पोखरामा हटएयर बेलुनको सिजन सुरु, दैनिक बिहान र बेलुका ४ वटा फ्लाइट हुँदै

-


     पोखरा क्लिक     
     कार्तिक १० गते २०८३ मा प्रकाशित


दीननाथ बराल,

पोखरा १०, कार्तिक,

पोखरामा साहसिक पर्यटनको आकर्षणका रूपमा स्थापित हट एयर बेलुनको नयाँ सिजन सुरु भएको छ । वर्षायामका कारण रोकिएको व्यावसायिक उडान पुनः सञ्चालनमा आएसँगै पर्यटकको आकर्षण बढ्न थालेको हो । अहिले पोखरामा दैनिक बिहान र बेलुका गरी चारवटा उडान सञ्चालन हुँदै आएको वेलुन नेपालले पोखराक्लिकलाई जनाएको छ ।

यस वर्षको सेप्टेम्बरसम्म करिब ६ सय आन्तरिक तथा बाह्य पर्यटकले हट एयर बेलुनमा उडान गरेको बेलुन नेपालका अध्यक्ष विक्रम बाडेले पोखराक्लिकलाई बताउनु भयो । गत वर्ष सेप्टेम्बरदेखि मेसम्मको पर्यटन सिजनमा मात्रै करिब चार हजार २५० पर्यटकले बेलुन उडानको अनुभव लिएको कम्पनीले जनाएको छ । पोखरामा साहसिक पर्यटनको नयाँ आकर्षणका रूपमा रहेको हट एयर बेलुनमा उडान गर्ने पर्यटकको संख्या पछिल्ला वर्षमा बढ्दै गएको अध्यक्ष बाडेले बताउनु भयो । विशेषगरी पोखरा घुम्न आउने विदेशी पर्यटकसँगै आन्तरिक पर्यटकले पनि आकाशबाट पोखराको दृश्यावलोकन गर्ने नयाँ अनुभवका रूपमा बेलुन उडानलाई रोज्न थालेका छन् । नेपालको पोखरामा व्यावसायिक रूपमा सञ्चालन हुँदै आएको हट एयर बेलुन उडानले यहाँको पर्यटनलाई थप विविधता दिएको छ । ताल, हिमाल र हरियाली डाँडाकाँडाको दृश्य एकैसाथ आकाशबाट अवलोकन गर्न सकिने भएकाले यो गतिविधि पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको व्यवसायीको भनाइ छ ।

बेलुन नेपालका अनुसार बिहान ६ बजेदेखि ९ बजेसम्म र बेलुका ४ बजेदेखि ६ बजेसम्म उडान सञ्चालन गरिन्छ । पोखराको रौरुक तथा महानगरपालिका–१८ खपौदीस्थित पामे क्षेत्रको आकासमा उडान करिब ३० देखि ४० मिनेटको हुन्छ । मौसम अनुकूल हुँदा बेलुनमा सवार पर्यटकले करिब नौ हजार फिटसम्मको उचाइबाट माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला, फेवाताल, पुम्दीकोटस्थित विशाल महादेवको मूर्ति, विश्वशान्ति स्तूप र पोखरा उपत्यकाको मनोरम दृश्य अवलोकन गर्न सक्छन् । उडानका लागि नेपाली नागरिकलाई ११ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । त्यस्तै, सार्क राष्ट्र तथा चिनियाँ पर्यटकका लागि १२० अमेरिकी डलर र अन्य विदेशी पर्यटकका लागि १५० अमेरिकी डलर शुल्क तोकिएको कम्पनीले जनाएको छ । उक्त शुल्कमा लेकसाइडबाट पर्यटकलाई उडानस्थलसम्म लैजाने र उडानपछि फर्काउने पिकअप तथा ड्रप सेवा पनि समावेश छ ।

पोखराको आकाशमा टर्की र भारतका पाइलटले बेलुन उडान सञ्चालन गर्दै आएका छन्। सूर्योदय र सूर्यास्तको समयमा हुने उडानबाट पर्यटकले फेवाताल, वरपरका गाउँबस्ती, हरियाली डाँडाकाँडा र हिमशृङ्खलाको दृश्य अवलोकन गर्न पाउँछन्। मौसम र दृश्यताको अवस्थाले उडानको अनुभव निर्धारण गर्ने भएकाले यसको आकर्षण प्राकृतिक वातावरणसँग पनि जोडिएको छ । पोखराको पर्यटनलाई पदयात्रा, पर्वतारोहण र ताल अवलोकनमा मात्र सीमित नराखी नयाँ साहसिक गतिविधिसँग जोड्ने प्रयासका रूपमा हट एयर बेलुन उडानलाई लिइएको छ । यसको व्यावसायिक सञ्चालनले पर्यटकलाई थप अनुभव प्रदान गर्नुका साथै पोखरामा पर्यटकको बसाइ अवधि बढाउन र पर्यटन व्यवसायलाई विविधीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।



This will close in 20 seconds