रसुवा बाढीपीडितका लागि सोसल पब्लिक स्कुलको तीन लाख ८५ हजार सहयोग

-


     पोखरा क्लिक     
     भाद्र २४ गते २०८३ मा प्रकाशित


पोखरा,

विपद्मा परेका नागरिकको सहयोगका लागि पोखरा–१०, बुद्धचोकस्थित सोसल पब्लिक स्कुलले तीन लाख ८५ हजार २४३ रुपैयाँ राहत रकम संकलन गरी हस्तान्तरण गरेको छ। गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक भीषण बाढीबाट ठूलो जनधनको क्षति भएपछि विद्यालयले राहत संकलन अभियान सञ्चालन गरेको थियो। विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीको योगदानसँगै विद्यालयको आफ्नै स्रोतबाट रकम जुटाइएको विद्यालयका प्रिन्सिपल सिद्धार्थ शर्माले जानकारी दिनुभयो।

संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) कास्की र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) कास्कीमार्फत हस्तान्तरण गरिएको प्रिन्सिपल शर्माले बताउनुभयो। विद्यालयका अनुसार राहत अभियानमा विद्यार्थीबाट एक लाख ३३ हजार ९५ रुपैयाँ संकलन भएको छ। त्यस्तै, अभिभावकबाट १० हजार ५०५ रुपैयाँ तथा शिक्षक–कर्मचारीबाट एक लाख ४० हजार २७३ रुपैयाँ सहयोग प्राप्त भएको छ। विद्यालयको तर्फबाट ९७ हजार ८१५ रुपैयाँ उपलब्ध गराइएको छ भने विद्यार्थी कल्याणकारी कोषबाट थप तीन हजार ५५५ रुपैयाँ राहत रकममा समावेश गरिएको विद्यालयले जनाएको छ।

‘मानवीय संवेदना पनि व्यवहारिक सिकाइ हो’

राहत रकम संकलन तथा हस्तान्तरणपछि विद्यालयका अध्यक्ष खिम गुरुङले विपद्मा परेका नागरिकका लागि सहयोग गर्न पाउनु विद्यार्थीका लागि महत्वपूर्ण व्यवहारिक सिकाइ भएको बताउनुभयो। पाठ्यपुस्तक र कक्षाकोठाबाट प्राप्त हुने ज्ञानसँगै समाजमा आइपर्ने दुःख र विपत्तिमा मानवीय संवेदना प्रकट गर्न सिक्नु पनि शिक्षाको महत्वपूर्ण पक्ष भएको उहाँको भनाइ छ।

‘सिकाइ पाठ्यपुस्तक र कक्षाकोठामा मात्रै सीमित हुँदैन,’ अध्यक्ष गुरुङले भन्नुभयो, ‘कहिलेकाहीँ मानवीय संवेदनालाई हृदयको अन्तस्करणबाट अनुभूति गरेर पनि सिक्न सकिन्छ।’ विपद्को समयमा सहयोग अभियानमा सहभागी सबैप्रति आभार व्यक्त गर्दै उहाँले खुला र स्वच्छ मनले गरिएको सहयोगले पीडितलाई राहतसँगै सहयोग गर्ने व्यक्तिलाई पनि आत्मसन्तुष्टि दिने बताउनुभयो। ‘पीडा र भावनालाई सम्बोधन गर्न प्रत्यक्ष रूपमा सहभागी भएर खुला र स्वच्छ मनले योगदान गर्दा प्राप्त हुने आत्मसन्तुष्टि नै वास्तविक व्यवहारिक सिकाइ र मानवीय धर्म हो,’ उहाँले भन्नुभयो। अध्यक्ष गुरुङले राहत अभियानमा योगदान गर्ने विद्यार्थी, अभिभावक, शिक्षक–कर्मचारी तथा विद्यालय परिवारका सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो। विद्यालयले सञ्चालन गरेको अभियानले विपद्का बेला शैक्षिक संस्था सामाजिक उत्तरदायित्व निर्वाह गर्दै पीडितको साथमा उभिन सक्ने सन्देश दिएको छ।