एनपीएलमा आज जनकपुर र पोखरा बीच भिडन्त, दुवै टोली जितको खोजीमा

-


     पोखरा क्लिक     
     कार्तिक १५ गते २०८३ मा प्रकाशित


काठमाडौं,

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आइतबार (आज) एक खेल हुँदैछ। आजको खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स आमनेसामने हुँदैछन्।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ। जारी प्रतियोगितामा मिश्रित प्रदर्शन गरिरहेका दुवै टोली आजको खेल जित्दै अंकतालिकामा आफ्नो स्थिति सुधार गर्ने लक्ष्यसहित मैदान उत्रनेछन्। जनकपुर बोल्ट्सले प्रतियोगिताको पहिलो खेलमा कर्णाली याक्ससँग पराजय बेहोरेको थियो। तर, दोस्रो खेलमा काठमाडौं गोर्खाजलाई हराउँदै टोलीले पुनरागमन गरेको थियो। दुई खेल खेलेको जनकपुर एक जित र एक हारसहित २ अंक जोडेर अंकतालिकाको पाँचौँ स्थानमा छ।

यता पोखरा एभेन्जर्सले भने प्रतियोगितामा सुखद सुरुवात गर्न सकेको छैन। पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको पोखरा दोस्रो खेलबाट जितको खोजीमा छ। एक खेल खेलेको पोखरा अंकविहीन रहँदै तालिकाको आठौँ अर्थात् अन्तिम स्थानमा छ। आजको खेल पोखराका लागि पहिलो जित निकाल्दै प्रतियोगितामा लय समात्ने अवसर हुनेछ भने जनकपुरका लागि लगातार दोस्रो जित दर्ता गर्दै अंकतालिकामा माथि उक्लिने मौका हुनेछ।

यस्तो छ हालसम्मको अंकतालिका

प्रतियोगितामा हालसम्म प्राप्त नतिजाका आधारमा कर्णाली याक्स अंकतालिकाको शीर्ष स्थानमा रहेको छ। दुई खेल खेलेको कर्णालीले दुवै खेल जित्दै ४ अंक जोडेको छ। त्यस्तै, साविक विजेता लुम्बिनी लायन्स र चितवन राइनोजले समान ३ अंक जोडेका छन्। लुम्बिनीले दुई खेलमा एक जित र एक नतिजाविहीन खेलबाट ३ अंक पाएको छ। चितवनले पनि दुई खेलमा एक जित र एक नतिजाविहीन नतिजासहित ३ अंक जोडेको छ।

विराटनगर किङ्स, जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सले समान २ अंक हासिल गरेका छन्। विराटनगरले तीन खेलमा एक जित र दुई हार बेहोरेको छ। जनकपुरले दुई खेलमा एक जित र एक हार तथा सुदूरपश्चिमले तीन खेलमा एक जित र दुई हारको नतिजा निकालेका छन्। काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्स भने अंकविहीन छन्। काठमाडौंले एक खेल र पोखराले पनि एक खेल खेलेका छन्। दुवै टोलीले आफ्नो पहिलो खेलमा हार बेहोरेका छन्।

हालसम्मको अंकतालिका यसप्रकार छ

१. कर्णाली याक्स — २ खेल, २ जित, ४ अंक

२. लुम्बिनी लायन्स — २ खेल, १ जित, १ नतिजाविहीन, ३ अंक

३. चितवन राइनोज — २ खेल, १ जित, १ नतिजाविहीन, ३ अंक

४. विराटनगर किङ्स — ३ खेल, १ जित, २ हार, २ अंक

५. जनकपुर बोल्ट्स — २ खेल, १ जित, १ हार, २ अंक

६. सुदूरपश्चिम रोयल्स — ३ खेल, १ जित, २ हार, २ अंक

७.काठमाडौं गोर्खाज — १ खेल, १ हार, ० अंक

८. पोखरा एभेन्जर्स — १ खेल, १ हार, ० अंक

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा जारी प्रतियोगिता कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ भने सबै ३२ खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलाइनेछ। प्रतियोगितामा साविक विजेता लुम्बिनी लायन्ससहित सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्सले उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन्।

नेपाली राष्ट्रिय खेलाडी रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेसँगै अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित खेलाडी डेभिड वार्नर, शकिब अल हसन, आन्द्रे रसेल र सिकन्दर राजाजस्ता खेलाडीको सहभागिताले प्रतियोगितालाई थप रोमाञ्चक बनाएको छ।



This will close in 20 seconds