सहारा उत्कृष्ट सदस्य सम्मानबाट सिद्धान्त थापा मगर सम्मानित हुने

-


     पोखरा क्लिक     
     भाद्र २१ गते २०८३ मा प्रकाशित


पोखरा,

सहारा क्लब पोखराले यस वर्षको सहारा उत्कृष्ट सदस्य सम्मान–२०८३ बाट सिद्धान्त थापा मगरलाई सम्मान गर्ने भएको छ। क्लबको ४४ औँ वार्षिकोत्सवका अवसरमा आगामी भदौ ३० गते उनलाई सम्मान गरिने क्लबले जनाएको छ।

वि.सं. २०६१ असार १५ गते जन्मिएका थापा मगर २०७३ सालमा क्लबको जुनियर सदस्य बनेका थिए। उनी २०७८ सालदेखि हालसम्म क्लबको साधारण सदस्यका रूपमा सक्रिय छन्। क्लबप्रति निरन्तर वफादार रहँदै विभिन्न गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएका उनलाई योगदानको कदरस्वरूप यस वर्षको उत्कृष्ट सदस्य सम्मान प्रदान गर्न लागिएको क्लवले पोखराक्लिकलाई जनाएको छ । सहारा क्लबले गत वर्ष आयोजना गरेको आहा १ रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगितामा विजेता बन्दा थापा मगर टिम म्यानेजरको भूमिकामा रहेका थिए। क्लबका गतिविधि तथा खेलकुदसँग सम्बन्धित कार्यक्रमहरूमा उनको सक्रियता र योगदानलाई सम्मानका लागि छनोटको आधार बनाइएको क्लबले जनाएको छ। क्लबका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङले वार्षिकोत्सवका अवसरमा थापा मगरलाई सम्मान गरिने जानकारी दिए । यसै अवसरमा सहारा क्लबले खुला रक्तदान कार्यक्रम समेत आयोजना गर्ने भएको छ। क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष गर्दै आएको रक्तदान कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिन लागेको हो।

यसैबीच, सहारा क्लब पोखराले प्रदान गर्दै आएको सहारा खेलकुद पत्रकारिता पुरस्कार–२०८३ पत्रकार रोहितराज पराजुलीलाई प्रदान गर्ने भएको छ । पुरस्कार छनोट समितिको सिफारिसका आधारमा पराजुलीलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको क्लब अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए। क्लबले वार्षिकोत्सवका अवसरमा उत्कृष्ट सदस्य सम्मान, खेलकुद पत्रकारिता पुरस्कारसहित विभिन्न कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ।