
दीननाथ बराल,
पोखरा १९, भदौं,
व्यवसायमा सफल हुनु एउटा पक्ष हो, तर आफ्नो सफलताको केही हिस्सा समाजका लागि छुट्याउन सक्नु अर्को महत्वपूर्ण कुरा हो । यही कारण पर्यटन, अटोमोबाइल तथा शिक्षा क्षेत्रसँग जोडिएका व्यवसायी अरुण चौधरी व्यवसायीका रूपमा मात्र होइन, सामाजिक संवेदनशीलता र सहयोगी स्वभावका व्यक्तिका रूपमा पनि चिनिनुहुन्छ ।
चौधरी सिजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशकसमेत रहनुभएका चौधरी लामो समयदेखि व्यवसायसँगै सामाजिक गतिविधिमा पनि सक्रिय रहँदै आउनुभएको छ । उहाँको सामाजिक सक्रियता विशेषगरी बालबालिका, शिक्षा र विपद्का बेला प्रभावित समुदायलाई सहयोग गर्ने कार्यमा केन्द्रित देखिन्छ । उहाँसँग नजिक रहेर काम गरेका तथा सामाजिक क्षेत्रमा उहाँको संलग्नता देखेका व्यक्तिहरूका अनुसार चौधरीको एउटा विशेषता भनेको समस्यामा परेका मानिसको अवस्था बुझेर सकेको सहयोग गर्न खोज्ने स्वभाव हो । विशेषगरी बालबालिकाको शिक्षा र भविष्यसँग जोडिएका विषयमा उहाँ संवेदनशील देखिनुहुन्छ ।
बालबालिकाको शिक्षामा लामो समयदेखि साथ
पोखराको सहारा क्लब र सहारा एकेडेमीसँग जोडिएको उहाँको सामाजिक योगदान यसको एउटा उदाहरण हो । सहारा क्लबका मानार्थ सदस्य तथा सहारा यूकेका संरक्षकका रूपमा उहाँले बालबालिकाका लागि उल्लेख्य आर्थिक सहयोग गर्नुभएको छ । २०६१ म पहिलो आवासिय सहारा एकेडेमी वालकहरुको बिद्यालय शुल्क ७ बर्षसम्म तिर्नु भएको चौधरीले सहारा एकेडेमीमा उहाँको आमा बाबुको नाममा लाइब्रेरि र कम्यूटर कक्ष समेत बनाउन सहयोग गर्नु भएको छ । सहारा एकेडेमीको प्रारम्भिक अभियानदेखि नै सहयोग गर्दै आउनुभएका चौधरीले त्यहाँ अध्ययन गर्ने बालबालिकाको शिक्षामा लामो समयसम्म निरन्तर सहयोग गर्नुभएको छ । एकपटक रकम दिएर जिम्मेवारी पूरा भएको ठान्नेभन्दा बालबालिकाको शिक्षालाई निरन्तरता दिनुपर्ने सोच उहाँको व्यवहारमा देखिन्छ । उहाँको सामाजिक सोच केवल तत्काल राहत दिनेमा सीमित देखिँदैन् । बालबालिकालाई राम्रो शिक्षा, आवश्यक वातावरण र भविष्यमा आफ्नो खुट्टामा उभिन सक्ने अवसर दिनुपर्छ भन्ने मान्यताबाट प्रेरित भएर सहयोग गर्ने उहाँको शैली रहेको उहाँलाई नजिकबाट चिन्नेहरू बताउँछन् ।
विपद् आउँदा सहयोगका लागि अघि सर्ने स्वभाव
२०७२ सालको भूकम्प होस् वा पछिल्ला प्राकृतिक विपद्, प्रभावित समुदायका लागि सहयोग गर्ने अभियानमा चौधरीको सहभागिता देखिँदै आएको छ । भूकम्पपछि गोरखाको शहीदलखन गाउँपालिका–६, घैरुङ स्थित गणेश प्राथमिक विद्यालय तथा सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा रहेको श्री हैबुङ महादेवस्थान माध्यमिक विद्यालय पुनर्निर्माणमा समेत उहाँले दश÷पाँच गरी १५ लाख सहयोग गरी सहारा यूकेको अभियानलाई साथ दिनु भएको थियो । गोर्खामा सहारा यूकेले गणेश प्रा.वि.३५ लाखमा निर्माण गरेको थियो भने सिन्धुपाल्चोकमा रहेको श्री हैबुङ महादेवस्थान मावि २१ लाखमा बिद्यालयले निर्माण गरेको थियो । विपद्का बेला विद्यालय भवन निर्माणजस्तो दीर्घकालीन काममा सहयोग गर्नुको अर्थ तत्कालीन राहत भन्दा एक कदम अगाडि बढेर प्रभावित बालबालिकाको पढाइलाई पुनः नियमित बनाउने प्रयास पनि हो । यही कारण चौधरीको सामाजिक गतिविधिमा ‘सहयोग’सँगै ‘पुनर्निर्माण र अवसर’को पक्ष पनि जोडिएको देखिन्छ ।
