नेपाली समाज दोनोस्ती स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख सङ्कलन, विदेशमा पनि दशैं पर्व हर्स उल्लाहासका साथ मनाइयो

-


     पोखरा क्लिक     
     कार्तिक ६ गते २०८३ मा प्रकाशित


पोखरा, ६ कात्तिक,

स्पेनमा रहेको नेपाली समाज दोनोस्तीको सक्रियतामा नेपालका बाढी प्रभावितका लागि २२ लाख रुपैयाँ राहत सङ्कलन गरिएको छ। मातृभूमि नेपाल विपत्तिमा परेका बेला प्रवासमा रहेका नेपालीलाई एकजुट गर्दै समाजको संयोजनमा उक्त रकम सङ्कलन गरिएको हो।

सङ्कलित रकममध्ये आठ लाख चार हजार पाँच सय ५० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ भने बाँकी करिब १४ लाख रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पुगेर प्रत्यक्ष वितरण गर्ने तयारी गरिएको समाजका अध्यक्ष एवं खेलकुदकर्मी अशोक रुम्बा लामाले बताउनु भयो । लायन्स क्लब अफ लेकसाइड पोखराको समन्वयमा स्थानीय सङ्घसंस्थासँग सहकार्य गरी प्रभावित परिवारको वास्तविक आवश्यकता पहिचान गरेर राहत वितरण गरिने उहाँले स्पेनबाट बताउनुभयो।

“मातृभूमि विपत्तिमा परेको बेला हामी सबै जुटौँ, कोही पनि नछुटौँ भन्ने भावनाका साथ दोनोस्तीमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई यस मानवीय अभियानमा जोडिन आह्वान गरेका थियौँ। सबैको सामूहिक प्रयास, सद्भाव र सहयोगका कारण २२ लाख रुपैयाँ सङ्कलन गर्न सफल भएका छौँ,” अध्यक्ष लामाले भन्नुभयो। उहाँका अनुसार राहत अभियानमा नेपाली समुदाय, दोनोस्तीका नेपाली तथा अन्य शुभेच्छुकको उल्लेखनीय सहभागिता रहेको छ। रेन्तेरिया नगरपालिकासहित विभिन्न क्षेत्रका सहयोगीहरूको साथले अभियानलाई सफल बनाउन थप प्रेरणा मिलेको उहाँले बताउनुभयो। “हामी सात समुद्रपारि भए पनि नेपालीको दुःख र पीडाबाट टाढा छैनौँ। अहिले हाम्रो मातृभूमि प्राकृतिक विपत्तिको पीडामा छ। यस्तो बेला मानवता देखाउनु र पीडितको दुःखमा मलम लगाउनु नै सबैभन्दा ठूलो धर्म हो। हाम्रो सानो सहयोगले कसैको घरमा चुलो बल्न सक्छ, कसैका बालबालिकाको आँसु पुछिन सक्छ र विपत्तिमा परेका परिवारलाई फेरि जीवन सुरु गर्ने हिम्मत मिल्न सक्छ,” अध्यक्ष लामाले भन्नुभयो।

लामाले राहत सङ्कलनमा सहयोग गर्ने सम्पूर्ण नेपाली समुदाय, सहयोगदाता तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्नुभएको छ। उहाँले यस अभियानको श्रेय आफूलाई मात्र नभई नेपाली समाज दोनोस्ती र दोनोस्तीवासीलाई जाने बताउनुभयो। विदेशमा रहेर पनि मातृभूमिप्रतिको जिम्मेवारी र मानवीय संवेदना कायम राख्न समाजले गरेको प्रयास सबैका लागि प्रेरणादायी हुने उहाँको भनाइ छ। कराँतेका अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक तथा निर्णायकसमेत रहनुभएका लामा नेपालमा रहँदा पर्यटन व्यवसायमा पनि सक्रिय हुनुहुन्थ्यो। उहाँले होटल दोनोस्ती र प्लाजा अन्नपूर्णलगायतका होटल सञ्चालन गर्नुभएको थियो। हाल स्पेनमा आफ्नै भ्रमण सेवा व्यवसाय सञ्चालन गर्दै आउनुभएका उहाँले हरेक वर्ष नेपालमा पर्यटक पठाउनसमेत योगदान दिँदै आउनुभएको छ। उहाँ स्पेनको ऐतिहासिक पाँचतारे होटल लन्द्रेसमा पनि कार्यरत हुनुहुन्छ।

यसैबीच, नेपाली समाज दोनोस्तीले बडादसैँका अवसरमा स्पेनमा हर्षोल्लासका साथ शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। प्रवासमा रहे पनि नेपाली मौलिक संस्कृति, परम्परा र चाडपर्वलाई निरन्तरता दिने उद्देश्यले आयोजित कार्यक्रममा स्पेनमा बसोबास गर्ने नेपालीहरू भेला भएर एकआपसमा दसैँको शुभकामना साटासाट गरेका थिए। अध्यक्ष लामाको नेतृत्वमा सम्पन्न कार्यक्रममा सहभागीहरूले नेपाली भेषभूषा लगाउनुका साथै विभिन्न नेपाली परिकारको स्वाद लिएका थिए। कार्यक्रममा आपसी सद्भाव, एकता र नेपाली संस्कृतिको संरक्षणका विषयमा समेत जोड दिइएको थियो।

नेपाली समाज दोनोस्तीले विदेशमा रहेका नेपालीबीच एकता, आपसी सहयोग र सांस्कृतिक सम्बन्ध बलियो बनाउँदै आएको छ। चाडपर्वका अवसरमा सांस्कृतिक कार्यक्रम आयोजना गर्नुका साथै मातृभूमिमा विपत्ति आइपर्दा मानवीय सहयोग जुटाउने अभियानसमेत सञ्चालन गर्दै आएको समाजले जनाएको छ। दसैँको खुसी साटासाटसँगै विपत्तिमा परेका नेपालीलाई सहयोग गर्न समाजले देखाएको सक्रियताले प्रवास र मातृभूमिबीचको आत्मीय सम्बन्धलाई थप बलियो बनाएको छ।



This will close in 20 seconds