पोखरामा भारतीय गोर्खा सैनिकको ऐतिहासिक ग्यालरी स्थापना (भिडियो सहित)

-


     पोखरा क्लिक     
     कार्तिक २० गते २०८३ मा प्रकाशित


दीननाथ बराल,

पोखरा, २० कात्तिक,

पर्यटनको राजधानी पोखरामा भारतीय सेनामा सेवारत गोर्खा सैनिकहरूको वीरता, साहस, त्याग र बलिदानको इतिहास अब पोखरामै अवलोकन गर्न पाइने भएको छ । भारतीय भूतपूर्व सैनिक गोर्खा ब्रिगेड नेपाल, पोखराको पहलमा पोखरास्थित गोर्खा मेमोरियल म्युजियममा भारतीय गोर्खा रेजिमेन्टहरूको ऐतिहासिक ग्यालरी स्थापना गरिएको हो ।

भारतीय सेनाका विभिन्न गोर्खा रेजिमेन्टको गौरवपूर्ण इतिहास, सैनिक योगदान, युद्धका अनुभव तथा वीरताका गाथालाई अभिलेखीकरण गर्दै भावी पुस्तासम्म पु¥याउने उद्देश्यले ग्यालरी स्थापना गरिएको भारतीय भूतपूर्व सैनिक गोर्खा ब्रिगेड नेपालका अध्यक्ष कर्णेल कृष्णबहादुर खत्रीले पोखराक्लिकलाई बताउनु भयो । ग्यालरीको उद्घाटन भारतीय राजदूतावास काठमाडौंका डिफेन्स अट्याची कर्णेल भि.सुब्रमण्यमले गर्नुभएको थियो । समारोहमा बोल्दै कर्णेल सुब्रमण्यमले पोखराका लागि यो ऐतिहासिक उपलब्धि भएको बताउनुभयो । गोर्खा मेमोरियल म्युजियममा भारतीय गोर्खा सैनिकहरूको इतिहासलाई छुट्टै स्थान दिएर ग्यालरी स्थापना गर्न सफल भएकोमा उहाँले अध्यक्ष खत्रीसहित यस अभियानमा संलग्न सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।

उहाँले भारतीय सेनामा गोर्खाली सैनिकहरूले पु¥याएको योगदान अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै भारतमा उहाँहरूको ऐतिहासिक भूमिका र योगदानबारे अझ व्यापक जानकारी र प्रचारप्रसार हुनुपर्नेमा जोड दिनुभयो । पर्यटनको राजधानी पोखरामा नेपाली तथा विदेशी पर्यटकले गोर्खाली सैनिकहरूको अन्तर्राष्ट्रिय पहिचान, इतिहास र योगदानबारे प्रत्यक्ष जानकारी प्राप्त गर्न सक्नु महत्वपूर्ण उपलब्धि भएको उहाँको भनाइ थियो । संग्रहालयमार्फत इतिहासको संरक्षण र नयाँ पुस्तालाई पुर्खाको योगदानबारे जानकारी गराउने कार्य प्रशंसनीय रहेको उल्लेख गर्दै उहाँले तिहारको शुभकामनासमेत व्यक्त गर्नुभयो ।

ग्यालरीमा प्रथम विश्वयुद्धदेखि विभिन्न कालखण्डमा भारतीय सेनाका गोर्खा सैनिकहरूले सहभागी भएका सैनिक अभियान, उनीहरूले प्रदर्शन गरेको अदम्य साहस, वीरता, त्याग र बलिदानसँग सम्बन्धित ऐतिहासिक सामग्री तथा विवरण समेटिएको अध्यक्ष खत्रीले बताउनु भयो । विश्वका विभिन्न युद्ध तथा सैनिक अभियानमा गोर्खाली सैनिकहरूले पु¥याएको योगदान नेपालको राष्ट्रिय पहिचानसँग मात्र सीमित नभई अन्तर्राष्ट्रिय गौरवसँग पनि जोडिएको विषय भएको उहाँको भनाई थियो । पुर्खाहरूले राष्ट्र, कर्तव्य र सेवाका लागि गरेको त्याग तथा बलिदानलाई सम्मान गर्दै उहाँहरुकोे इतिहासलाई जीवन्त राख्नु आजको पुस्ताको महत्वपूर्ण दायित्व भएको आयोजकहरूको भनाइ छ । कार्यक्रममा पिपिओ पोखराका इन्चार्ज कर्णेल चितरञ्जन साहु, मेजर किरण गौड, लक्ष्मण गौड पाटिल, अफिसर इन्चार्ज ईसीएचएस, क्याप्टेन सन्तोष राई, टुआइसी ब्रिटिस गोर्खा नेपाललगायत भारतीय भूतपूर्व सैनिकहरूको उल्लेख्य उपस्थिति थियो ।

ग्यालरीको सामग्री अद्यावधिक तथा व्यवस्थापनमा महत्वपूर्ण योगदान पु¥याउनुभएका क्याप्टेन चोकबहादुर गुरुङलाई कार्यक्रममा सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन भारतीय भूतपूर्व सैनिक गोर्खा ब्रिगेड नेपालका सचिव क्याप्टेन शमशेर गुरुङले गर्नुभएको थियो । कार्यक्रममा कलाकारले नृत्य प्रर्दशन गरी मनोरन्जन समेत दिनु भएको प्रकाश श्रेष्ठले बताउनु भयो ।



This will close in 20 seconds