भोटेकोशी बाढीमा ११ करोड २२ लाखको सहयोग
पछिल्लो समय भोटेकोशी बाढीबाट प्रभावितहरूका लागि गरिएको सहयोगले पनि उहाँको सामाजिक प्राथमिकतालाई थप उजागर गरेको छ । विशेषगरी बाढीबाट प्रभावित बालबालिकालाई लक्षित गर्दै ११ करोड २२ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धतासहित चौधरीले सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा रकम हस्तान्तरण गर्नुभएको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई प्रत्यक्ष भेटेर सहयोग रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको यो कदमलाई संकटको समयमा निजी क्षेत्रबाट राज्यको राहत अभियानमा गरिएको महत्वपूर्ण सहभागिताका रूपमा लिन सकिन्छ । व्यवसायीका लागि आफ्नो व्यापार र नाफा महत्वपूर्ण हुनु स्वाभाविक हो । तर देशमा संकट पर्दा निजी क्षेत्रका व्यक्तिहरूले आफ्नो सामाजिक जिम्मेवारी सम्झिएर राज्यको अभियानमा हातेमालो गर्नु अझ महत्वपूर्ण पक्ष हो । चौधरीको सामाजिक गतिविधिलाई हेर्दा यही सोच उहाँको व्यवहारमा देखिन्छ ।
‘मन खुलाएर सहयोग गर्ने’ स्वभाव
अरुण चौधरीको परिचय केवल उद्योग–व्यवसायको दायराभित्र सीमित छैन । सर्वसाधारण, साना व्यवसायी र सामाजिक क्षेत्रमा काम गर्ने व्यक्तिहरूसँग सहज रूपमा घुलमिल हुने तथा उनीहरूको कुरा सुन्ने उहाँको स्वभाव रहेको उहाँसँग परिचितहरू बताउँछन् । उहाँका लागि सामाजिक काम प्रचारको विषयभन्दा पनि आफ्नो क्षमताले भ्याएसम्म समाजलाई केही फर्काउने माध्यमजस्तो देखिन्छ ।
कर्ममा विश्वास, अवसरमा सहयोग
व्यवसायमा आफ्नो पहिचान बनाइसकेका चौधरीको अर्को रुचि युवाहरूलाई उद्यमशीलतातर्फ प्रेरित गर्नु पनि रहेको छ । देशमै सम्भावना खोज्नुपर्ने, मेहनत र कर्मबाट अघि बढ्नुपर्ने तथा नयाँ पुस्ताले अवसर सिर्जना गर्न सक्नुपर्ने उहाँको सोचसँग जोडेर उहाँको सार्वजनिक गतिविधिलाई हेर्ने गरिएको छ । सामाजिक योगदानको मूल्य रकमले मात्र निर्धारण हुँदैन । संकटको समयमा कसले कति पैसा दियो भन्नेभन्दा पनि समाजलाई आवश्यक परेको बेला को अघि स¥यो, कसरी सहयोग ग¥यो र त्यसको प्रभाव कति लामो समय रह्यो भन्ने कुरा महत्वपूर्ण हुन्छ ।
अरुण चौधरीको सामाजिक यात्रामा बालबालिकाको शिक्षा, विद्यालय निर्माण, विपद् प्रभावितको सहयोग र राज्यको राहत अभियानमा सहभागिताजस्ता पक्षहरू जोडिएका छन् । व्यवसाय धेरैले गर्छन्। सफलता पनि धेरैले हासिल गर्छन्। तर आफ्नो वरिपरि देखिएको आवश्यकता र देशमा आइपरेको संकटमा मन खुलेर सहयोग गर्न तयार हुनु सफलताको अर्को मानवीय पक्ष हो । अरुण चौधरीको सामाजिक गतिविधिले यही सन्देश दिन्छ—व्यवसायबाट सफलता हासिल गर्नु महत्वपूर्ण छ, तर त्यो सफलताको केही हिस्सा समाजको दुःखमा उपयोग गर्न सक्नु अझ अर्थपूर्ण हुन्छ ।





