परिपक्व र अनुभवी नेतृत्वप्रति व्यवसायीको विश्वास , उत्तममानप्रति बढ्दो समर्थन

-


     पोखरा क्लिक     
     भाद्र १९ गते २०८३ मा प्रकाशित


पोखरा,

पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन नजिकिँदै जाँदा अध्यक्ष पदका उम्मेदवार उत्तममान बुद्धाचार्यप्रति उद्योगी व्यवसायीको सकारात्मक प्रतिक्रिया बढ्दै गएको छ। लामो समयदेखि व्यवसायमा सक्रिय रहँदै संघको नेतृत्व तहमा समेत अनुभव हासिल गरेका बुद्धाचार्यलाई परिपक्व, जिम्मेवार र अनुभवी नेतृत्वका रूपमा हेरिएको छ।

व्यवसायीहरूसँगको भेटघाट तथा छलफलका क्रममा बुद्धाचार्यले संघलाई सबै व्यवसायीको साझा संस्थाका रूपमा अघि बढाउने र सरकारसँगको सम्बन्धलाई थप प्रभावकारी बनाउने विषयलाई प्राथमिकतामा राखेका छन्। उनको अनुभव, संघमा गरेको लामो योगदान र व्यवसायीका समस्यालाई नीतिगत तहसम्म पुर्‍याउन सक्ने क्षमतालाई उनको उम्मेदवारीको बलियो पक्षका रूपमा प्रस्तुत गरिएको छ। बुद्धाचार्यले संघ, प्रदेश तथा स्थानीय सरकारसँग निरन्तर संवाद, समन्वय र सहकार्य गर्दै उद्योग व्यवसायीमैत्री नीति निर्माण र कार्यान्वयनका लागि प्रभावकारी पैरवी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले संघलाई सबै व्यवसायीको अपनत्व हुने साझा घरका रूपमा विकास गर्ने धारणा अघि सारेका छन्। “सवैसँग सहकार्य, समान सम्मान, सबैको अपनत्व र सबैको साझा घर” भन्ने अवधारणासहित संघको नेतृत्वलाई थप समावेशी र प्रभावकारी बनाउने उनको योजना छ। बुद्धाचार्यले आफू लामो समयदेखि व्यवसायमा सक्रिय रहेको र संघको नेतृत्व तहमा समेत काम गरिसकेको अनुभवलाई अब संस्थाको हितमा उपयोग गर्ने बताएका छन्। यही अनुभव र वरिष्ठताको गरिमासहितको परिपक्व नेतृत्व आवश्यक रहेको बताउँदै उनले आगामी भदौ २१ गते हुने महाधिवेशनमा आफूलाई मतदान गरी विजयी बनाउन उद्योगी व्यवसायीलाई आग्रह गरेका छन्। “वास्तविक र लामो समयको अनुभवी व्यवसायीको प्रतिनिधित्व, वरियताक्रम र सिनियरिटीको गरिमा, परिपक्व र जिम्मेवार नेतृत्वको सुनिश्चितताका लागि भदौ २१ गते हुने महाधिवेशनमा अत्याधिक मत दिएर विजयी बनाइदिनुहुन समस्त उद्योगी, व्यवसायी साथीहरूमा हार्दिक अनुरोध गर्दछु,” बुद्धाचार्यले भने।