै आफ्नो भविष्य निर्माण गर्न सुझाव दिँदै उहाँहरुले आफ्ना छोराछोरीलाई पनि सहारा क्लब पोखराजस्ता सामाजिक संस्थालाई सहयोग गर्न प्रेरित गर्नुपर्ने धारणा राख्नु भएको थियो । सहारा क्लब पोखराका पूर्वअध्यक्षद्वय विक्रम थकाली र हरिराम गुरुङले गुरुङ परिवारलाई खादा तथा पुष्पगुच्छाले स्वागत गर्नुभएको थियो। एकेडेमीका संयोजकसमेत रहनुभएकी क्लबकी उपाध्यक्ष विनु रानामगरले स्वागत मन्तव्य राख्नुभएको थियो।
क्लबका अध्यक्ष केशवबहादुर थापाले एकेडेमीमा हाल ३० जना बालकहरू आवासीय रूपमा रहेर शिक्षा तथा फुटबल प्रशिक्षण लिइरहेको जानकारी दिनुभयो। उहाँले एकेडेमी सञ्चालनका लागि स्वदेश तथा विदेशमा रहेका शुभेच्छुक, सहयोगी र विभिन्न सामाजिक व्यक्तित्वबाट सहयोग प्राप्त भइरहेको बताउँदै सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो। अध्यक्ष थापाका अनुसार सहारा एकेडेमीले आर्थिक तथा सामाजिक रूपमा कमजोर पृष्ठभूमिका बालकलाई आवास, शिक्षा र फुटबल प्रशिक्षणको अवसर प्रदान गर्दै आएको छ। बालकहरूको समग्र व्यक्तित्व विकाससँगै खेलकुदका माध्यमबाट भविष्य निर्माण गर्ने उद्देश्यले एकेडेमी सञ्चालन गरिएको उहाँले बताउनुभयो।
कार्यक्रममा क्लबका कोषाध्यक्ष लीलबहादुर थापामगर, कार्यसमिति सदस्य अमर राजभण्डारी, सदस्य देवेन्द्र कायस्थलगायत एकेडेमीका कर्मचारीहरूको उपस्थिति रहेको थियो। सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावनासहित सहारा एकेडेमीलाई प्राप्त हुँदै आएको सहयोगले आश्रित बालकहरूको शिक्षा, पालनपोषण र खेलकुद विकासमा महत्वपूर्ण टेवा पुग्दै आएको क्लबले जनाएको छ।





