
पोखरा,
गण्डकी प्रदेश टेनिस संघको आयोजना तथा ट्रायङ्ुलिटी स्पाको मुख्य प्रायोजनमा पोखरामा जारी प्रथम ट्रयाङ्कुलिटी स्पा राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा शुक्रबार फाइनल र सेमीफाइनलका खेलहरु सम्पन्न भएका छन् । प्रतियोगिताको तेस्रो दिन तीन उमेर समुहतर्फका फाइनल खेलहरु सम्पन्न भएको प्रतियोगिताका संयोजक लोक बहादुर गुरूङले जानकारी दिएका छन् ।
प्रतियोगितामा गल्र्सतर्फ निम्ती कुंवरले दोहोरो उपाधि जितिन् । उनले यू१० र यू१२ दुई उमेर समुहमा उपाधि जितिन् । उनले यू१० तर्फको फाइनलमा सहारा कायस्थलाई ६–०, ६–१ ले जित हात पार्दा यू१२ तर्फ ताभिसी रानालाई ६–१, ६–२ ले फाइनलमा हराइन् । यस्तै एक अर्को फाइनलमा यू१६ गल्र्सतर्फ स्वराह थापाले शाल्भी शेरचनलाई ६–४, ६–२ ले हराइन् ।
प्रतियोगिताअन्तर्गत शुक्रबार सम्पन्न फाइनलमा खेलमा यू–१६ ब्वाइजतर्फ असव सम्राट हाडा बिजयी बने । उनले सुरेन्द्र बीकलाई ६–१, ६–१ को सोझो सेटमा पराजित गरे । त्यस्तै यू–१४ ब्वाइजतर्फको सेमीफाइनलमा अभिषेक बयलकोटीले सबिक पोखरेललाई ६–०, ६–१ ले तथा अर्याशराज पौडेलले अनमोल सार्कीलाई ६–०, ६–१ हराउँदै अभिषेक र आयर्शले फाइनलमा भेट पक्का गरे । यू–१२ ब्वाइजतर्फ निधय बीक्रम रानाले सफलता हात पारे । निधयले सेमीफाइलमा सबिक पोखरेललाई ६–०, ७–६ ले पराजित गरी इभान भट्टराई संग भेट पक्का गरेका छन् । इभान भट्टराईले मार्कव पोखरेललाई ७–५, ६–३ ले पराजित गरे । यू–१४ गरल्र्सतर्फ स्वराह थापा र एरा खत्री फाइनलमा भेट पक्का गरेका छन् । सेमीफाइनलमा स्वराहले बोनी एस म्याकलगनलाई ६–०, ६–१ ले तथा एरा खत्रीले ताभिसी राणालाई ६–२, ६–२ ले पराजित गरिन् ।
कात्तिक २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न उमेर समूहका ४३ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । ट्रयाङ्कुलिटी स्पाले मुख्य प्रायोजन गरेको प्रतियोगितामा कर्माचार्य बिस्कुट, सुजल फुड्स प्रालि र सोल्टी मिनरल वाटरले सहकार्य गरेका छन् । ट्रयाङ्कुलिटी स्पा देशकै ठूलो स्पा चेनसमेत हो ।






