पोखराको दसैं महोत्सवमा रमाए विदेशी पर्यटक, कबडी खेलको रौनक भिडियो सहित

-


     पोखरा क्लिक     
     कार्तिक ९ गते २०८३ मा प्रकाशित


जया पौडेल
पोखरा,

नेपालको प्राकृतिक सुन्दरतामा रमाउन आउने विदेशी पर्यटकले पोखरामै नेपाली मौलिक संस्कृति र दसैं पर्वको अनुभव लिन पाएका छन्। कोजाग्रत पूर्णिमाको अवसरमा पोखराको बाराहीघाटमा आयोजित दसैं पर्यटन तथा सांस्कृतिक महोत्सवमा विदेशी पर्यटकले निधारमा टीका र कानमा जमरा लगाएर नेपाली परम्परासँग साक्षात्कार गरेका हुन्।

महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को आयोजनामा भएको महोत्सवले पोखराको पर्यटनलाई हिमाल, ताल, पदयात्रा र साहसिक गतिविधिमा मात्र सीमित नराखी नेपाली संस्कृति, चाडपर्व र परम्परासँग जोड्ने प्रयास गरेको छ। आफ्नो देशमा नेपाली संस्कृति र दसैंका बारेमा सुनेका विदेशी पर्यटकका लागि टीका र जमरा ग्रहण गर्नु नौलो अनुभव बनेको थियो। उनीहरूले नेपालीको आत्मीय स्वागतसँगै मौलिक पर्व मनाउने अवसर पाउँदा खुसी व्यक्त गरेका थिए।

आयरल्यान्डबाट तीन साताअघि नेपाल आएकी इथाले अन्नपूर्ण पदयात्रा पूरा गरेपछि पोखरामा दसैं मनाउने अवसर पाएको बताइन्। अस्ट्रेलियामा नेपालीहरूसँग काम गर्दा दसैंका बारेमा सुनेकी उनले यसपटक नेपाली परम्परालाई नजिकबाट बुझ्ने अवसर पाएको अनुभव सुनाइन्। नेपालको रहनसहन र संस्कृति आफूलाई निकै मन परेको उनको भनाइ थियो। त्यस्तै, क्यानडाका पर्यटक रोमानी र आनाले पनि टीका र जमरा लगाएर नेपाली संस्कृतिको अनुभव लिन पाउँदा खुसी लागेको बताए। उनीहरूले नेपाली समुदायले गरेको आत्मीय स्वागतप्रति आभारसमेत व्यक्त गरे।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्राकृतिक सम्पदासँगै मौलिक संस्कृति पनि पर्यटन प्रवर्द्धनको महत्त्वपूर्ण आधार बन्न सक्ने बताए। उनले कोजाग्रत पूर्णिमामा विदेशी पर्यटकसँग दसैं मनाउने कार्यक्रमलाई आगामी वर्षदेखि महानगरको वार्षिक कार्यतालिकामै समेट्नुपर्ने धारणा राखे। यस्ता गतिविधिले सांस्कृतिक पर्वलाई एक दिनको उत्सवमा मात्र सीमित नराखी पोखराको नियमित पर्यटन गतिविधिका रूपमा स्थापित गर्न सकिने उनको भनाइ थियो। महिला पर्यटन व्यवसायीले सुरु गरेको पहलले नेपाली संस्कृतिको प्रचारप्रसारसँगै पर्यटन क्षेत्रमा महिलाको सक्रियता पनि उजागर गरेको उनले बताए।

कास्कीका प्रमुख जिल्ला अधिकारीले पर्यटन र संस्कृतिको प्रवर्द्धनमा महिलाको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै महोत्सवलाई पर्यटक लक्षित सकारात्मक प्रयासका रूपमा लिए। पर्यटकका लागि आकर्षक र सहज वातावरण बनाउन व्यवसायी, सरकारी निकाय तथा अन्य सरोकारवालाबीच सहकार्य आवश्यक रहेको उनले बताए। नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले यस्ता कार्यक्रमलाई प्रभावकारी बनाउन पर्यटन बोर्ड, आयोजक संस्था र सम्बन्धित निकायबीच समन्वय बढाउनुपर्नेमा जोड दिए। विदेशी पर्यटकले टीका र जमरा लगाएको दृश्यले पोखराको पर्यटनलाई प्रकृतिबाट संस्कृतितर्फ विस्तार गर्ने सम्भावना देखाएको उनले बताए।

पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले पोखराको पर्यटन लामो समयदेखि प्राकृतिक दृश्य, साहसिक गतिविधि र पदयात्रामा केन्द्रित रहँदै आएको उल्लेख गर्दै अब संस्कृति, खानपान, कला र परम्परालाई पनि पर्यटन उत्पादनका रूपमा विकास गर्नुपर्ने बताए। यसबाट पर्यटकको बसाइ अवधि बढाउनुका साथै उनीहरूले गर्ने खर्च स्थानीय अर्थतन्त्रसम्म पुर्‍याउन सहयोग पुग्ने उनको भनाइ थियो।

ओटेफकी अध्यक्ष ममता न्यौपानेले पोखराको पर्यटकीय पात्रोमा दसैंलाई समेट्ने उद्देश्यसहित महोत्सवको सुरुआत गरिएको बताइन्। प्रकृति अवलोकन गर्न आउने पर्यटकलाई नेपाली जीवनशैली र संस्कृतिसँग परिचित गराउन सके पर्यटन प्रवर्द्धन र आर्थिक समृद्धिमा थप योगदान पुग्ने उनले उल्लेख गरिन्। महोत्सव संयोजक तथा ओटेफकी निवर्तमान अध्यक्ष उमा रेग्मी भण्डारीले पर्यटकको बसाइ लम्ब्याउने र नेपाली मौलिक चाडपर्वलाई पर्यटनसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन्।

कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव जमुना वर्षा शर्मा, संस्थापक अध्यक्ष जमुना पराजुली, महिला उद्यमी सीता बराल, महिला सञ्जाल वडा नम्बर ६ की अध्यक्ष बविता मल्ल लगायतले पोखराको पर्यटनलाई सांस्कृतिक पहिचानसँग जोड्न महोत्सवले महत्त्वपूर्ण भूमिका खेलेको धारणा राखेका थिए। महोत्सवमा मालश्री धुन, सांस्कृतिक प्रस्तुति, परम्परागत पिङ र नेपाली खानाका परिकारले पर्यटकको ध्यान खिचेका थिए। कार्यक्रम स्थलसम्म निकालिएको सांस्कृतिक र्‍यालीले पनि पोखराको मौलिकता प्रदर्शन गरेको ओटेफकी महासचिव भावना रानाभाटले जानकारी दिइन्।

महोत्सवसँगै बाराहीघाटमा चहलपहल, खेलकुद प्रतियोगिता समेत
कोजाग्रत पूर्णिमाका अवसरमा हरेक वर्षजस्तै यसपटक पनि पोखराको बाराहीघाट क्षेत्रमा दर्शनार्थी तथा पर्यटकको उल्लेख्य भीड लागेको थियो। हार्ट बजार र दसैं महोत्सवसमेत सञ्चालन हुँदा क्षेत्रमा चहलपहल थप बढेको फेवा डुङ्गा व्यवसायी संगठनका अध्यक्ष बलराम गिरीले बताए। महोत्सवका अवसरमा महिला आमा समूहबीच कबड्डी प्रतियोगिता पनि आयोजना गरिएको थियो। चार समूह सहभागी प्रतियोगिताको फाइनलमा जरेवर उज्ज्वल आमा समूहले अन्नपूर्ण आमा समूहलाई ११–८ अंकले पराजित गर्दै उपाधि जित्यो।

त्यसैगरी, एक सय मिटर महिला दौडमा टिकादेवी न्यौपाने प्रथम र लक्ष्मी न्यौपाने दोस्रो भए। पुरुषतर्फको एक सय मिटर दौडमा वासन पौडेल प्रथम तथा दर्शन केसी दोस्रो बने। सांस्कृतिक कार्यक्रम, परम्परागत खेलकुद र नेपाली चाडपर्वको संयोजनले महोत्सवलाई मनोरञ्जनमा मात्र सीमित नराखी पोखराको पर्यटनमा स्थानीय संस्कृति र समुदायको सहभागिता जोड्ने अवसरका रूपमा प्रस्तुत गरेको छ।



This will close in 20 seconds