विद्युत् महसुलको भ्याटमा सहजीकरण गर्ने सरकारको तयारीः मन्त्री श्रेष्ठ

-


     पोखरा क्लिक     
     मंसिर ११ गते २०८३ मा प्रकाशित


पोखरा,

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् महसुलमा लाग्दै आएको मूल्य अभिवृद्धि कर (भ्याट) का कारण उपभोक्तामाथि परेको आर्थिक भार कम गर्न सरकारले आवश्यक पहल गरिरहेको बताउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीले पोखरामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले विद्युत् महसुलमा लागू गरिएको भ्याट व्यवस्थालाई उपभोक्तामैत्री बनाउने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षको बजेटबाट कार्यान्वयनमा आएको उक्त व्यवस्थाले सर्वसाधारणको खर्च बढाएको सरकारलाई जानकारी रहेको बताउँदै उहाँले आगामी आर्थिक ऐन संशोधनका क्रममा यस विषयलाई सम्बोधन गर्ने प्रयास गरिने स्पष्ट पार्नुभयो । उहाँका अनुसार भ्याटमा सहजीकरण गर्नुका साथै उपभोक्तालाई थप राहत दिन सकिने अन्य विकल्प र विद्युत् महसुलमा जोडिने अतिरिक्त शुल्कका विषयमा समेत मन्त्रालयले अध्ययन तथा छलफल गरिरहेको छ । चालु आर्थिक वर्ष २०८३र८४ को बजेटअनुसार मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने ग्राहकलाई पाँच प्रतिशत भ्याट लाग्ने व्यवस्था गरिएको छ ।

यसैगरी, एउटै नदीमा आवश्यकता र वातावरणीय प्रभावको पर्याप्त मूल्याङ्कन नगरी धेरै जलविद्युत् आयोजनालाई अनुमति दिइएको विषयप्रति पनि मन्त्री श्रेष्ठले चिन्ता व्यक्त गर्नुभयो । विगतमा दिइएका आयोजनाका अनुमतिका कारण नदीको प्राकृतिक बहावमा असर परेको उल्लेख गर्दै उहाँले त्यस्ता गतिविधिलाई व्यवस्थित र नियमन गर्ने काम अघि बढाइएको बताउनुभयो । नदीको प्राकृतिक अस्तित्व र बहाव संरक्षण गर्नुपर्नेमा जोड दिँदै उहाँले कतिपय क्षेत्रमा जलविद्युत् आयोजना सञ्चालनका कारण सामान्य सामाजिक तथा सांस्कृतिक कार्यका लागि समेत खोलामा पर्याप्त पानी नहुने अवस्था सिर्जना भएको बताउनुभयो । विगतमा जथाभावी रूपमा अनुमति दिइएका आयोजनालाई व्यवस्थापन गर्न कानुनी जटिलता रहे पनि मन्त्रालयले उपलब्ध कानुनी व्यवस्थाभित्र रहेर नियमनको प्रयास गरिरहेको उहाँको भनाइ थियो । मन्त्री श्रेष्ठले मन्त्रालयको नेतृत्व सम्हालेपछि नयाँ योजना अघि बढाउनुभन्दा विगतका निर्णय र संरचनामा रहेका कमजोरी सुधार्नु प्रमुख चुनौती बनेको पनि बताउनुभयो । अहिले भने मन्त्रालयका कामकारबाही क्रमशः व्यवस्थित हुँदै गएको उहाँले उल्लेख गर्नुभयो ।

जलविद्युत् आयोजना सञ्चालक र स्थानीय समुदायबीच उत्पन्न हुने विवाद तथा उजुरीको सुनुवाइ गर्ने जिम्मेवारी विद्युत् नियमन आयोगको रहेको स्पष्ट पार्दै उहाँले केही विवाद समाधानको चरणमा पुगेको जानकारी दिनुभयो । राज्य सञ्चालनमा व्यक्ति नभई कानुन र विधिको प्रधानता हुनुपर्ने धारणा राख्दै मन्त्री श्रेष्ठले आयोजना प्रवर्द्धकहरूले स्थानीय समुदायप्रतिको सामाजिक उत्तरदायित्व पूरा गर्नुपर्ने बताउनुभयो । स्थानीय सरकारसँग समन्वय गरेर समुदायको हितमा कार्यक्रम सञ्चालन गर्नु प्रवर्द्धकहरूको दायित्व भएको उहाँको भनाइ थियो ।