
दीननाथ बराल,
पोखरा, २४ भदौ,
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धार एवं पुनस्थापनाका लागि पोखराका चार महिला उद्यमीले संचालन गरेको मन्त्र थकालीले २१ लाख एक हजार ११ रुपैयाँ आर्थिक सहयोग गरेको छ । पोखराको न्यूरोडबाट करिब १८ वर्षअघि सुरु भएको मन्त्र थकालीका सञ्चालक नमिता शेरचन भट्टचन, रोश्नी तुलाचन शेरचन, विनिता गौचन र तृष्णा शेरचनले संयुक्त रूपमा उक्त रकम सहयोग गर्नुभएको मन्त्र थकालीले पोखराक्लिकलाई जनाएको छ ।

उहाँहरूले केही दिन अघि नेपाल सरकारका अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्दै सरकारको राहत अभियानमा सहयोग गर्नु भएको हो । भोटेकोशी बाढीले ठूलो जनधनको क्षति पु¥याएको घटनाले आफूहरूलाई समेत गहिरो दुःख लागेको उल्लेख गर्दै चारै जना उद्यमीले विपद्को समयमा आफूहरूले सक्दो सहयोग गर्न पाउँदा गर्व महसुस भएको बताउनुभयो । उद्यमी नमिता शेरचनले आफूहरू चार जना आमा भएकाले प्राकृतिक विपत्तिबाट पीडित नेपाल आमाको दुःखमा सानो भए पनि सहयोग गर्न पाउनु आफ्ना लागि विशेष अवसर भएको बताउनुभयो । ‘हामीले कमाएको केही रकम यसरी सरकारलाई अप्ठ्यारो परेको बेला नेपाल आमालाई सहयोग गर्ने अभियानमा जोड्न पायौँ, यसका लागि हामी आभारी छौँ,’ उहाँले भन्नुभयो ।
करिब १८ वर्षअघि पोखराको न्यूरोडबाट सुरु भएको मन्त्र थकालीले अहिले आफ्नो सेवा पोखराको लेकसाइडसँगै काठमाडौँको झम्सीखेल र महाराजगञ्जसम्म विस्तार गरेको छ । परम्परागत थकाली खानाको प्रवद्र्धन गर्दै व्यवसाय सञ्चालन गरिरहेको संस्थाले हाल करिब १५० जनालाई प्रत्यक्ष रोजगारीसमेत दिएको सञ्चालकहरूले बताउनुभयो । व्यवसायबाट प्राप्त आम्दानीको केही हिस्सा सामाजिक क्षेत्रमा खर्च गर्ने अभ्यास विगतदेखि नै गर्दै आएको नमिताले बताउनुभयो । आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका गतिविधिलाई निरन्तरता दिने उहाँको भनाइ छ । ‘सबैको साथ र मायाका कारण पोखराको न्यूरोडबाट सुरु भएको हाम्रो मन्त्र थकाली आज चारवटा आउटलेटसम्म विस्तार गर्न सफल भएको छ,’ उहाँले भन्नुभयो, ‘हामीले आर्जन गरेको नाफाको केही हिस्सा सामाजिक क्षेत्रमा विगतदेखि नै लगाउँदै आएका छौँ र आगामी दिनमा पनि यसलाई निरन्तरता दिनेछौँ । यसको श्रेय हाम्रा भगवानरूपी ग्राहक वर्गलाई पनि जान्छ ।’
भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षतिले आफूहरूलाई समेत पीडित बनाएको अनुभूति भएको बताउँदै नमिताले उक्त रकमलाई विपत्तिको समयमा गरिएको सानो सहयोगको प्रयासका रूपमा लिन आग्रह गर्नुभयो । उहाँले विपद्मा परेका नागरिकको उद्धार तथा राहतका लागि आ–आफ्नो क्षमताअनुसार सहयोग गर्न अन्य व्यक्ति, व्यवसायी तथा संघसंस्थालाई समेत आग्रह गर्नुभयो । पोखरा क्षेत्रका यस्ता मनकारी उद्यमी एवं व्यवसायीहरुले मन खुलेर सहयोग गर्दा पोखरा क्षेत्रबाट करोडौं रुपैया राहत कोषमा जम्मा भएको छ भने केही व्यक्ति तथा संघ संस्थाबाट राहत सामाग्रि समेत संकलन र वितरण समेत हुदै आएको छ । सरकारी तथा गैर सरकारी एवं व्यवसायीहरुले आफ्नो सामाजिक उत्तरदाहित्व बहन गर्दै राज्यको अभियानमा जोडिनु भएको छ । यसैबिच, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब जम्मा भएको सरकारले जनाएको छ ।



