
पोखरा, १८ असोज,
पोखरा महानगरपालिका वडा नं. २२ मा स्थानीयवासीलाई लक्षित गरी आयोजना गरिएको निःशुल्क मधुमेह तथा मिर्गौला परीक्षण एवं स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा ११० भन्दा बढी स्थानीयवासी सहभागी भई विभिन्न स्वास्थ्य परीक्षण तथा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परामर्श सेवा लिएका छन्।

पोखरा महानगरपालिका वडा नं। २२ कार्यालयको आयोजना तथा वडा युवा परिषद्–२२ को सहआयोजनामा, पोखरा महानगरपालिका नगर युवा परिषद्को समन्वय तथा नेशनल प्याथ ल्याब अनुसन्धान केन्द्रको प्राविधिक सहयोगमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा प्रगतिशील टोल विकास संस्थाको समेत सहयोग रहेको थियो। कार्यक्रममा सहभागी स्थानीयवासीको रक्तचाप, रक्त परीक्षण, मधुमेह लगायतका स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणसँगै विशेषज्ञ चिकित्सकबाट सहभागीलाई स्वास्थ्यसम्बन्धी आवश्यक परामर्शसमेत प्रदान गरिएको थियो।
कार्यक्रममा कन्सल्टेन्ट नेफ्रोलोजिस्ट तथा मिर्गौला प्रत्यारोपण फिजिसियन डा. जुजुराज श्रेष्ठ र विशेषज्ञ फिजिसियन डा। राजेन्द्र पौडेलले स्वास्थ्य परीक्षणका आधारमा सहभागीलाई आवश्यक स्वास्थ्य परामर्श प्रदान गर्नुभएको थियो। कार्यक्रममा पोखरा महानगरपालिका वडा नं। २२ का वडा अध्यक्ष हिमलाल बराल, वडा सदस्य कृष्णकुमारी देवकोटा, पोखरा महानगरपालिका नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष न्यौपाने, पोखरा महानगरपालिका नगर खेलकुद विकास समितिका कार्यकारी सचिव सुरज अधिकारी, वडा युवा परिषद्–२२ का अध्यक्ष तथा कार्यक्रम संयोजक दिनेश बराल, महिला स्वास्थ्य स्वयंसेविका, टोल विकास संस्थाका प्रतिनिधि, क्लब, आमा समूह तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता प्रगतिशील टोल विकास संस्थाका अध्यक्ष हेमराज बरालले गर्नुभएको थियो भने सञ्चालन युवराज लामिछानेले गर्नुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष हिमलाल बरालले मधुमेह तथा मिर्गौलासम्बन्धी स्वास्थ्य परीक्षण समयमै गराउनु आवश्यक रहेको बताउनुभयो। विशेषगरी मधुमेह परीक्षणमा खाना खानुअघि र खाना खाइसकेपछि गरिने परीक्षणसमेत आवश्यक पर्ने भएकाले स्थानीयवासीलाई टाढा स्वास्थ्य संस्थासम्म पुग्न असहज हुने अवस्थालाई ध्यानमा राखेर टोलमै स्वास्थ्य सेवा पुर्याउन कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो। “स्वास्थ्य परीक्षणका लागि टाढा जानुपर्ने अवस्थालाई कम गर्दै स्थानीयवासीको पहुँचमै स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले टोलमै कार्यक्रम आयोजना गरिएको हो,” वडा अध्यक्ष बरालले भन्नुभयो। उहाँले वडा नं। २२ का विभिन्न टोलमा क्रमशः यस्ता स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिने जानकारी दिँदै स्थानीयवासीलाई आफ्नो स्वास्थ्यप्रति सचेत रहन र समयमै स्वास्थ्य परीक्षण गराउन आग्रह गर्नुभयो। त्यस्तै, वडा युवा परिषद्–२२ का अध्यक्ष तथा कार्यक्रम संयोजक दिनेश बरालले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गर्नुभयो।
उहाँले वडा कार्यालय, नगर युवा परिषद्, प्राविधिक सहयोगी संस्था, चिकित्सक तथा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, टोल विकास संस्था, स्वयंसेवक तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि वडा नं। २२ का विभिन्न भेग तथा टोलमा कार्यक्रम विस्तार गर्ने बताउनुभयो। “स्वास्थ्य सेवा सबैको सहज पहुँचमा पुर्याउने हाम्रो उद्देश्य हो। आगामी दिनमा पनि वडाका विभिन्न टोलमा यस्ता कार्यक्रम सञ्चालन गरी अधिकभन्दा अधिक वडावासीलाई स्वास्थ्य परीक्षण तथा विशेषज्ञ परामर्श सेवा उपलब्ध गराउने योजना छ,” उहाँले भन्नुभयो। परिषदले उक्त स्वास्थ्य शिविरको सुरुवात भई केही ठाउँमा पुनः स्वास्थ्य शिविर आयोजना गर्ने तयारी गरेको अध्यक्ष बरालले पोखराक्लिकलाई बताउनुभयो।
कार्यक्रमका आयोजकका अनुसार मधुमेह तथा मिर्गौलासम्बन्धी समस्या समयमै पहिचान गर्न सके स्वास्थ्यमा जटिलता आउनुअघि नै आवश्यक सावधानी अपनाउन सकिन्छ। त्यसैले स्थानीयस्तरमै नियमित स्वास्थ्य परीक्षण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालनलाई निरन्तरता दिने बताइएको छ।






