विपद् प्रभावितका लागि ग्लोबल कलेजियट स्कुलद्वारा १० लाख भन्दा बढी सहयोग

-


     पोखरा क्लिक     
     भाद्र २१ गते २०८३ मा प्रकाशित


पोखरा,

भोटेकोशीमा आएको बाढी प्रभावितहरुको राहत र उद्धार तथा पुनस्थापनाको लागि पोखरा ११ रानीपौवामा रहेको प्रतिष्ठित शैक्षिक संस्था ग्लोबल कलेजियट स्कुलले १० लाख भन्दा बढी सहयोग गरेको छ । विपद् व्यवस्थापन तथा पुनर्निर्माण कार्यमा सहयोग पु¥याउने उद्देश्यले ग्लोबल कलेजियट स्कुल परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख ३ हजार ७०५ सहयोग रकम संकलन गरेको बिद्यालयले जनाएको छ ।

विद्यालयका विद्यार्थीहरूबाट रु. ३ लाख २३ हजार १९५, शिक्षक तथा कर्मचारीहरूबाट रु. ३ लाख ३० हजार ५१० र विद्यालय प्रशासनबाट रु. ३ लाख ५० हजार गरी उक्त रकम संकलन गरिएको बिद्यालयका प्राचार्य बाबुराम पन्तले बताउनु भयो । संकलित रकममध्ये हिसान कास्कीका अध्यक्ष दिवाकर जैशीमार्फत रु. ६ लाख ७० हजार र प्याब्सन कास्कीका अध्यक्ष षडानन्द गौतममार्फत रु. ३ लाख ३३ हजार ७०५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न हस्तान्तरण गरिएको विद्यालयले उहाँले जनाउनु भयो ।

भाद्र १० गते भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट ज्यान गुमाएका सम्पूर्णप्रति ग्लोबल कलेजियट स्कुल, रानिपौवा, पोखरा परिवारले श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ । बाढीमा बेपत्ता भएका व्यक्तिहरूको शीघ्र खोजी तथा उद्धार र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै विद्यालयले राष्ट्रिय विपत्तिको यस घडीमा आफुहरुले सकेको सहयोग गरेको जनाएको छ । प्राचार्य पन्तले देश ठूलो विपत्तिमा परेको बेला विद्यालय परिवारले आफ्नो क्षेत्रबाट सकेको सहयोग गरेको बताउनुभयो। उहाँले विपद्को समयमा प्रभावित परिवारसँग विद्यालय परिवारको ऐक्यबद्धता रहेको उल्लेख गर्दै राहत, उद्धार तथा पुनर्निर्माणका कार्यमा सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभयो।

यस पवित्र कार्यमा सहयोग पु¥याउने सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक तथा कर्मचारीप्रति विद्यालय परिवारले हार्दिक कृतज्ञता व्यक्त गरेको छ। विद्यालयले बाढी तथा विपद्मा परी दिवंगत भएका सम्पूर्णप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै बेपत्ता व्यक्तिहरूको शीघ्र खोजी तथा परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना समेत गरेको छ।