
पोखरा, असोज ३१,
पर्यटनको राजधानि पोखराबाट भारतको राजधानी नयाँदिल्लीसम्म सीधा सडक यातायात सेवा सञ्चालन गर्दै आएको मोर्डन इरा टुर्स एण्ड ट्राभल्स प्रा.लि.ले विभिन्न बाधा–अवरोध र चुनौतीको सामना गर्दै आफ्नो व्यावसायिक यात्राको १८ वर्ष पूरा गरी १९औँ वर्षमा प्रवेश गरेको छ। ‘हाम्रो साथ, सुरक्षित यात्रा, समृद्ध भविष्य’ भन्ने मूल नाराका साथ कम्पनीले शुक्रबार पोखरा इभेन्ट सेन्टर, बुलौदीमा स्थापना दिवस तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।

स्थापना दिवसका अवसरमा कम्पनीले उत्कृष्ट सेवा प्रदान गर्ने कर्मचारी दाताराम उपाध्याय र बलराम लामिछानेसहित चालक तथा सहचालकलाई नगद पुरस्कार प्रदान गरी सम्मान गरेको कम्पनीले पोखराक्लिकलाई जनाएको छ । स्थापना दिवसका अवसरमा कम्पनीका अध्यक्ष केशव अधिकारीले यातायात व्यवसाय सञ्चालनका क्रममा अनेकौँ कठिनाइ, अवरोध र चुनौतीको सामना गर्नुपरे पनि यात्रुलाई सुरक्षित तथा गुणस्तरीय सेवा दिने उद्देश्यबाट पछि नहटेको बताउनु भयो। निरन्तरको प्रयास, यात्रुको विश्वास र सेवाप्रतिको प्रतिबद्धताले कम्पनीलाई यहाँसम्म ल्याइपुर्याएको उहाँको भनाइ थियो।

अध्यक्ष अधिकारीले आफूले स्थापना कालदेखि नै कम्पनीको नेतृत्व गर्दै आएको उल्लेख गर्दै लामो समयसम्म एउटै जिम्मेवारीमा रहेर संस्थालाई अघि बढाउनु सहज नभएको अनुभव सुनाउनुभयो। नेतृत्वको जिम्मेवारी हस्तान्तरण गर्न वा केही समय विश्राम लिनसमेत नपाएको बताउँदै उहाँले विभिन्न चुनौतीबीच कम्पनीले व्यावसायिक पहिचान र सफलता हासिल गरेकोमा सन्तुष्टि व्यक्त गर्नुभयो। पोखरा–दिल्ली बस सेवाले यात्रुबाट राम्रो प्रतिक्रिया पाएपछि उनीहरूकै मागअनुसार काठमाडौं–दिल्ली बस सेवा विस्तार गरिएको अधिकारीले जानकारी दिनुभयो। उक्त सेवा सञ्चालनका लागि जगदम्बा कम्पनीसँग सहकार्य गरिएको उहाँले बताउनुभयो। नयाँ सेवाले नेपाल र भारतका प्रमुख सहरबीचको सडक यातायात सम्पर्कलाई थप सहज बनाउनुका साथै विद्यार्थी, बिरामी, रोजगारीका लागि आवतजावत गर्ने व्यक्ति र पर्यटकलाई लाभ पुग्ने अपेक्षा गरिएको छ।
पोखरालाई आधार बनाएर अन्तरदेशीय सडक यातायातमा सेवा दिँदै आएको मोर्डन इराले करिब दुई दशकको यात्रामा यात्रुको आवश्यकता र बदलिँदो समयअनुसार सेवा विस्तार गर्दै आएको छ। यात्रुलाई सहज, सुरक्षित र स्तरीय यात्रा अनुभव प्रदान गर्ने लक्ष्यसहित कम्पनीले आफ्नो सेवा र व्यवस्थापनलाई निरन्तर सुधार गर्दै आएको जनाइएको छ। कार्यक्रमका प्रमुख अतिथि अग्रज यातायात व्यवसायी तथा सामाजिक व्यक्तित्व महेश शर्मा लामिछानेले यातायात क्षेत्रमा आफूले गरेको लगानी र प्राप्त सन्तुष्टिबारे अनुभव सुनाउँदै धैर्य, अनुशासन र आर्थिक व्यवस्थापनलाई व्यावसायिक सफलताको महत्त्वपूर्ण आधारका रूपमा प्रस्तुत गर्नुभयो।
