प्रधानमन्त्री दैवी प्रकोप कोषमा मदरल्याण्ड माविको ८ लाख १५ हजार

-


     पोखरा क्लिक     
     भाद्र १९ गते २०८३ मा प्रकाशित


पोखरा, भदौ १९,

रसुवा भोटेकोशीमा आएको बाढीले पीडित बनेका नागरिकको राहत, उद्धार र पुर्नस्थापनाका लागि पोखरा महानगरपालिका–७, मासवारस्थित मदरल्याण्ड माविले ८ लाख १५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेको छ । विद्यालयले शुक्रबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा यो रकम जम्मा गरेको हो ।

विद्यालयका प्राचार्य डा.नारायण बरालका अनुुसार कोषमा रकम जम्मा गर्ने बाहेक विद्यालयको जुनियर रेडक्रस सर्कलमार्फत संकलित राहत सामाग्री जिल्ला रेडक्रस सोसाइटी कास्कीलाइ हस्तान्तरण गरिएको छ । बाढी पीडितहरुको सहयोगार्थ काइन्डनेस क्लव मदरल्याण्डका सदस्य विद्यार्थीको सक्रियतामा विद्यार्थी, शिक्षक, कर्मचारी एवं विद्यालयको तर्फबाट प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गरिएको उनले बताए ।
‘प्राकृतिक विपत्लाई हामीले रोक्न त सक्दैनौ, तर, त्यसबाट हुन सक्ने हानि नोक्सानीलाई जनचेतना र थप सजगता मार्फत धेरै हदसम्म कम गर्न सकिन्छ । हरेक विपतले हामीलाई थप सिक्ने मौका प्रदान गरेको छ,’ प्राचार्य बरालले भने, ‘विद्यार्थी र विद्यालयको सानो सहयोगले पीडित नागरिकको पीडामा थोरै भएपनि राहत मिल्ने अपेक्षा छ । विपत् प्रभावित क्षेत्रका नागरिकको राहत, उद्धार र पुर्नस्थापनामा थोरै भएपनि सहयोग मिल्नेछ ।’ विपत्को यो समयमा सबैको सहकार्यले मात्र पीडितलाई माथि उठ्न सहयोग पुग्ने उनले बताए ।

विद्यालयले विपत्को यही अप्ठेरोलाई मध्यनजर गर्दै विद्यालयका विद्यार्थीले पोखराका विभिन्न स्थानमा प्राकृतिक विपत् र त्यस्ता विपत्बाट हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न अवलम्बन गर्नुपर्ने उपायका बारेमा जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम पनि गरेको विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यले जानकारी दिए । पोखराका विभिन्न ठाउँमा गएर विद्यार्थीले चेतनामुलक कार्यक्रम गरेका थिए। त्यसमा स्थानीयले सहभागिता जनाएका थिए ।