नवौँ विश्वकर्मा भलिबल कप सुरु, उद्घाटन खेलमा पोखरा–७ र दाजुभाइ क्लब विजयी

-


     पोखरा क्लिक     
     असाेज १ गते २०८३ मा प्रकाशित


पोखरा,

विश्वकर्मा समाज नेपाल, केन्द्रीय कार्यालय कास्कीको आयोजनामा नवौँ विश्वकर्मा भलिबल कप–२०८३ वार्डस्तरीय खुला भलिबल प्रतियोगिता सुरु भएको छ। पोखरा रंगशालामा बिहीबार आयोजित समारोहबीच गण्डकी प्रदेश सभामुख कृष्णप्रसाद धितालले भगवान् विश्वकर्माको तस्वीरमा दीप प्रज्वलन तथा माल्यार्पण गरी प्रतियोगिताको उद्घाटन गर्नुभएको हो।

उद्घाटन समारोहमा बोल्दै सभामुख धितालले खेलकुदले मानिसलाई स्वस्थ, अनुशासित र सकारात्मक जीवनशैलीतर्फ अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। विश्वकर्मा पूजाको अवसरमा आयोजना गरिएको प्रतियोगिताले खेलाडीको क्षमता विकाससँगै सामाजिक एकता, सद्भाव र आपसी सम्बन्ध मजबुत बनाउन योगदान पुर्‍याउने उहाँको भनाइ थियो। कार्यक्रमकी विशिष्ट अतिथि गण्डकी प्रदेश सभाकी सामाजिक विकास तथा कृषि समिति सभापति दमयन्ती रुचालले खेलकुद स्वास्थ्य, व्यक्तित्व विकास र राष्ट्रको पहिचान निर्माणको महत्वपूर्ण माध्यम भएको बताउनुभयो। खेलकुद क्षेत्रको विकासका लागि राज्य तथा सम्बन्धित निकायबाट निरन्तर लगानी र प्रोत्साहन आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो।

गण्डकी प्रदेश सभा सदस्य नन्दकला नेपालीले आगामी प्रतियोगितामा महिला खेलाडीको सहभागिता बढाउनुपर्नेमा जोड दिनुभयो। महिला खेलाडीलाई समान अवसर प्रदान गर्न सके प्रतियोगिता अझ समावेशी बन्ने उहाँको भनाइ थियो। विश्वकर्मा समाज नेपालका संस्थापक अध्यक्षले समाजको संस्थागत इतिहास र पहिचानलाई कायम राख्दै नयाँ नेतृत्वले संस्थाको उद्देश्यअनुसार काम गर्नुपर्ने बताउनुभयो।

कार्यक्रममा समाजका उपाध्यक्ष बेलबहादुर विक घिमिरेले स्वागत मन्तव्य दिनुभएको थियो। अध्यक्षता समाजका अध्यक्ष बेलबहादुर विश्वकर्माले गर्नुभएको थियो भने सञ्चालन सचिव तथा प्रवक्ता शरणसिंह विश्वकर्माले गर्नुभएको थियो। प्रतियोगिताको उद्घाटन दिन दुई खेल सम्पन्न भएका छन्। पहिलो खेलमा पोखरा–१६ ले फलेबास–७ लाई सोझो सेटमा पराजित गरेको छ। दोस्रो खेलमा दाजुभाइ क्लब गल्याङले पोखरा–१३ लाई हराएको आयोजकले जनाएको छ। वर्षाका कारण बिहीबारका अन्य खेल स्थगित भएका छन्। स्थगित खेल शुक्रबार बिहान ८ बजेदेखि पुनः सञ्चालन गरिनेछ। विश्वकर्मा पूजाको अवसरमा आयोजना गरिएको प्रतियोगिताको समापन असोज ३ गते गर्ने तयारी छ।