
दीननाथ बराल,
पोखरा, २७ असोज,
फेवातालको संरक्षणमा प्रभावकारी कदम नचालिए पोखराको पर्यटन, पर्यावरण र तालमा आश्रित जलारी समुदायको जीविकोपार्जन समेत संकटमा पर्न सक्ने सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । तालमा बढ्दो प्रदूषण, वर्षायाममा बगेर आउने गेग्रान तथा ढुङ्गा, गिटी र बालुवाको थुप्रो नियन्त्रण गर्न सरकार गम्भीर बन्नुपर्ने उहाँहरुको माग छ ।
फेवाताल संरक्षण एवं सौन्दर्यीकरणमा सामाजिक अभियन्ताहरूको भूमिका विषयक अन्तरक्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी वक्ताहरूले तालको संरक्षणलाई साझा दायित्वका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका हुन् । नागरिक समाज कास्की तथा वातावरण संरक्षणका लागि महाअभियानको आयोजनामा पोखरा–१८ खपौंदीस्थित जलारी समुदायको सहकारी भवनमा आयोजित कार्यक्रममा वोल्दै नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले फेवाताल संरक्षणका लागि सरकारले दीर्घकालीन योजना बनाएर प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । ताल संरक्षण गर्ने पहिलो दायित्व सरकारको भए पनि नागरिक र सञ्चारमाध्यमले पनि निरन्तर खबरदारी गर्नुपर्ने उहाँको भनाइ थियो । पत्रकारिताका माध्यमबाट फेवाताल संरक्षणका सवाल उठाउँदै आएको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि तालको संरक्षण, प्रदूषण नियन्त्रण र सरकारी जिम्मेवारीका विषयमा खबरदारी जारी रहने बताउनुभयो ।
पत्रकार कृष्णमणि बरालले फेवातालमा प्रदूषण बढ्दै गएको र वर्षायाममा माथिल्लो क्षेत्रबाट बगेर आउने गेग्रान, गिटी, ढुङ्गा र बालुवाले ताल पुरिँदै गएको बताउनुभयो । तालको दीर्घकालीन संरक्षणका लागि माथिल्लो जलाधार क्षेत्रमा साना–साना सिल्ट्रेसन ड्याम तथा पानी र गेग्रान थिग्रिने पोखरी निर्माण गर्नुपर्ने उहाँको सुझाव थियो । तालमा बगेर आउने गेग्रान र अन्य प्रदूषित वस्तु नियन्त्रण गर्न माथिल्लो क्षेत्रमै प्रभावकारी संरचना निर्माण गर्नुपर्ने बताउँदै उहाँले संरक्षणका विषयमा सरकारको पर्याप्त चासो नदेखिएको टिप्पणी गर्नुभयो । फेवातालको अस्तित्व जोगाउन सरकारी निकायलाई निरन्तर खबरदारी गर्दै नागरिक तहबाट समेत सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ थियो ।
वातावरण संरक्षणका लागि महाअभियानका संयोजक रामबहादुर पौडेलले फेवातालको संरक्षण सबै नागरिकको दायित्व भएको बताउनुभयो । फेवाताल मानव जीवनसँग मात्रै नभई जलचर, स्थलचर तथा समग्र जैविक विविधताको अस्तित्वसँग जोडिएको प्राकृतिक सम्पदा भएको उहाँको भनाइ थियो । तालको संरक्षणलाई तत्कालीन अभियानमा मात्रै सीमित नगरी दीर्घकालीन योजनासहित अघि बढाउनुपर्नेमा जोड दिँदै उहाँले यसको संरक्षणमा सरकार, नागरिक समाज, स्थानीय समुदाय र सरोकारवाला सबै एकजुट हुनुपर्ने बताउनुभयो । फेवाताल पोखराको प्राकृतिक पहिचान र पर्यटनको प्रमुख आधार भएकाले यसको संरक्षणमा हुने बेवास्ताले समग्र पोखरालाई नै असर पार्न सक्ने उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा सहभागी विभिन्न सामाजिक सङ्घसंस्था तथा आमा समूहका प्रतिनिधिहरूले फेवाताल संरक्षण हुन नसके तालमा आश्रित जलारी समुदायको परम्परागत पेसा र जीविकोपार्जनसमेत प्रभावित हुने चिन्ता व्यक्त गरे । फेवाताल जलारी समुदायको जीवनशैली, संस्कृति र रोजीरोटीसँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै उनीहरूले तालको संरक्षणलाई वातावरणीय मुद्दाका रूपमा मात्रै नभई स्थानीय समुदायको जीवन र भविष्यसँग सम्बन्धित विषयका रूपमा लिनुपर्ने बताए । तालको प्राकृतिक अवस्था बिग्रँदै जाँदा जलचरको बासस्थान र माछाको उपलब्धतामा समेत असर पर्न सक्ने भएकाले तालको स्वच्छता कायम राख्न र प्रदूषण नियन्त्रण गर्न सम्बन्धित निकायले समयमै कदम चाल्नुपर्ने उनीहरूको माग थियो । त्यसैगरी पोखरा महानगरपालिका–५ की वडा सदस्य कल्पना क्षेत्री र वडा नम्बर ६ की वडा सदस्य शोमा जलारीले पनि ताल संरक्षणमा स्थानीय समुदायको सहभागिता र सम्बन्धित निकायको जिम्मेवारीबारे जोड दिनुभएको थियो ।
कार्यक्रममा खहरे आमा समूहकी अध्यक्ष अञ्जना पहारी, ड्यामसाइड टोल विकास संस्थाकी पूर्वअध्यक्ष शोभा श्रेष्ठ, मितेरी नारी समुहका कोषाध्यक्ष मालती अधिकारी, सूचनाको हक महानगर सञ्जालका संयोजक अनिल थापा, जलारी दिदीबहिनी समूहकी अध्यक्ष मीना जलारी तथा फेवातालमा आश्रित जलारी समुदायका अध्यक्ष ज्ञानबहादुर जलारी लगायतले ताल संरक्षणका विषयमा आफ्ना धारणा राख्नुभएको थियो । नागरिक समाज कास्कीका संयोजक नरेन्द्रमान लालचनले धन्यवाद ज्ञापनसहित कार्यक्रम समापन गर्नुभएको थियो । कार्यक्रमको संचालन दुर्गा शर्माले गर्नु भएको थियो ।





