फोनिज युवा पत्रकारिता पुरस्कारको छनोट समिति गठन, संयोजकमा रुद्र श्रीषमगर

-


     पोखरा क्लिक     
     कार्तिक २७ गते २०८३ मा प्रकाशित


पोखरा, कात्तिक २७ ,

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले प्रदान गर्दै आएको मेजर लक्ष्मीप्रसाद र हुमकुमारी गुरुङ एमभिओ बिइएम सेकेन्ड जिआर युवा पत्रकारिता पुरस्कार–२०८३ का लागि छनोट समिति गठन गरेको छ ।

फोनिज गण्डकीका इन्चार्ज रुद्र श्रीषमगरको संयोजकत्वमा गठित समितिको सदस्यमा फोनिज गण्डकीका अध्यक्ष खिमाकुमारी गुरुङ, उपाध्यक्ष सुमन गुरुङ, फोनिज कास्कीका अध्यक्ष बिनु कुमारी थापा र सचिव देविका तामाङ रहनुभएको छ । मेजर लक्ष्मीप्रसाद र हुमकुमारी गुरुङको वैवाहिक वर्षगाँठको अवसर पारेर स्थापना गरिएको उक्त पुरस्कार आदिवासी जनजाति समुदायका क्रियाशील युवा पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदान गरिँदै आएको छ ।

फोनिज कास्कीले २०८२ सालदेखि पुरस्कार प्रदान गर्न सुरु गरेको हो । पहिलो वर्ष कास्कीका क्रियाशील पत्रकार सुमन गुरुङ पुरस्कृत हुनुभएको थियो । आदिवासी जनजातिका हक, अधिकार र पहिचानका सवाललाई पत्रकारितामार्फत उजागर गर्दै कम्तीमा पाँच वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील युवा पत्रकारलाई सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कार स्थापना गरिएको यस पुरस्कार आउँदो मंसिर ३ गते वितरण गरिने फोनिज कास्कीका अध्यक्ष थापाले जानकारी दिनुभयो ।

पुरस्कारका संस्थापक मेजर लक्ष्मीप्रसाद गुरुङ सामाजिक क्षेत्रमा समेत सक्रिय हुनुहुन्छ । उहाँ द गोर्खाज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष, गल्फ संघ कास्की तथा गोर्खा कम्युनिटी कास्की नेपालका संस्थापक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न सामाजिक संघसंस्थामा आबद्ध रहनुका साथै १८ वर्षदेखि गोर्खा अभियान र सामाजिक कार्यमा सक्रिय रहँदै आउनुभएको छ । उहाँले बेलायत र ब्रुनाईमा ४२ वर्ष सेवा गर्नुभएको थियो ।