‘कमाउनु मात्र ठूलो कुरा होइन, कमाएको जोगाउनु पनि ठूलो कुरा हो। आयव्ययको श्रेस्ता व्यवस्थित राख्न सक्नुपर्छ,’ उहाँले भन्नुभयो। वि।सं। २०३७ सालमा पाँच हजार रुपैयाँको पुँजीबाट यातायात व्यवसाय सुरु गरेको स्मरण गर्दै लामिछानेले लामो व्यावसायिक यात्राबाट आफू सन्तुष्ट रहेको बताउनुभयो। व्यवसायमा सफलता प्राप्त गर्न निरन्तरता, धैर्य र अनुशासन आवश्यक हुने उहाँको अनुभव थियो। आफ्ना समकालीन व्यवसायी मित्र स्वर्गीय द्रोणराज अधिकारीलाई गुमाउनुपर्दाको पीडा व्यक्त गर्दै उहाँले ७५ वर्षको उमेरमा स्वस्थ जीवन बिताइरहँदा पनि पुरानो साथीको अभावले दुःख लागिरहने बताउनुभयो। उहाँको भनाइले कार्यक्रमलाई भावुक बनाएको थियो। कम्पनीका संस्थापक सञ्चालक तथा बोर्ड अफ डाइरेक्टर दामु अधिकारीले मोर्डन इरा टुर्स एण्ड ट्राभल्सको स्थापनादेखि वर्तमान अवस्थासम्मका उतारचढाव, संघर्ष र उपलब्धिबारे चर्चा गर्नुभयो। विभिन्न परिस्थितिको सामना गर्दै संस्थाले हासिल गरेको प्रगति सामूहिक प्रयास र निरन्तर कामको परिणाम भएको उहाँको भनाइ थियो।
पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष एनकुमार साईले मोर्डन इरा टुर्स एण्ड ट्राभल्सले विद्यार्थी तथा बिरामीलाई यातायात सेवा उपलब्ध गराएर महत्त्वपूर्ण योगदान पुर्याएको बताउनुभयो। यातायात सेवा केवल व्यावसायिक आम्दानीको माध्यम मात्र नभई नागरिकको दैनिक जीवनसँग जोडिएको आवश्यक सेवा पनि भएकाले यसको गुणस्तर र सहजतामा ध्यान दिनुपर्ने उहाँको भनाइ थियो। पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लि. पूर्वअध्यक्ष योगेन्द्र केसीले यातायात क्षेत्रमा लगानीको सुरक्षा सुनिश्चित गर्नु चुनौतीपूर्ण भए पनि व्यवसायीले सुविधासम्पन्न यातायात सेवा विस्तारमा साहसिक लगानी गरिरहेको बताउनुभयो। यात्रुलाई स्तरीय सेवा उपलब्ध गराउन व्यवसायीले गरेको प्रयासको उहाँले प्रशंसा गर्नुभयो।
पत्रकार रामकृष्ण ज्ञवालीले पछिल्ला वर्षमा यातायात व्यवसायीले सेवा र सुविधाको गुणस्तरमा सुधार गर्दै लगेको बताउनुभयो। विगतमा यातायात क्षेत्रमा लाग्ने गरेको सिन्डिकेटसम्बन्धी आरोपलाई सेवामा आएको सुधारले कमजोर बनाउँदै लगेको उहाँको धारणा थियो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका केन्द्रीय सचिव उमेश केसीले कम्पनीको सेवा र गुणस्तरमा आएको परिवर्तन प्रशंसनीय रहेको बताउनुभयो। यात्रुको विश्वास कायम राख्न सेवा विस्तारसँगै सुरक्षित यात्रा, समयपालना र यात्रुमैत्री व्यवहारलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो। कम्पनीका सञ्चालक तथा अग्रज व्यवसायी गणेश शर्माको संयोजनमा सम्पन्न कार्यक्रमको सञ्चालन इन्जिनियर सुविधा शर्माले गर्नुभएको थियो।





