
पोखरा,
पोखराको लेकसाइड क्षेत्रमा हुने गरेका ग्याङ फाइट, लुटपाट तथा अन्य आपराधिक गतिविधि नियन्त्रणमा सक्रिय भूमिका निर्वाह गरेका वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) सूर्यबहादुर बोगटी कास्कीका उत्कृष्ट प्रहरी घोषित हुनुभएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीले २०८३ साल कात्तिक महिनाको उत्कृष्ट प्रहरीका रूपमा डीएसपी बोगटीलाई छनोट गरेको हो। प्रहरीको उत्कृष्ट प्रहरी छनोट कार्यविधि, २०८१ अनुसार कार्यसम्पादनको मूल्याङ्कन गर्दै उहाँलाई सम्मान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।बोगटीको नेतृत्वमा लेकसाइड क्षेत्रमा सञ्चालन गरिएको ‘अपरेसन सभ्यता’ अन्तर्गत १९३ जना व्यक्ति र ४९७ वटा सवारीसाधन नियन्त्रणमा लिइएका थिए। पर्यटकीय क्षेत्रको शान्ति सुरक्षा कायम गर्ने तथा आपराधिक गतिविधि न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त अभियानमा उहाँको नेतृत्वदायी भूमिका रहेको थियो।
पोखरामा भएका विभिन्न ग्याङ फाइट र लुटपाटका घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी पक्राउ गर्न तथा उनीहरूलाई कानुनी दायरामा ल्याउन पनि बोगटी सक्रिय रहनुभएको थियो। त्यति मात्र होइन, कारागार तथा सराङकोटस्थित बालसुधार गृहबाट फरार भएका व्यक्तिहरूलाई खोजी गरी पक्राउ गर्ने कार्यमा समेत उहाँले भूमिका निर्वाह गर्नुभएको थियो। लेकसाइडको स्ट्रिट नम्बर ८ स्थित भित्री गल्लीमा सालनालसहित नवजात शिशु मृत अवस्थामा फेला परेको संवेदनशील घटनाको अनुसन्धानमा पनि बोगटी नेतृत्वको प्रहरी टोली सक्रिय बनेको थियो। उक्त घटनामा संलग्न आमालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको थियो।
विभिन्न जटिल आपराधिक घटनाको अनुसन्धान, फरार व्यक्तिको खोजी तथा पक्राउ, अपराध नियन्त्रण र सार्वजनिक सुरक्षा व्यवस्थापनमा पुर्याएको योगदानका आधारमा उहाँलाई महिनाको उत्कृष्ट प्रहरी छनोट गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। पर्यटकीय नगरी पोखराको विशेषगरी लेकसाइड क्षेत्रमा शान्ति सुरक्षा कायम राख्नु प्रहरीका लागि चुनौतीपूर्ण मानिन्छ। यस्तो अवस्थामा अपराध नियन्त्रण, अनुसन्धान र सुरक्षा व्यवस्थापनमा सक्रिय भूमिका खेलेको भन्दै डीएसपी बोगटीलाई जिल्ला प्रहरी कार्यालयले उत्कृष्ट प्रहरीका रूपमा सम्मान गरेको हो।






