
कल्प मिडिया एण्ड मल्टिपर्पोज प्रालिको आयोजनामा असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को तयारी तीव्र पारिएको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय खेल मैदानमा सञ्चालन हुने प्रतियोगितालाई व्यवस्थित र भव्य बनाउन आयोजकले खेलमैदान व्यवस्थापन, टिम समन्वय, प्राविधिक तयारी तथा विभिन्न संघ–संस्था र सरोकारवाला निकायसँगको सहकार्यलाई अघि बढाएको जनाएको छ ।
प्रतियोगिता गण्डकी प्रदेशस्तरीय भए पनि खेलकुद पत्रकारबीचको सम्बन्ध विस्तार र प्रतियोगिताको दायरा फराकिलो बनाउने उद्देश्यले ‘खुला खेल’को अवधारणामा सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ । जसअनुसार सूचना विभागको परिचयपत्र भएका तथा नेपाल पत्रकार महासंघ वा नेपाल खेलकुद पत्रकार मञ्चमा आबद्ध जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् ।
प्रालिका अध्यक्ष सुरज श्रेष्ठले गण्डकी प्रदेशबाहिरबाट समेत विभिन्न जिल्लाका पत्रकारले प्रतियोगितामा सहभागी हुने इच्छा देखाएपछि उनीहरूलाई गण्डकी प्रदेशभित्रका जिल्लाबाट प्रतिनिधित्व गराएर प्रतियोगितामा सहभागिता जनाउने व्यवस्था गरिएको बताए ।
प्रतियोगितामा सहभागी हुने गण्डकी प्रदेश तथा अन्य जिल्लाबाट आउने खेलाडीलाई सहज होस् भन्ने उद्देश्यले आयोजकले विशेष व्यवस्थापन गरेको जनाएको छ । कास्कीबाहेकका जिल्लाबाट सहभागी हुने टोलीका लागि आयोजकले दुई छाक खाना र एक रातको बसोबासको व्यवस्था गर्नेछ । यातायात खर्च भने सम्बन्धित टोली वा खेलाडीले स्वयं व्यहोर्नुपर्नेछ । जिल्लाबाट सहभागिता जनाउने टोलीलाई आर्थिक भार नपरोस् भन्ने उद्देश्यले यातायात तथा तयारी खर्चका लागि खेल संघहरूसँग सहजीकरण र सहयोगका लागि प्रदेश खेलकुद परिषद् गण्डकीमार्फत पत्राचारसमेत भइसकेको आयोजकले जनाएको छ ।
पत्रकारितामा सक्रिय रहे पनि परिचयपत्र नभएका खेलाडीको हकमा सम्बन्धित नेपाल खेलकुद पत्रकार मञ्च वा नेपाल पत्रकार महासंघको जिल्ला शाखाबाट सिफारिस ल्याउनुपर्नेछ । त्यस्तै, खेलका क्रममा वा खेलपछि कुनै टोलीले खेलाडीको सहभागितामाथि आपत्ति वा विवाद गरेमा त्यसको जिम्मेवारी सम्बन्धित जिल्ला शाखा वा खेलकुद पत्रकार मञ्चको हुने आयोजकले स्पष्ट पारेको छ । प्रतियोगितामा सहभागी खेलाडीको खेल अवधिभर बीमासमेत गरिने बताउँदै अध्यक्ष श्रेष्ठले सहभागी टोलीलाई बीमाको प्रक्रिया पूरा गर्न आवश्यक खेलाडी विवरण यथाशीघ्र उपलब्ध गराउन आग्रह गरेका छन् । प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीका लागि यसअघि भदौ २० गतेसम्म टिम दर्ता गर्ने समयसीमा तोकिएको थियो । तर, देशको पछिल्लो विषम परिस्थितिलाई मध्यनजर गर्दै दर्ताको समय केही दिन तलमाथि हुन सक्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताको टिम दर्ता शुल्क ३ हजार रुपैयाँ तोकिएको छ ।् प्रतियोगिताको विजेता टोलीले नगद ५० हजार रुपैयाँ, शिल्ड, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले नगद ३० हजार रुपैयाँ, शिल्ड, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन । व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट प्रशिक्षकलाई जनही ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । त्यस्तै, प्रत्येक खेलमा म्यान अफ दि म्याच पुरस्कार नगद १ हजार ५ सय रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।





