
दीननाथ बराल,
पोखरा, २४ भदौ,
पोखरामा आज ट्रकको ठक्करबाट मृत्यु भएका मोटरसाइकल चालकको पहिचान खुलेको छ। दुर्घटनामा मृत्यु हुनेमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ का २५ वर्षीय नवराज दर्जी रहेको प्रहरीले पोखराक्लिकलाई जनाएको छ।
पोखरा महानगरपालिका–१० बुद्धचोकस्थित पृथ्वी राजमार्गमा बुधबार दिउँसो ट्रकको ठक्करबाट गम्भीर घाइते भएका दर्जीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । बुधबार दिउँसो १२ः५० बजे पृथ्वीचोकबाट अमरसिंहचोकतर्फ जाँदै गरेको ना ५ ख ८२४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ग ७ प २८२ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ट्रकको ठक्करबाट मोटरसाइकल चालक दर्जीको टाउको र अनुहारमा गम्भीर चोट लागेको थियो । दुर्घटनालगत्तै उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिम क्षेत्रीय अस्पताल लगिएका दर्जीलाई चिकित्सकले दिउँसो २ः२२ बजे मृत घोषणा गरेका थिए ।
दुर्घटनापछि केही समयसम्म मृतकको पहिचान खुल्न सकेको थिएन। पछि मृतकका दाजु नाता पर्ने हरि परियारले वडा प्रहरी कार्यालय रामबजारमा सम्पर्क गरेपछि उनको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी वीरेन्द्रकुमार पासवानले मृतक नवराज दर्जी भएको पुष्टि भएको बताउनुभयो। उहाँका अनुसार दर्जीको शव पश्चिम क्षेत्रीय अस्पतालमै राखिएको छ। दुर्घटनामा संलग्न ना ५ ख ८२४४ नम्बरको ट्रक र चालक सिन्धुलीको कमलामाई नगरपालिका–८ का ३६ वर्षीय खडकबहादुर विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको सूचना पाएपछि वडा प्रहरी कार्यालय रामबजारबाट प्रहरी नायब निरीक्षक राजेश मल्ल ठकुरीको नेतृत्वमा ट्राफिक प्रहरीसहित नौ जनाको टोली घटनास्थल पुगेको थियो। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।



