
दीननाथ बराल,
पोखरा, २० कात्तिक,
तिहारमा फूलमालाको माग बढ्ने समयलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले स्थानीय उत्पादनको बजारीकरणका लागि १७ वटा बिक्री केन्द्र तोकेको छ। महानगरपालिकाले यही कात्तिक २२ गतेदेखि लागू हुने गरी सयपत्री फूलको मूल्य प्रतिकेजी ५०० रुपैयाँ र फूलमाला प्रतिमाला २०० रुपैयाँ निर्धारण गरेको महानगरले पोखराक्लिकलाई जनाएको छ ।
स्थानीय किसानले उत्पादन गरेका फूललाई बजारको सुनिश्चितता गर्ने, उपभोक्तालाई सहज रूपमा फूल उपलब्ध गराउने र तिहारका बेला मूल्यमा हुन सक्ने अस्वाभाविक उतारचढाव नियन्त्रण गर्ने उद्देश्यले महानगरले बिक्री केन्द्र र मूल्य निर्धारण गरेको जनाएको छ। पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाका अनुसार सयपत्री फूलको न्यूनतम समर्थन मूल्य प्रतिकेजी ८५ रुपैयाँ तोकिएको छ। किसानले उत्पादन गरेको फूलको उचित मूल्य सुनिश्चित गर्न न्यूनतम समर्थन मूल्य निर्धारण गरिएको र तिहारमा उपभोक्ता अनावश्यक मूल्यवृद्धिको मारमा नपरून् भन्ने उद्देश्यले बिक्री मूल्यसमेत तय गरिएको उहाँले बताउनुभयो। कडरियाले स्थानीय फूल प्रयोग गरी वातावरण संरक्षण गर्न तथा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न सम्पूर्ण नगरवासीलाई आग्रह गर्नुभएको छ। तिहारमा फूलमालाको माग उच्च हुने भएकाले स्थानीय कृषकको उत्पादनले बजार पाओस् र उपभोक्ताले पनि सहज रूपमा फूल खरिद गर्न सकून् भनेर बिक्री केन्द्रको व्यवस्था गरिएको उहाँको भनाइ छ।
महानगरका १७ स्थानमा फूल किन्न पाइने
महानगरपालिकाले पोखरा महानगरपालिका–१ स्थित देवी पञ्चाङ ज्येष्ठ नागरिक मिलन केन्द्र, टुँडिखेलस्थित पुरानो वडा कार्यालय, पोखरा–२ को संगमचोक कृषि बजार चौतारी, पोखरा–५ को नयाँ वडा कार्यालय परिसर र पोखरा–६ को सुलभ उपभोक्ता सहकारी संस्था लिमिटेडलाई बिक्री केन्द्र तोकेको छ।
त्यसैगरी पोखरा–९ महेन्द्रपुल ९फल्चा०, पोखरा कोसेली घर पृथ्वीचोक, सिद्धार्थचोक ९चौतारी०, पोखरा रंगशाला, किसान बजार–१३, वडा कार्यालय परिसर–१४, किसान बजार–१५, ठूलीपोखरी किसान बजार–१६ र किसान बजार–१९, किसान बजार विरौटा–१७, किसान बजार खुदी–३०, कोट देउराली बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेड ९बेगनास ताल०–३१ तथा कृषि उपज थोक बजार तालचोक–२७ मा फूलको खरिदबिक्री हुने आर्थिक विकास महाशाखा प्रमुख कडरियाले जानकारी दिनुभयो।
प्लास्टिकका फूलमाला प्रयोग नगर्न महानगरको आग्रह

यसैबीच, पोखरा महानगरपालिकाले तिहारमा प्लास्टिकजन्य फूलमाला तथा फूलगुच्छाको बिक्री, वितरण, भण्डारण र प्रयोग नगर्न व्यवसायी तथा उपभोक्तालाई आग्रह गरेको छ। नेपाल सरकारको वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा ६ अनुसार प्लास्टिकजन्य फूलगुच्छाको बिक्री, वितरण तथा भण्डारण निषेध गरिएको व्यवस्था स्मरण गराउँदै महानगरले यसको प्रभावकारी कार्यान्वयनमा सहयोग गर्न अनुरोध गरेको हो। स्थानीय स्तरमै उत्पादन भएका सयपत्री फूलको प्रयोग गर्दा वातावरण संरक्षणसँगै स्थानीय किसानको आम्दानी वृद्धि र स्वदेशी उत्पादनको प्रवर्द्धनमा सहयोग पुग्ने महानगरको विश्वास छ।
तिहारलाई लक्षित गरी महानगरले अघि सारेको यो पहलले स्थानीय किसानलाई बजार उपलब्ध गराउने, उपभोक्तालाई निर्धारित मूल्यमा फूल खरिद गर्ने अवसर प्रदान गर्ने र प्लास्टिकजन्य फूलमालाको प्रयोग घटाउने अपेक्षा गरिएको छ। महानगरले यस वर्ष ‘स्थानीय फूल प्रयोग गरौँ, पर्यावरण बचाऔँ, स्थानीय उत्पादन प्रोत्साहन गरौँ’ भन्ने सन्देशसहित नगरवासीलाई स्थानीय उत्पादनको प्रयोग गर्न आग्रह गरेको छ।






