एभरेस्ट एफएमले मंसिर १२ गते शनिबार रक्तदान कार्यक्रम गर्ने

-


     पोखरा क्लिक     
     मंसिर ३ गते २०८३ मा प्रकाशित


पोखरा, मंसिर २,

एभरेस्ट मिडिया हाउसको आयोजनामा मंसिरको दोस्रो शनिबार पोखरामा बृहद रक्तदान कार्यक्रम आयोजना हुने भएको छ । एभरेस्ट मिडिया हाउसको छैटौं बार्षिकोत्सवको अवसरमा मिडिया हाउसद्वारा सञ्चालित एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमको आयोजनामा यहि मंसिर १२ गते शनिबार रक्तदान कार्यक्रम हुने भएको हो ।

‘नियमित रक्तदान गरौं, जीवन बचाउने अभियानमा सहभागि बनौं” भन्ने मूलमन्त्रका साथ रेडियो प्राङ्गण पोखरा–५ पस्र्याङमा रक्तदान कार्यक्रम हुने कार्यक्रम संयोजक बरिष्ठ समाचार वाचक शिशिर पौडेलले जानकारी दिए । विहान ७ बजे शुरु हुने रक्तदान कार्यक्रम मध्याह्न १२ बजेसम्म जारी रहने उनले बताए । एभरेस्ट मिडिया हाउसले १७ बर्ष उमेर पुगेका, ६५ बर्ष ननाघेका, ४५ केजी तौल भएका, अघिल्लो पटक रक्तदान गरेको ३ महिना अर्थात ९० दिन पूरा भएका र महिलाको हकमा मासिक रक्तश्राव भएको छैटौं दिन पुगेकाहरुलाई रक्तदानमा सहभागी हुन सक्ने बताएको छ । त्यस्तै, मेजर अपरेसन नगरेका, क्यान्सर, किड्नी ट्रान्स्प्लान्ट नगरेका, ब्लड प्रेसर नर्मल (औषधि खाइरहेको भए पनि बि पि ठिक छ भने दिन मिल्ने भएकाले उनीहरुलाई पनि रक्तदानमा सहभागी हुन मिडियाले आग्रह गरेको छ ।

रक्तदान आफू स्वस्थ रहेको प्रमाणित गर्दै अर्काको जीवन बचाउने अभियान पनि भएको मिडिया हाउसका सम्पादक दीपेन्द्र श्रेष्ठले बताए । उनले भने,‘शरिरमा रक्तकोशिका फेरिने प्रक्रिया भइरहन्छ, अर्थात शरिरका पुराना रक्तकोशिका मर्ने र नया जन्मिने प्रक्रिया निरन्तर हुन्छ । त्यसैले खेर जाने उक्त रगत दान गरेर एक जना बराबर ३ जनासम्मको ज्यान जोगाउन सकिने भएकाले रक्तदानको महत्व धेरै छ ।’ मिडिया हाउसले स्थापना कालदेखि नै वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत नियमित रक्तदानको महत्व र फाईदाबारे सचेतना जगाउने कार्य गर्दै आएको छ । रक्तदान कार्यक्रममा प्रादेशिक रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोग रहनेछ ।