एनटीएचएमसीमा ‘दिगो व्यवसाय व्यवस्थापन तथा नेतृत्व’ तालिम सुरु

-


     पोखरा क्लिक     
     भाद्र २१ गते २०८३ मा प्रकाशित


पोखरा,

पोखरा–१४, छिनेडाँडास्थित नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज (एनटीएचएमसी) मा ‘दिगो व्यवसाय व्यवस्थापन तथा नेतृत्व’ (एसबीएमएल) सम्बन्धी छदिने तालिम शनिबारदेखि सुरु भएको छ। पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजले आयोजना गरेको तालिम स्विसकन्ट्याक्ट र युनाइटेड कम्युनिटी नेपाल (अनकन) को सहकार्यमा सञ्चालन गरिएको हो।

तालिमको उद्घाटन गर्दै कलेजका अध्यक्ष अशोक पालिखेले पर्यटन तथा आतिथ्य क्षेत्रमा बढ्दो प्रतिस्पर्धाका बीच व्यवसायी तथा व्यवस्थापकलाई आधुनिक र दिगो व्यवस्थापनसम्बन्धी ज्ञान तथा सीप प्रदान गर्न तालिम प्रभावकारी हुने बताउनुभयो। उहाँले बदलिँदो व्यावसायिक परिवेशअनुसार व्यवस्थापकीय क्षमता विकास गर्नु आवश्यक रहेको उल्लेख गर्नुभयो। कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले तालिमबाट प्राप्त ज्ञान र सीपलाई सहभागीहरूले आफ्नो कार्यक्षेत्रमा व्यवहारिक रूपमा प्रयोग गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले तालिमले होटल व्यवसायको सेवा गुणस्तर तथा समग्र व्यवस्थापन प्रणालीमा सकारात्मक सुधार ल्याउन सहयोग पुग्ने बताउनुभयो।

तालिममा पोखराका विभिन्न होटल तथा आतिथ्य व्यवसायमा व्यवस्थापक तहमा कार्यरत २० जनाको सहभागिता रहेको छ। सेप्टेम्बर ५–६, १२–१३ र १९–२० गरी जम्मा छ दिन सञ्चालन हुने तालिम प्रत्येक दिन बिहान ९ बजेदेखि अपराह्न ४ः४० बजेसम्म सञ्चालन हुने जनाइएको छ। तालिममा कलेजका सहप्राचार्य तथा मुख्य प्रशिक्षक राजकुमार कार्की, दीपेन्द्र पहारी, कमलप्रसाद दाहाल र सुमित भण्डारीलगायतले प्रशिक्षण दिइरहनुभएको छ। बीएचएम, बीबीए, बीबीए फाइनान्स तथा ईएमबीएलगायत व्यावसायिक कार्यक्रम सञ्चालन गर्दै आएको एनटीएचएमसीले पर्यटन तथा होटल व्यवस्थापन क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादनमा योगदान पुर्‍याउँदै आएको छ। तालिमको उद्घाटन कार्यक्रम कलेजका परीक्षा संयोजक सुरेश अधिकारीले सञ्चालन गर्नुभएको थियो।