
पोखरा,
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहतका लागि पोखरा–१६, बाटुलेचौरस्थित प्रगति माध्यमिक विद्यालयले सात लाख एक सय ३१ रुपैयाँ सहयोग गरेको छ। विद्यालय परिवार, शिक्षक, कर्मचारी तथा विद्यार्थीको सहभागितामा संकलन गरिएको उक्त रकम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) कास्कीमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ।
विद्यालयका सूचना अधिकारी जयराम पौडेलका अनुसार राहत अभियानअन्तर्गत विद्यार्थीबाट एक लाख ९१ हजार १६६ रुपैयाँ संकलन भएको थियो। शिक्षक तथा कर्मचारीबाट दुई लाख ७३ हजार ९६५ रुपैयाँ, विद्यालयको च्यारिटी कोषबाट ७५ हजार रुपैयाँ र विद्यालय सञ्चालकबाट एक लाख ६० हजार रुपैयाँ सहयोग प्राप्त भएको हो। यसरी विभिन्न स्रोतबाट जम्मा सात लाख एक सय ३१ रुपैयाँ संकलन भएको पौडेलले जानकारी दिनुभयो।
विपद्को घडीमा प्रभावित नागरिकको साथमा उभिनु विद्यालयको सामाजिक तथा मानवीय दायित्व भएको विद्यालयले जनाएको छ। विद्यालयले आर्थिक सहयोगसँगै बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जलीसमेत अर्पण गरेको छ। सोमबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यालय सञ्चालक, शिक्षक, कर्मचारी तथा विद्यार्थीले दीप प्रज्वलन गरी बाढीमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए। सहभागीले दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै प्रभावित परिवारप्रति समवेदना प्रकट गरेका थिए। विद्यालयले राहत सहयोग र श्रद्धाञ्जली कार्यक्रममार्फत विपद्का बेला मानवीय संवेदना र सामाजिक उत्तरदायित्वप्रति विद्यालय परिवारको प्रतिबद्धता प्रस्तुत गरेको जनाएको छ।



