
दीननाथ बराल,
पोखरा१९, भदौं,
पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लि.ले भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि १० लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ । भोटेकोशी बाढीबाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले कम्पनीले उक्त रकम सहयोग गरेको जनाएको छ ।
देशमा विपत्ति पर्दा सहयोगका लागि राज्यसँगै निजी क्षेत्र पनि अघि बढ्नुपर्ने मान्यतालाई आत्मसात् गर्दै कम्पनीले आफ्नो तहबाट उक्त सहयोगगरिएको ीका अध्यक्ष ऐनकुमार शाहीले बताउनु भयो । देशमा विपत्ति परेका बेला आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले सकेको सहयोग गरेको उहाँले बताउनुभयो । “देशलाई समस्या परेका बेला हामी सबैले आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्छ । यो हाम्रो सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको सानो सहयोग हो,” अध्यक्ष शाहीले भन्नुभयो । यातायात व्यवसायसँग प्रत्यक्ष जोडिएको कम्पनी भएकाले सडक, यातायात पूर्वाधार र विपद्बीचको सम्बन्धलाई कम्पनीले नजिकबाट अनुभूति गर्दै आएको छ । बाढी, पहिरो, सडक अवरोध तथा प्राकृतिक विपत्तिका कारण राजमार्ग अवरुद्ध हुँदा त्यसको प्रत्यक्ष असर यात्रु, व्यवसायी तथा समग्र अर्थतन्त्रमा पर्ने गरेको छ ।
भोटेकोशी बाढीजस्ता प्राकृतिक विपत्तिले देशको सडक पूर्वाधार अझै जोखिमपूर्ण अवस्थामा रहेको विषयलाई पुनः सतहमा ल्याएको अध्यक्ष शाहीको भनाइ छ । राजधानी काठमाडौंलाई देशका विभिन्न भागसँग जोड्ने पृथ्वी राजमार्गसहित प्रमुख राजमार्गहरूमा कुनै एक स्थानमा समस्या आउँदा लामो दूरीको यातायात तथा आपूर्ति प्रणाली नै प्रभावित हुने अवस्था रहेको उहाँ बताउनुहुन्छ । विशेषगरी विगतमा कृष्णभीरमा देखिएको सडक समस्यादेखि पछिल्ला बाढी तथा पहिरोका घटनासम्मले मुख्य राजमार्गको विकल्पका रूपमा वैकल्पिक सडक सञ्जाल विकास गर्नुपर्ने आवश्यकता देखाएको उहाँको धारणा छ ।
नेपालको भौगोलिक अवस्थाका कारण बाढी, पहिरो तथा भूक्षयको जोखिम उच्च रहेका कारण एउटै राजमार्गमा अत्यधिक निर्भर रहनुभन्दा वैकल्पिक सडक, सुरक्षित सडक संरचना र विपद् प्रतिरोधी पूर्वाधार निर्माणमा सरकारले लगानी बढाउनुपर्ने शाहीले जनाउनु भयो ।





